क्रसर उद्योग सङ्घको अधिवेशन सम्पन्न

  • त्रिशूली प्रवाह
  • १८ पुष २०७८, आईतवार ०८:३४

विदुर: नुवाकोट क्रसर उद्योग सङ्घको आठौँ वार्षिकोत्सव, तेस्रो साधारणसभा तथा अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

अधिवेशनको उद्घाटन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घका उपाध्यक्ष देवराज लुइँटेलले गरेका थिए । व्यवसायीको हकहित र क्रसर उद्योगलाई व्यवस्थित रूपमा राज्यको नीति, नियममा रहेर सञ्चालनका लागि सहयोग महासङ्घले गरिरहेको उनले बताए । क्रसर उद्योगलाई बदनाम गराउने केही व्यक्ति लागिरहेकोसमेत उनले बताउँदै उद्योगले पारदर्शी ढङ्गले सञ्चालन गर्न निर्देशन दिए । सङ्घका अध्यक्ष शिवप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल क्रसर तथा खानी उद्योग महासङ्घका महासचिव पुरुषोत्तम रेग्मीले ठेकेदारबाट समेत क्रसर उद्योग सञ्चालन भइरहेकाले राज्यलाई राजस्वसमेत गुमेको बताए । राज्यलाई करसमेत ठेकेदारले नतिर्ने, तर राज्यको सबै निकायमा दर्ता भएर कर तिर्ने व्यवसायीलाई राज्यले अनावश्यक दुःख दिइरहेको उनले भनाइ थियो । उक्त कार्यक्रममा नेपाल क्रसर तथा खानी उद्योग महासङ्घका केन्द्रीय सदस्य विनोदराज श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्की र पूर्वअध्यक्ष शरण उत्सुक सापकोटाले जिल्लाको देखिने र राज्यलाई सबैभन्दा बढी कर तिर्ने क्रसर उद्योगको समस्या समाधान गर्न स्थानीय सरकार र स्थानीय प्रशासनले नियम, कानुन तेस्र्याएर अवरोध गर्नुभन्दा व्यावहारिक पक्ष हेरेर नियन्त्रण र नियमन गर्नुपर्ने धारणा राखेका थिए ।

अधिवेशनले निरञ्जना रोडा ढुङ्गा उद्योगका शिव अधिकारीलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सूर्यकुण्ड रोडा–ढुङ्गा उद्योगका राजेन्द्र श्रेष्ठ, सचिवमा विशाल रोडा–ढुङ्गा उद्योगका आत्मा श्रेष्ठ र कोषाध्यक्षमा हिमाल एग्रिगेटका बद्रीप्रसाद रिमाल चयन भएका छन् । कार्यसमितिको सदस्यमा त्रिशूली एग्रिगेटका विक्रम लुाइँटेल, बर्ड स्टोन प्रा.लि.का राजाराम अधिकारी, क्षेत्रपाल क्रसर उद्योगका सन्तोष श्रेष्ठ, नसनल लाइभ स्टोनका विकास थापा, मनकामना क्रसर उद्योगका रामसिंह तामाङ चयन भएका छन् ।