छुच्चो पेसालाई निरन्तरता दिइने उत्सुकको प्रण

  • त्रिशूली प्रवाह
  • १३ बैशाख २०८१, बिहीबार १४:१६
  • श्याम रिमाल

विदुर, वि.सं. २०८१ वैशाख ६ बिहीबार । होटेल सनसाइन प्रालि, विदुर-२ सञ्चारचोक, नुवाकोट । सभाकक्षको पश्चिमतिर मञ्च तयारीका साथ भित्तामा ‘त्रिशूली प्रवाह’ २५औँ वार्षिकोत्सवको सानो तुल झुन्ड्याइसकिएको थियो । प्रमुख अतिथि (प्रअ) राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेको कार्यक्रमपूर्व नै काठमाडौंबाट आगमन भइसकेको थियो र आयोजक, नगरपालिकाका पदाधिकारी, राजनीतिक दलका नेता आदिसँग होटेलका एक कुनामा भलाकुसारी चलिरहेको थियो । बाहिर चिया, बिस्कुट पनि चल्दै थियो । निमन्त्रणापत्रमा भनिएको समय ०८ः३० घर्केर ०९ बजेको थियो र पत्रिकाका कार्यकारी सम्पादक विष्णु तारुकेले उद्घोषकका रूपमा समारोह सुरु गर्दा ९ बजे नै सुरु भएको थियो ।

उद्घोषकले अतिथिहरूलाई मञ्चमा आसन गराइसकेपछि एकैचोटि प्रअलाई कार्यक्रम उद्घाटन गर्न निम्तो दिइहाले । फेरि अलमलकै बीच उनले सबैलाई स्वागत गर्दै पानसमा बत्ती बाल्न आग्रह गरे । शब्दबाट स्वागत गर्न तोकिएका पत्रिकाका रसुवा संवाददाता जी लेकाली आउन ढिला हुँदा पनि उद्घोषकलाई अलिकति अन्योल भइदियो । लगत्तै राष्ट्रिय गान गाइयो भने सहिद तथा दिवङ्गत पत्रकारको स्मरणमा छोटो मौनधारण सम्पन्न भयो । अनि पत्रिकाको रजत वर्ष प्रवेशाङ्कको विमोचनका लागि मञ्चासीन प्रअलगायत सबै अतिथिलाई आग्रह गरियो र सबैले दर्शकमाझ प्रदर्शन गरे । सोही अङ्कको लामो फ्लेक्स प्रदर्शन पनि उपाध्यक्ष घिमिरे तथा प्रकाशक÷सम्पादक शरण उत्सुक सापकोटाले मञ्चमुन्तिर आएर गरे । अनि पत्रिका सबै अतिथिलाई बाँडियो पनि ।

अब पालो आयो शुभकामनाको । नेपाल पत्रकार महासङ्घ नुवाकोटका कार्यवाहक अध्यक्ष नवदीप श्रेष्ठले आफू ‘त्रिशूली ‘प्रवाह’सँग १३ वर्ष जोडिएको जनाउँदै पत्रिकाले २५ वर्ष प्रवेश गर्नु जिल्लाको महत्वपूर्ण उपलब्धि भएको ठोकुवा गरे । नेपाल स्टक हाउसका अध्यक्ष ईश्वरीप्रसाद रिमालले आफू पत्रिकाको सुरुको अङ्कदेखिको नै ग्राहक बनेको जानकारी दिँदै सीमित स्रोतसाधन र सोसल मिडियाको प्रयोग र पहुँच बढिरहेका बेला पनि कठिनताका साथ पत्रकारिता गरिरहेकामा गर्व लागेको बताए । नेपाल रेडक्रस सोसाइटी नुवाकोटका पूर्वाध्यक्ष रामप्रसाद जोशीले पत्रिका तथ्यपरक, निष्पक्ष र स्तरीय भएको विचार राखे ।

सो कार्यक्रममा जिल्लाका नागरिक अधिकारकर्मी इन्द्रबहादुर पण्डितले निडरता, निष्पक्षता र तथ्यपरकता भएकाले उत्सुकता जगाउने पत्रिका भएको जनाए । नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वाध्यक्ष धननारायण चित्रकारले रसुवा, नुवाकोट र धादिङकेन्द्रित पत्रिकाको रजत वर्षमा गौरवान्वित भएको बताउँदै यसले अझ कुनाकाप्चाको सुख, दुःखको समाचार खोतलोस् भने । मानव अधिकारकर्मी तथा पत्रिकाका नियमित लेखक रामशरण प्याकु¥यालले नुवाकोटमा रामकृष्ण प्रधानको ‘देउराली’ र माधवप्रसाद खनालको ‘नयाँ रूपरेखा’ पुराना पत्रिका भएको जानकारी दिँदै जोखिमताका साथे ‘त्रिशूली प्रवाह’ निरन्तरताको मानक भएको बताउँदै सूचना प्रविधि फेरिँदै गएकाले अब डिजिटलमा पनि जान आग्रह गरे ।

उक्त कार्यक्रमलाई पत्रकार महासङ्घ, बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले आफूहरूले पत्रिकालाई निरन्तरता दिन नसके पनि ‘त्रिशूली प्रवाह’का कारण नुवाकोटको पत्रकारिताको आज गर्विलो दिन भएको बताउँदै आचारसंहिता पालना नभएकाले मिडियाप्रति नागरिकको भरोसा धुमिल भएको र स्थानीय तहलगायत राज्यको मिडियाप्रतिको दृष्टिकोण नकारात्मक रहेको गुनासो गरे । रसुवा जिल्लाका नागरिक अगुवा बाबुलाल तामाङले कुनै बेला पत्रिका सानो साइजमा, थोरै पेजमा आउँदा निकै चिन्ता लागेको जनाउँदै फेसबुक, मेसेन्जरमा समाचार आउन थालेकाले पत्रिका पढ्न अल्छी लागेको स्पष्ट गरे । नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले पत्रिकाहरूका पाना घट्दै जान थालेको र बन्द हुँदै गरेकामा चिन्ता व्यक्त गर्दै विशेष ढङ्गले विनापूर्वाग्रह समाचार सामग्री छापिने ‘त्रिशूली प्रवाह’को ५० वार्षिकोत्सव पनि देख्न पाइयोस् भने ।

पत्रकार महासङ्घका केन्द्रीय सदस्य ध्रुवकुमार रावलले नुवाकोटबाट उठेका वरिष्ठ पत्रकार किशोर नेपाल, आनन्दराम आचार्य आदिलाई पनि बोलाएर अन्तत्र्रिmया गरेको भएको हुन्थ्यो भन्दै गोविन्द वियोगी पत्रकारिता सम्मान पाएका उत्सुकको पत्रिकाले रसुवा, नुवाकोट र धादिङमा एकछत्र राज गरेको सुनाए । नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले मोफसलमा छापा चुनौतीपूर्ण र पत्रकारिता कठिन भइरहेका अवस्थामा पत्रिकाले त्रिशूली करिडरको पहिचान दिएको, आवश्यक सूचना दिइरहेको र असल सञ्चार गरिरहेको स्पष्ट गरे । नगरपालिकाका उपप्रमुख तथा पूर्वसञ्चारकर्मी प्रभा बोगटीले पत्रिकाले विश्वसनीयता आर्जन गर्नु र जिल्लाका सम्भावनाहरू उजागर गर्नु महत्वपूर्ण पक्ष भएको जनाउँदै नगरपालिकाले मिडियालाई आर्थिक सहयोग र वातावरण प्रदान गरेको जिकिर गरिन् ।

कार्यक्रममा नगरपालिका प्रमुख राजनलाल श्रेष्ठले काठमाडौंका बालाजु, ठमेल र सामाखुसी क्षेत्रमा पनि पत्रिका लोकप्रिय रहेको र पर्यटन प्रवद्र्धन गरिरहेको जनाउँदै विकास निर्माणका विषयमा मिडियासँग समन्वय र सहकार्य गरिने प्रतिबद्धताका साथ जनताका आवाज बुलन्द भइरहोस् भन्ने कामना गरे । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति प्रमुख पुष्प लामिछानेले पत्रिकाले सूचनाको हकको उपयोग गर्दै यसले आवाजविहीनको आवाज बन्नुपर्ने तथा विकास, समृद्धि र सामाजिक न्यायका कुरा उठाइरहोस् भने । बागमती प्रदेशका पूर्वमन्त्री एवम् नेकपा (एमाले) नुवाकोटका अध्यक्ष बद्री मैनालीले विगतमा आफूले पनि ‘ककनी पोस्ट’ साप्ताहिक चलाएको, तर अहिले लागत र व्यवस्थापनको चुनौतीबीच अनलाइन मात्र प्रकाशन गर्न सकेको बताउँदै आगामी दिनमा यसले अर्थतन्त्र, सुशासन, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, इतिहासका पक्षलाई पनि अझ सशक्त र सन्तुलित ढङ्गले ल्याउन सुझाव दिए । पत्रिकाले आफ्नो दललाई भने कम माया गरेको हो कि भन्ने महसुस भएको भनी हँसाए ।

बागमती प्रदेश सभा सदस्य तथा नेपाली काङ्ग्रेस नुवाकोटका अध्यक्ष रमेशकुमार महतले उत्सुक कठिन परिस्थितिमा चुनौती झेल्न सक्ने व्यक्तित्व रहेकाले अनलाइनमा जान पनि सफलताको कामना गरे । उनले जिल्लाको लिखुमा प्रतिकेजी रु. १६–२२ सम्मको आलु काठमाडौंमा रु. ४०–४२ सम्म बिक्री हुने गरेको उदाहरण दिँदै बीचको रकम कृषकले नपाएको जस्ता विषयबारे खोजी गर्न र अन्य सम्भावनाका क्षेत्रमा सकारात्मक सन्देश दिन आग्रह गरे । पूर्वसांसद तथा एमालेका नेता नारायणप्रसाद खतिवडाले सङ्कटका बेला पनि टिकेको पत्रिकाले ‘पश्चिम १ नम्बर’का सम्भावना खोतलेको, तर पत्रकार महासङ्घका जिल्ला अध्यक्ष नै विस्थापित भएको र स्थानीय टिभी पनि बन्द भएको अवस्था जनाउँदै आर्थिक हैसियत बढ्नेबित्तिकै शिवपुरी कटेर काठमाडौं ओर्लने, उतै रमाउने प्रवृत्ति रोक्नका लागि पत्रिकाले मिहिनेत गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री तथा एमालेका केन्द्रीय सदस्य केशवराज पाण्डेले समाचारलाई यथार्थपरक बनाउनुपर्ने बताउँदै आफू प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदा पत्रकार संरक्षण कोष स्थापना गर्न खोजेको, तर विवाद भएको जानकारी दिए । उनले स्थानीय तहका कानुन नबन्दा समस्या भएको प्रसङ्ग पनि उल्लेख गरे । कार्यक्रमका विशेष अतिथि संविधानसभाका सदस्य राज्यलक्ष्मी पाण्डे श्रेष्ठले पत्रकारितामा अत्यन्त लगनशीलता चाहिने भएकाले यसमा दुःख छ भन्दै राज्यले तिनलाई सुविधा दिनुपर्ने बताइन् ।

अतिथिहरूबाट शुभकामना मन्तव्य सकिएपछि पूर्वप्रशासक तथा साहित्यकार रेशमबहादुर पाण्डेले आफ्ना ‘कान्छो सिडियो’ संस्मरण र ‘बाह्र–सत्तरी’ उपन्यास प्रमुख अतिथि घिमिरेबाट विमोचन गराए । स्मरणीय छ, दुवै कृति काठमाडौंमा गत वर्ष माघ २२ गते लोकार्पण भइसकेका थिए । त्यसपछि राष्ट्रिय सभाकी उपाध्यक्ष घिमिरेले पत्रिकाले मोफसलका समस्या उजागर गर्दै पाठकको मन जितेको सुन्न पाउँदा खुसी लागेको जनाउँदै यसलाई डिजिटलमा पनि लगी परिष्कार गर्न आग्रह गरिन् । पत्रिकाले चेलीबेटी बेचबिखनविरुद्ध र कृषि विकासका पक्षमा कलम चलाउँदै स्थानीय तह र राजनीतिक दलहरूसँग विकास–निर्माण र अन्य समस्या अन्त्यका लागि सहकार्य गर्न उनले अनुरोध गरिन् भने स्थानीय तहलाई पनि मिडियासँग रायसुझाव लिन सल्लाह दिइन् ।

राष्ट्रिय सभा, विधायन समितिले स्थानीय तह र प्रदेशका कानुनबारे अध्ययन गरेको र ४० कानुन तत्काल बनाउनुपर्ने जानकारी उनले दिइन् । छापा पत्रिका पढ्दा मजा आउने भएकाले यसलाई आत्मविश्वासका साथ अघि बढेर जोगाउनुपर्नेमा पनि उनले जोड दिइन् । पत्रिकाका प्रकाशक तथा सम्पादक शरण उत्सुक सापकोटाले आर्थिक मन्दीले पत्रपत्रिकालगायत सबै क्षेत्र अस्तव्यस्त र ध्वस्त भएको गुनासो गर्दै आफू जानी–नजानी ०४८ देखि पत्रकारिताको भुमरीमा फसेको चर्चा गरे । राजधानीबाट प्रकाशन हुने राष्ट्रिय दैनिक र अन्य मिडियामा नुवाकोट–रसुवा राम्रोसँग नसमेटिएकाले पत्रिका चलाउने हुटहुटी जागेको जनाउँदै पत्रिकाका पूर्वसम्पादक रामचन्द्र भट्टलगायत अन्य सहयोगी सबैको सम्झना गरे । पत्रकारले खुकुरीका धारमा हिँडेर छुच्चो काम गर्नुपर्ने गुनासो गर्दै उनले अनलाइनलाई समेत सँगै लगेर अन्तिम सास रहेसम्म पत्रकारितालाई निरन्तरता दिइने प्रण गरे । उनले आफू विचलित हुन लागेमा खबरदारी गर्न पनि सबैलाई आग्रह गरे । समारोह चल्दै गर्दा केही अतिथि आफ्नो दैनिक र सामाजिक काममा गएकाले सभाकक्ष खाली हुँदै गए पनि खानाको व्यवस्थाले भने सबैलाई त्राण दिएको थियो ।

२०८१ वैशाख १० बुढानीलकण्ठ-१०, कपन निलोपुल, काठमाडौं