सुनेको-देखेको इतिहास

  • त्रिशूली प्रवाह
  • ९ असार २०७९, बिहीबार १३:२७
  • रामहरि रिमाल बाजे

नुवाकोट जिल्लामा मैले भोगेको, देखेको, सुनेको कुरालाई लिपिबद्ध गर्ने प्रयास गरेको छु । मेरो प्रयासलाई पढेर अशुद्ध र केही सच्याउनुपर्ने भए सुझावको अपेक्षा राखेको छु । २००८ सालको कुरो हो – गाउँतिर गुठी बिर्ता मालपोतसरह होस् भनिन्थ्यो । त्यही अपेक्षा जनताले गर्दथे । मालपोतसरह नभई कर तिर्दैन इन्क्लाब जिन्दावाद श्री ५ त्रिभुवन जिन्दावाद आदि नारा लगाएर चारतारे झन्डा बोकेर हिँड्नेले राजनीति कति बुझ्थे कुन्नि ? मलाई केही थाहा थिएन । काङ्ग्रेस, गोर्खा परिषद् दल सुनेको हो तीनतारे र चारतारे झन्डा बोकेर हिँड्ने समूह भने देखेकै हो । ती समूहका समर्थक गाउँपिच्छे एक-दुईजना मात्र अगुवा हुन्थे, तिनले जे-जे भन्थे गाउँभरिका सबैले मानेर बस्थे । उनीहरूले भनेको गर्थे ।

भरतशमशेर, माझीटाका होमे र खुकुरी दल

चतुरालीको बाटोबाट तत्कालीन चर्चित नेता भरतशमशेर घोडा चडेर आउने रे उसलाई गँगटेको गल्छेँडामा रोकेर उतै फर्काउनुपर्छ भनेर चारतारे काङ्ग्रेसले उर्दी जारी गरेछन् । सबै गाउँबाट गँगटेमा जम्मा हुने उर्दीअनुसार खड्कभञ्ज्याङबाट नरेद्रजंग शाहले ३०-४० जना लिएर आएका थिए । राजा भरतशमशेरको स्वागत सवारी चलाउन बिहानै माझीटारे फौज लिएर बाँसका लठ्ठीसहित होमबहादुर अर्यालको समूह मालाकोट गौँडामा तम्तयार बसेका रहेछन् । सेरादेखि भरतशमशेरको घोडाको वरिपरि घेरा लागेर सवारी चलाउँदै गँगटेको डाँडामा आइपुग्दा चारतारे झन्डा बोकेर गल्छेँडामा घेरा बसेका ५०-६० जनाको फौजले नारा लगाउँदै भरतशमशेरलाई नुवाकोट प्रवेशमा रोक्ने प्रयास गरिरहेका थिए । त्यही बेलामा एउटा आँखा मात्र देख्ने होमबहादुर अर्यालले भरतशमशेरलाई भनेछन्, सरकारको हुकुम पाए यिनीहरूलाई हटाएर बाटो खुलाउँछु । तत्कालै राजाले सक्छौ भने बाटो खुलाऊ भन्ने हुकुम भएछ । हुकुम पाउना साथ चार हात लामो बाँसको लठ्ठी चक्रजस्तै घुमाउँदै काङ्ग्रेसी नरेद्रजंग शाहको नेतृत्वमा बसेको समूहमा पसेछन् । त्यो बाँसको लठ्ठी घुमाउँदा चक्रजस्तै भएकोले बाटो छेक्ने समूहमा उभिएका टाउकोदेखि नलीखुट्टासम्म रगतपक्ष भएर सबै भागाभाग भएछ र बाटो खुला भयो । बाटो खुला भएपछि भरतशमशेरको दलबललाई होमबहादुरको घर माझीटार पु¥याइयो । होमबहादुरको घरमा भरतशमशेरलाई भित्र्याएपछि होमबहादुर खुकुरी दलका कमान्डर भएर देवीघाटको जात्रामा मैनटोल बालेर आफ्ना समूहको साथमा नुवाकोटकै तत्काल हिरो भनेर कहलिन्थे । होमबहादुर जता गए पनि होमेको समूह आयो भनेर बाटो छाड्ने चलन त्यसबेला खुब चलेको थियो । त्यसबेलामा भरतशमशेरको दरबारकै रूपमा बनेको होमबहादुरको टिप्कार गरेको घर अझै हुनुपर्छ । घर नभए पनि स्थानीयलाई सोध्दा उक्त घरको बारेमा र होमबहादुरको पुरुषार्थ सुन्न पाइन्छ ।

त्यहीबेला होला राजा त्रिभुवनसमर्थक एकजना मेरा दाजु जयरुद्र रिमालको साथी हाल विनपा-९ आँगुटारको डिलमा रसुवा-नुवाकोटको ओहोर–दोहोर गर्ने मूलबाटोमै घर थियो । उनी थिए – श्री हरिगोविन्द श्रेष्ठ । राजाका गोठका नाइके श्रेष्ठले कायोमा लेखेको कविता केही अंश याद छ, उक्त कविता लेख्ने ड्राइभर बालगोपालका पिताजी हरिगोविन्दजीसँग २००९ सालको फागुनमा खड्कभञ्ज्याङबाट आकुरामा जन्ती जाँदा राजाको गोठ संलाखुमा भेट भएको थियो । त्यहाँ चित्रा (बाँसको चोया) को गोठमा मेरो दाजु जय रुद्रसँगै मैले पनि भेट्न पाएँ । एक–एक कचौरा राजाको गाईको गोठको दूधसमेत खाएको स्मरण ताजै छ । लेखुँ है त….?

श्री ५ त्रिभुवन प्रभु अबचाहिँ बिन्ती
हेर्नोस् दया नजरले दुःख हर्नको निम्ति
हुकुम चलाईकन एक सय चार वर्ष

दुःखी बनाई दुनियाँ भई आफू हर्ष
यो राणाशासन हुँदा शोषण नीतिले
स्वशेर पारी छोक्रा छोडी फेर अहिले
नेपालमा गोरखा दल अनि खुकुरी दल
आएँ बढाउन पनि धनकै दिई बल

श्चिम १ नम्बर माझीटार गाउँका
होमबहादुर खत्री खुकुरी दल नाउँका
भर्ती गरेर जनहरू भनी देवीघाटका
जात्रामा पक्रने सेना मुक्ति दलका
तीन दिन थुनेर पछि केहीलाई छाडिदिए
ऐले त फेरि पनि तीनतारे झन्ड लिए

यसो हुँदा मुलुक हेर घमण्डकारी
आपसमा रिस गरी स¥याछन् अगाडि
समस्त खान, पिउनबाट भोको भएर
सबथोक छोडी पैसातिर नै गएर
दश पाथी धान सयको रु. पाँच गराई
देओस् ब्याज ऋणीमा नलगाओस् बढाई
लोभै बढाई जसले बढी ब्याज खान्छ
जाहेर भए मूल धनै पनि हर्न जान्छु

विनपा-१, ढुङ्गे, नुवाकोट