जिल्लामा पुँजीगत खर्च अवस्था चिन्ताजनक

  • त्रिशूली प्रवाह
  • १२ माघ २०७९, बिहीबार ११:३०
  • सज्जन उत्सुक सापकोटा

विदुर, विगतका वर्षमा जस्तै चालू आर्थिक वर्षको ६ महिना नुवाकोटमा छुट्याइएको पुँजीगत बजेट खर्च चिन्ताजनक अवस्थामा रहेको छ । यसपटक पनि जिल्लाका सरकारी कार्यालयअन्तर्गतका पूर्वाधारका आयोजनाहरूमा खर्च नगर्ने प्रवृत्ति दोहोरिएको छ । त्यसै पनि वर्षका सुरुका महिनामा पुँजीगत बजेट लक्ष्यअनुसार खर्च नगर्ने परम्पराले यसपटक पनि निरन्तरता पाएको छ ।

वर्षको अन्तमा मात्र खर्च बढाउने गरी काम हुँदै आएको नुवाकोटमा चालू आ.व.को ६ महिनामा सङ्घीय सरकारबाट प्राप्त पुँजीगत बजेटको लगभग २६ प्रतिशत र प्रदेश सरकारबाट प्राप्त बजेटको १४ प्रतिशत मुस्किलले खर्च भएको छ । जिल्लामा सङ्घीय सरकारबाट चालू आ.व.मा चालूगत खुद बजेट ६ अर्ब ९४ करोड ११ लाख ८१ हजार दुई सय दुईमध्ये पुस महिनामा मात्र ३९ करोड ६० लाख नौ हजार दुई सय सात खर्च भएको छ । यो खर्च भनेको कुल बजेटको ४.२६ प्रतिशत हुन आउँछ । त्यसैगरी, चालू आ.व.को ६ महिनाको अवधिमा कूल चालु खर्चमध्ये तीन अर्ब २९ करोड ६८ लाख ४४ हजार आठ सय १९ खर्च हुँदा ४७.४९ प्रतिशत भएको छ । ६ महिनाको अवधिमा चालू साधारण खर्च लक्ष्यअनुसार भएको कोष तथा लेखा नियन्त्रक कार्यालय नुवाकोटले दिएको तथ्याङ्कले पुष्टि गरेको छ । चालू खर्च शीर्षकमा तलब, भत्तालगायत पर्छन् । जिल्लामा ६ महिनाको अवधिमा सङ्घीय सरकारबाट प्राप्त बजेटको पुँजीगततर्फ अर्थात् विकास खर्चतर्फ २६ प्रतिशत मुस्किलले खर्च भएको छ । तीन अर्ब १७ करोड ६६ लाख २० हजार दुई सय १० खुद बजेटमध्ये ६ महिनाको अवधिमा ८१ करोड १५ लाख ४४ हजार ८३ रुपैयाँ खर्च भएको छ ।

त्यसैगरी, नुवाकोटमा प्रदेश सरकारबाट प्राप्त चालू बजेटमध्ये पुसमा मात्र झन्डै चार प्रतिशत र ६ महिनामा ३४.८९ प्रतिशत खर्च भएको छ । नुवाकोटमा चालू खर्चको खुद बजेट एक अर्ब ४५ करोड ३७ लाख सात हजार चार सय ५८ रुपैयाँमध्ये पुस महिनामा मात्र पाँच करोड २७ लाख ९० हजार पाँच सय ७५ र ६ महिनामा ५० करोड ७२ लाख ९५ हजार नौ सय ६५ रुपैयाँ खर्च भएको छ । त्यसैगरी, चालू आ.व.को ६ महिनामा प्रदेशबाट प्राप्त पुँजीगत खुद बजेट दुई अर्ब ८७ करोड २९ लाख ४६ हजारमध्ये पुस महिनामा १० करोड ७३ लाख ८४ हजार तीन सय ३१ मात्र खर्च भएको छ । यो खर्च झन्डै कुल निकासा बजेटको चार प्रतिशत हुन आउँछ । निकासा भएको कुल बजेटमध्ये ६ महिनाको अवधिमा ३७ करोड ८० लाख ९५ हजार नौ सय ६० रुपैयाँ खर्च भएको छ । खर्च भएको रकम कुल निकासा बजेटको १३.४८ प्रतिशत रहेको छ ।
नुवाकोटमा प्राप्त बजेट पुँजीगत अर्थात् विकास खर्च गर्न मात्र नसके होइन चालू खर्च घटाउन र राजस्व बढाउन र लक्ष्यअनुसारको प्रगति हासिल गर्नसमेत सकेको छैन । पुँजीगत खर्च चालू आ.व.को ६ महिनामा नहुनु भनेको विकास निर्माणको कामले गति नलिएको बुझ्न सकिन्छ । जिल्लामा चालू खर्च लक्ष्यअनुसार झन्डै–झन्डै भइरहेको देखिन्छ । पुसको २० गतेदेखि सरकारले क्रसर र बालुवा प्रशोधन उद्योग बन्द पारेपछि विकास आयोजनाको काम ठप्प भइरहेको छ । जसको असर माघ महिनाको विकास खर्चमा पर्ने देखिन्छ ।