भ्रष्टाचारीलाई सम्मान कहिलेसम्म ?

  • त्रिशूली प्रवाह
  • १५ भाद्र २०८०, शुक्रबार ११:५२

नेपालमा भ्रष्टाचार नयाँ रोग होइन । भ्रष्टाचार धेरथोर सबैले सबै क्षेत्रमा गच्छेअनुसारको गरिरहेका छन् । कसैले भ्रष्टाचार गर्नेलाई सहयोग पु¥याइरहेका छन् भने कसैले आफैँ गरिरहेका छन् । पारदर्शी शासन व्यवस्था र जनता सचेत तथा सञ्चारमाध्यमको विकासका कारण भ्रष्टाचारबारे यति धेरै चर्चा र चासो अहिले भइरहेको छ । तैपनि भ्रष्टाचार संस्थागत हुँदै बढ्दै छ । विगतमा पनि भ्रष्टाचार नभएका होइनन् । भ्रष्टाचार राणा, राजा, पञ्चायत, बहुदलीय व्यवस्थादेखि नै मौलाउँदै शक्ति र सत्ताको आडमा बसेकाले गर्ने खानदानी पेसा बनेको थियो ।
घुस लिने र दिने दुवै अपराधी हुन् भने पनि आजभोलि कुनै पनि काम घुसबिना हुन नसक्ने अवस्था रहेको छ ।

जुनसुकै नीति, विधि र पद्धतिअनुसारका काम गर्न र गराउन घुस खुवाउनैपर्छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्ड होस् कि ललितानिवास जग्गा प्रकरण होस् कि सुन काण्डलगायत विगतदेखिका काण्डको फेरिस्ताको बेलाबेलामा चर्चा हुन्छ । ती काण्ड केही दिन सतहमा आउँछन् फासफुस हुन्छ । अहिले भुटानी शरणार्थी काण्ड र ललितानिवास जग्गा प्रकरण काण्डको पर्दाफास भएर पूर्वगृहमन्त्रीदेखि पूर्वउपप्रधानमन्त्री, पूर्वगृहसचिवलगायत नेता र नेताका परिवारको नाम आइरहेको छ । अनुसन्धान पनि नाम मात्रको गरेर नागरिकलाई भुलभुलाइमा राख्ने काम भइरहेको छ । उक्त काण्डका मुख्य नायकलाई जोगाउने र सानालाई फसाउने कार्य अगाडि बढ्दा देशमा भ्रष्टाचार र दण्डहीनताले प्रश्रय पाइरहेको छ । अनुसन्धानको नाममा उच्च तहका व्यक्ति घुस खाएर काम गरेको–गराएको भनेर प्रहरी हिरासतमा छन् । प्रहरीले घुस लिनेलाई समात्यो, दिनेलाई किन समातेन– अहिले चौतर्फी प्रश्न उब्जाएको छ । यो प्रकरणले भ्रष्टाचार कसरी भइरहेको छ भन्ने छर्लङ्ग हुन्छ । किनकि यहाँ जागिर खान होस् या राजनीतिमा एउटा स्थान बनाउन घुस खुवाउनैपर्छ । क्षमता छ, तर पैसा नभईकन केही चल्दैन । कि आफ्नो मान्छे हुनुप¥यो । लोकसेवामा जागिर खान घुस चाहिन्छ नै । पढाइ, काम गर्ने क्षमता र ट्यालेन्ट होइन, कति पैसा दिन सक्छ ? त्यो हेरिन्छ । होइन भने राजनीतिक दलको सिफारिस हुनुपर्छ । यता, ठेकेदारले ठेक्का आफ्नो हात पार्नका लागि पनि सरकारी निकायका कर्मचारीलाई घुस खुवाउँछन् । चुनावमा उठ्नका लागि पार्टी अध्यक्षलाई घुस दिनुपर्छ । अनि मुलुकमा कसरी भ्रष्टाचार हट्छ ? हरेक पाइलामा भ्रष्टाचार छ । घुस लिने र दिने काम जहाँकाहीँ भइरहेको छ । सरकारी कर्मचारीको तलब कति हुन्छ ? २० हजारदेखि ८५ हजार रुपैयाँसम्म तलब खाने कर्मचारी यहाँ छन् । तर, २० हजार कमाउनेको यहाँ महलजस्ता घर छन् । उनीहरूको तीन करोडदेखि १० करोड रुपैयाँसम्मको सम्पत्ति छ । यो कसरी सम्भव भयो त ? त्यति जाबो कमाउनेले छोराछोरी पढाओस् कि घरको खर्च टारोस् । तलबको पैसाले राम्रो खान र लाउन पुग्दैन, सम्पत्ति कहाँबाट जोड्ने ?

यो भ्रष्टाचार हो भनेर छर्लङ्ग देखिन्छ । तर, उनीहरूको विरोधमा उजुरी हाल्ने आँट कसैमा पनि छैन । जन्म दिने बुबा नै भ्रष्टाचारी भए त उजुरी हाल्न र कानुनको कठघरामा उभ्याउन खुट्टा कमाउनुहुँदैन भने अरूको त कुरै छोडौँ । विडम्बना ! नेपालीको सोचाइ यस्तो छैन । अरूलाई लुटेर ल्याओस् कि ठगेर खर्च गर्न र आरामदायी जिन्दगी जिउन पाए हुन्छ । छोराछोरी अर्कालाई लुटेर ल्याएको पैसामा मोजमस्ती गर्दै हिँड्छन्, श्रीमती स्वाङ पार्दै बस्छन् । हाम्रो देशमा त भ्रष्टाचार गरेरै सात पुस्तालाई पुग्ने गरी सम्पत्ति जोडिन्छ । हजुरबुबाले भ्रष्टाचार गरेको पैसामा सात पुस्ताले मोज गर्छन् । काम पनि गर्न नपर्ने, आरामदायी जिन्दगी बसीबसी बिताउन पाइने । अनि कसरी भ्रष्टाचार हट्छ ? सरकारले जुनसुकै नीति, नियम र कानुन बनाए पनि भ्रष्टाचार हटाउन सम्भव छैन । जबसम्म घरघरबाट भ्रष्टाचारीको विरोधमा आवाज उठाइँदैन, तबसम्म यो क्रम चलिरहन्छ । मुलुक भ्रष्टाचारको जालोबाट निस्किन सक्दैन । सरकारले निःशुल्क भनेको सेवा, सुविधा साँच्चै नै निःशुल्क छ त ? घुस नदिएसम्म सरकारी कर्मचारीले काम नै अघि बढाइदिँदैनन् । पैसा खुवायो भने ठाउँको ठाउँ काम हुन्छ । तर, घुस दिएन भने महिनौँसम्म पनि फाइल अड्काएर राखिदिन्छन् । गरिब नै भए पनि समाजमा राम्रो काम ग¥यो भने सबैले सम्झिन्छन् । आफूले खानुपर्दा अरूले पनि खानुपर्छ भन्ने सोच्ने संस्कार विकास नभएसम्म भ्रष्टाचार अन्त्य गर्छु भन्नु सस्तो लोकप्रियता बटुल्नुसिवाय केही हुनेछैन । अरूलाई मारेर, लुटेर, ठगेर केही हुनेवाला छैन । क्षणिकलाई मोजमस्ती गरिएला, तर अरूलाई रुवाउनेलाई कहिले भलो हुँदैन । समाज र राष्ट्रका लागि पहिले जनता जिम्मेवार हुन जरुरी छ । राज्यलाई मात्र दोष दिएर भ्रष्टाचार हटाउन सम्भव छैन ।