नुवाकोटका २२ उद्योग र ३७ व्यवसाय खारेज

दुई उद्योगी सम्मानित

  • त्रिशूली प्रवाह
  • १४ मंसिर २०८०, बिहीबार १२:५४
  • सुनील श्रेष्ठ

विदुर, नवौँ उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले मङ्सिर ८ गते शुक्रबार दुई उद्योगीलाई सम्मान गरेको छ ।
कार्यालयमा आयोजित उद्योग दिवस कार्यक्रममा जिल्लामा उत्पादित स्थानीय सामग्रीको प्रदर्शनी तथा सफल उद्योगीलाई सम्मान गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले विदुर नगरपालिका–५ गँगटेमा रहेको दुवाल ब्रदर्स प्रा.लि.का प्रोपाइटर सुन्दर दुवाल र म्यागङ गाउँपालिका–२ बुङताङमा रहेको सानो कल्लेरी कृषि फर्मकी प्रोपाइटर उर्ची तामाङलाई सफल उद्यमीको रूपमा सम्मान गरेका हुन् । ‘स्वदेशी उत्पादन अभियान : उद्यमीको सम्मान’ भन्ने मूल नाराका साथ सञ्चालित कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सरोकारवाला निकाय, नुवाकोट उद्योग वाणिज्य सङ्घ, घरेलु तथा साना उद्योग महासङ्घ नुवाकोट, जिल्ला लघु उद्यमी सङ्घलगायत सरकारी कार्यालय, स्थानीय निकायका जनप्रतिनिधिको सहभागिता रहेको थियो । उद्योग दिवसका लागि केक नारायणी बेकरीका प्रोपाइटर कृष्णप्रसाद अधिकारीले उपलब्ध गराएको कार्यालय प्रमुख किशोर सापकोटाले जानकारी दिए । सो कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवम् जिल्ला नगर परिषद्का उपसभापति ताराबहादुर कार्कीलगायतको उपस्थिति रहेको थियो । नुवाकोट उद्योग वाणिज्य सङ्घ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र जिल्ला लघु उद्यमी सङ्घ नुवाकोटको सिफारिसको आधारमा सम्मानित हुने उद्योगी छनोट गरिएको कार्यालय प्रमुख सापकोटाले बताए ।

घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले जिल्लाका २२ उद्योग र ३७ व्यवसाय खारेज गरेको छ । कार्यालयले आ.व.०८०/८१ मा जिल्लामा दर्ता भएकामध्ये उक्त उद्योग र व्यवसाय खारेज गरेको हो । कार्यालयका प्रमुख किशोर सापकोटाका अनुसार जिल्लामा कुल नौ हजार दुई सय ७० उद्योग र ६ हजार नौ सय ४५ व्यवसाय दर्ता भएका छन् । चालू आर्थिक वर्षमा ७८ उद्योग र ४१ व्यवसाय दर्ता भएका छन् भने २२ उद्योग र ३७ व्यवसाय खारेजी भएका छन् । यस्तै, कात्तिक मसान्तसम्ममा तीन सय २६ उद्योग र तीन सय १३ व्यवसाय नवीकरण भएको उनले जानकारी दिए । उद्योग सञ्चालनका लागि दर्ता गराए पनि लामो समयसम्म निष्क्रिय, आर्थिक मन्दी, पारिवारिक अवस्था र वैदेशिक रोजगारलगायतका कारणले उक्त उद्योग आवश्यकीय प्रक्रियागत खारेजी अवस्था भएको उनले बताए । खारेजी हुने उद्योगमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वन वनजन्य र उत्पादनमूलकमा आधारित उद्योग रहेका छन् । औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार उद्योगीले उद्योग चलाउन नसक्ने भनी कारणसहित निवेदन दिएमा, सर्त तथा निर्देशन पालना नगरेमा, लामो समयसम्म नवीकरण नगरेमा उद्योग खारेज हुने प्रावधान छ । उद्योग खारेजी गर्न पनि उद्योग सञ्चालकले शुल्क तिरेर खारेजी गराउनुपर्ने प्रावधान रहेको छ । उद्योग खारेजी गर्दा उद्योगको व्यावसायिक उत्पादन वा कारोबार स्थगन गरेमा त्यसरी बन्द वा स्थगन गरेको मितिले ३० दिनभित्र त्यसको जानकारी उद्योग दर्ता गर्ने निकायलाई तोकिएबमोजिम दिनुपर्ने प्रावधान छ ।

कार्यालयले चालू आर्थिक वर्षमा प्रशासनिक सेवा शुल्कमा ८२ हजार एक सय ७०, व्यवसाय रजिस्ट्रेसन दस्तुरमा ३६ लाख ५९ हजार दुई सय ६५, प्रशासनिक दण्ड तथा जरिवानामा एक लाख ५२ हजार र अन्य राजस्व शीर्षकमा एक सय रुपैयाँ गरी कुल ३९ लाख ९३ हजार पाँच सय ३५ रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयकी सूचना अधिकारी मेखामाया तामाङ घलेले जानकारी दिइन् । एक लाखसम्म पुँजी भएको उद्योगले एक हजार, तीन लाखसम्म पुँजी भएकाले तीन हजार, पाँच लाखसम्म पुँजी भएकाले ६ हजार, २० लाखसम्म पुँजी भएकोले १२ हजार, ५० लाखसम्म पुँजी भएकाले २० हजार, एक करोडसम्म पुँजी भएकाले २० हजार, तीन करोडसम्म पुँजी भएकाले ३६ हजार, पाँच करोडसम्म पुँजी भएकाले ३६ हजार र पाँच करोडसम्म ४४ हजार, १० करोडसम्म ५२ हजार र १० करोडभन्दा बढी पुँजी भएकाले ६० हजार दर्ताबापत शुल्क बुझाउनुपर्छ । कार्यालयले असोज र कात्तिकमा दुई नगरपालिका र पाँच गाउँपालिकामा गरिएको बजार अनुगमन कार्यक्रमबाट दुई लाख ३८ हजार चार सय आठ रुपैयाँबराबरको म्याद नाघेका सामान जफत गरी नष्ट गरेको थियो । उक्त अनुगमनबाट किराना, मासु र माछा पसललाई गरी कुल एक लाख ५२ हजार जरिवाना गरिएको कार्यालय प्रमुख सापकोटाले जानकारी दिए । उक्त अवधिमा विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, ककनी गाउँपालिका, किस्पाङ, म्यागङ, लिखु र तादी गाउँपालिकामा बजार अनुगमन गरेको जनाएको छ । कार्यालयले सेवाग्राहीलाई प्रविधि हस्तान्तरण, सीप विकास तालिम र परामर्शलगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।