पृथ्वीनारायण शाहको योगदानलाई नभुलौँ

  • त्रिशूली प्रवाह
  • ४ माघ २०८०, बिहीबार १३:११

आज दार्चुलाको लिम्पियाधुरादेखि झापाको केचनासम्म र कञ्चनपुरको चाँदनी–दोधारादेखि ताप्लेजुङको कञ्चनजङ्घासम्मको भूभागलाई नेपाल भनेर चिनिन्छ, तर गोरखाका राजकुमारको रूपमा पृथ्वीनारायण शाहको जन्म हुँदै गर्दा यस भूभागमा विभिन्न नामका ६५ भन्दा बढी राज्य थिए । त्यतिबेला नेपाल भनेर काठमाडौं उपत्यकालाई मात्रै चिनिन्थ्यो, तर नेपाल उपत्यकाभित्र पनि कान्तिपुर, ललितपुर र भक्तपुर नाम गरेका तीनवटा राज्य थिए ।

यसको अर्थ हो – त्यतिबेलासम्म नेपाल भन्ने देशको अलग पहिचान समाप्त भइसकेको थियो । छिमेकी मुलुक भारतलाई अङ्ग्रेजले निलिसकेका थिए, एकीकरण गर्न केही वर्ष मात्रै ढिलाइ भएको भए वर्तमान नेपालको सबै भूखण्ड अङ्ग्रेजले भारतमा विलय गर्ने निश्चित थियो । त्यसैले पृथ्वीनारायण शाहकै कारण आज नेपाल छ, हामी जनताले नेपालीका रूपमा विश्वभर गौरव गर्न पाएका छौँ । हामी आफैँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानसेनापति आदि विभिन्न पदमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर नेपाल बचाएका कारण पुग्न पाएका छौँ । नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको जन्मजयन्ती यस वर्ष पनि भव्य रूपमा पुस २७ गते मनाइयो । उनको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस, सरकारी, गैरसरकारी, राजनीतिक दल तथा विभिन्न सङ्घ–संस्था र समूहले विविध कार्यक्रमसहित देशभर मनाएका समाचार सार्वजनिक भए । केही वर्ष बिर्सिएजस्तो भए पनि अहिले उनले नेपाल एकीकरणमा गरेको योगदानको सबैले प्रशंसा गर्न थालेका छन् । नेपालको इतिहासमा महापुरुष भनेर चिनिने आधुनिक नेपाल राज्य निर्माण गर्न आजभन्दा दुई सय ५० वर्षअघि राज्य एकीकरणमा उनले निर्वाह गरेको भूमिका अतुलनीय छ । बहुपहिचान, ठूलो र फराकिलो विशिष्ट अतुलनीय योद्धाका रूपमा अहिले उनलाई सबैले पुज्न थालेका छन् ।
बाबु नरभूपाल शाहको देहान्तपछि २० वर्षको उमेरमा राजा भएपश्चात् उनले गोरखाको सानो राज्यबाट सुरु गरी विभिन्न भुरे–टाकुरे, बाइसे–चौबिसे राज्य–रजौटालाई एक बनाए । छरिएर रहेका तराई, पहाड र हिमाली राज्यलाई फराकिलो भूभागको परिकल्पना गर्दै जनता र राजा एकतामा मिलेपछि अरू हैकमवादीले चियाउनैपर्दैन भन्ने सन्देश प्रवाह गरे, सफल पनि भए । छरिएका राज्यलाई एकीकरणको सूत्रमा बाँधेर एक बलियो आधारका रूपमा हिमाली काखको आधुनिक नेपाल राज्य खडा गर्ने अभियन्ताका रूपमा उनको पहिचान कायम छ । नेपालमा ०६५ देखि गणतन्त्र राज्य घोषणा भएपछि ०७२ असोज ३ गते सात प्रदेशसहितको केन्द्रीय तह, प्रदेश तह र स्थानीय तह गरी तीन तहमा सङ्घीय राज्य स्थापना गरियो । सात प्रदेश पुनर्संरचनासहित सञ्चालनमा आएपछि एकीकरण गर्नेको नाम बिर्सन थालियो ।

केही समय पृथ्वीनारायणको योगदानलाई पनि भुल्ने काम भयो । पछिल्लो समय इतिहास भुल्न हुने रहेनछ भन्ने जिम्मेवारीबोध भयो सबै राजनीतिक दललाई । आज नेपाली काङ्ग्रेससहितको १० दलको समर्थनमा बनेको वर्तमान सरकारले राष्ट्रनिर्माताको जन्मजयन्तीको कदर गर्दै पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय ग¥यो । केही समय रोकिएको बिदा फेरि दिन थालियो । शासन–सत्ता सुधार्दै जातीय, वर्गीयलगायत कुनै पनि भेदभाव नराखी मानवताका रूपमा जनतालाई सुखसयल सुविधा दिने उद्देश्य राखेर नेपाल एकीकरण गरेको स्वीकार ढिलै भए पनि गर्नु उपयुक्त कदम हो । राजनीतिक दलले गरेको यो निर्णयको सबैले प्रशंसा गरेका छन् । भाइ, भारदार, सेना, प्रहरीलगायत सबै जनताको सहयोग लिएर आधुनिक विशाल नेपाल निर्माण गरेकै कारणले जन्मजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय भयो । हिजो पृथ्वीनारायणको भूमिकालाई बेवास्ता गर्नु गलत थियो । उनले नेपाल एकीकरण नगरिदिएको भए आज हामी नेपाली भएर रहने थिएनौँ । सार्वभौमसत्ताको रक्षा, राष्ट्रिय अखण्डताको संरक्षण र नेपाली जनताको सम्मानमा उनले गरेको योगदान नेपालमा आजसम्म कसैबाट हुन सकेको छैन । पृथ्वीनारायण शाहको योगदानलाई हामीले भुल्नु भनेको इतिहासलाई बिर्सनु हो । सबैमा चेतना भया !