महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनीलाई प्राथमिकता दिएका छौँ

  • त्रिशूली प्रवाह
  • २५ माघ २०८०, बिहीबार १४:४७

राजेन्द्र श्रेष्ठ
अध्यक्ष

नुवाकोट उद्योग वाणिज्य सङ्घ

आठौँ नुवाकोट महोत्सवको तयारी कस्तो छ ?
भोलि २६ गते शुक्रबारदेखि नुवाकोट महोत्सव सुरु हुँदै छ । नुवाकोट उद्योग वाणिज्य सङ्घमा म वैशाखमा सर्वसम्मत अध्यक्षमा निर्वाचित भइसकेपछि कार्यसमितिको असोजमा भएको बैठकमै बागमती प्रदेशका जिल्लासँगको समन्वय गरेर महोत्सवको मिति तय गरेका थियौँ । बागमती प्रदेशका उद्योग वाणिज्य सङ्घका अध्यक्षको सल्लाहमा एउटा जिल्लाले अर्को जिल्लाको महोत्सव नजुधाउने सहमति भएकाले महोत्सव माघ २६ गते पुगेको हो । महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको छ । महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम तय भएको छ । त्यसका लागि आवश्यक तयारी गर्न सुरक्षा निकायसँग समन्वय भइसकेको छ ।

सातवटा महोत्सव सम्पन्न भइसक्दा नुवाकोटको समग्र विकासमा कस्तो योगदान भएजस्तो लाग्छ ?
विगतदेखि नै मेला, महोत्सव उद्योग वाणिज्य सघले सञ्चालन गर्दै आएको छ । ०६३ सालदेखि सङ्घको नेतृत्वमा जिल्लाका सरोकारवाला निकाय सबैसँग समन्वय र सल्लाहमा महोत्सव हुँदै आइरहेको छ । सङ्घका अलावा अन्य सङ्घ–संस्थाले पनि बीचमा मेला, महोत्सव गरे । उनीहरूले गरेको मेला, महोत्सव आर्थिक उपार्जनको उद्देश्य मात्र रह्यो । हामीले विगतदेखि सञ्चालन गर्दै आएको महोत्सवको आम्दानी पारदर्शी भइरहेको छ । महोत्सवमा हामीले गरेका आम्दानी सामाजिक काममा खर्चेका छौँ । हामीले महोत्सवको आम्दानीले विदुर नगरपालिकाको बजार क्षेत्रमा सिसिटिभी राख्ने काम गरेका छौँ । यसका लागि ३० लाख रुपैयाँभन्दा बढी खर्च सङ्घले गरेको छ । हामीले राखेका सिसिटिभी अहिले मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । अहिलेको महोत्सवमा भएको आम्दानीले त्यो मर्मत गर्ने लक्ष्य पनि रहेको छ । जिल्लामा हुने खेलकुद प्रतियोगिता, सांस्कृतिक मेला–पर्वमा आर्थिक सहयोग गरेर सहभागिता जनाएका छौँ । महोत्सवले जिल्लाको उद्योग, व्यापारमा विस्तारका साथै लगानीको सम्भावना बढाएको छ भने जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । विगतको महोत्सवले जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय सम्भावना उजागर गराएको छ ।

महोत्सव अहिले फेसनको रूपमा अरू सङ्घ–संस्थाले पनि गर्न थालेका छन् । सङ्घले गर्ने महोत्सव र अरूले गर्ने महोत्सवमा भिन्नता केही छ ?
सान्दर्भिक प्रश्न सोध्नुभयो । उद्योग वाणिज्य महासङ्घको ७७ वटै जिल्लामा सञ्जाल छ । जिल्ला र अधिकांश नगरमा पनि सङ्घ रहेको छ । महोत्सव हिजो उद्योग वाणिज्य सङ्घले मात्रै गर्दथ्यो । सङ्घले सञ्चालन गर्ने महोत्सवमा स्थानीय प्रशासनले पनि सुरक्षा दिइरहेको हुन्छ । व्यक्ति तथा सङ्घ–संस्थाले गर्ने महोत्सवको नाफा एउटा व्यक्तिमा मात्र हुन्छ भने हामीले गर्ने महोत्सवको हिसाब पारदर्शी र सामाजिक काममा खर्च हुन्छ । महोत्सव उद्योगी व्यवसायीका सङ्घ–संस्थाले गर्ने हो । हरेक सङ्घ–संस्थाको आफ्नै खालको उद्देश्य हुने गर्दछ । व्यापार, व्यवसाय प्रवद्र्धनको क्षेत्रमा काम गर्ने उद्योग वाणिज्य सङ्घ भएकाले महोत्सव गरेर उत्पादक, खरिदकर्ता र उपभोक्तालाई एकै स्थानमा सहभागी गराई बिक्री–वितरणको व्यवस्था गर्नुपर्ने महोत्सवको उद्देश्य रहेको हुन्छ । सङ्घले गर्ने महोत्सव व्यवस्थित, विद्यमान ऐन, कानुनको अधीनमा रहेर गर्ने भएकाले अरूले गर्ने महोत्सवभन्दा फरक र जिम्मेवारी बहन गर्न सक्ने हुन्छ । सरकारले छिट्टै मेला, महोत्सवको जिम्मेवारी उद्योग व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थालाई दिने तयारी गरिरहेकाले आगामी दिनमा महोत्सव व्यवसायी उद्देश्य नभएका सङ्घ–संस्थाले गर्न नपाउने कानुनी व्यवस्था गर्न लागेको छ ।

पहिलाको महोत्सव र यो महोत्सवमा कस्तो भिन्नता छ ?
सङ्घले गर्ने महोत्सव हरेकपटक नयाँ र फरक हुने गरेको छ । महोत्सवमा सञ्चालन गरिने क्रियाकलाप मान्छेको आवश्यकता र चाहनाअनुसार प्रत्येकपटक परिवर्तन भइरहेको छ । यसपालि हामीले जिल्लाको कृषि क्षेत्रको बजारीकरणका लागि स्थानीय उत्पादनको स्टल सञ्चालन गर्न ५० वटा स्टल निःशुल्क प्रदान गरेका छौँ । ती स्टलमा नुवाकोटको चिनारी झल्कने खालका विभिन्न उत्पादनका स्टल राखिनेछ । यसपटक हामीले विगतका महोत्सवभन्दा धेरै नै भिन्नता दिन खोजेका छौँ । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनीलाई प्राथमिकता दिएका छौँ । महोत्सवले जिल्लाको सुस्त आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा राखेका छौँ ।

आर्थिक सङ्कटको बेला हुन लागेको महोत्सवले कसरी नुवाकोटलाई फाइदा पुग्ला ?
महोत्सवले हामी आयोजकलाई नाफा होला या घाटा होला, त्यो फरक कुरा हो । तर, आर्थिक सङ्कट भोगिरहेका व्यवसायीलाई केही हदसम्म राहत यो महोत्सवले दिनेछ । मेला–महोत्सवले लामो समय निराशामा रहेका व्यवसायीलाई थप ऊर्जा दिनेछ भन्ने विश्वास हामीले लिएका छौँ । सुतिरहेको अवस्थामा बजार जगाउने काम महोत्सवले गर्नेछ । महोत्सवमा आउने हजारौँ दर्शकको कारण यातायात व्यवसायी, पोल्ट्री व्यवसायी, होटेल व्यवसायी, तरकारी उत्पादन गर्ने कृषकले प्रत्यक्ष फाइदा लिन्छन् ।

यो महोत्सवमा विशेष गरी के हेर्न पाइन्छ ?
अहिलेदेखि सातौँ महोत्सव हुँदै आठौँ महोत्सवसम्म आइपुग्दा नुवाकोटका कृषि उत्पादन, घरेलु, हस्तकलाका उत्पादित सामग्री र अन्य व्यवसायलाई प्रवद्र्धन गर्ने नै महोत्सवको मूल उद्देश्य हो । यसपटक पनि हामी नुवाकोटका सम्भावनाको खोजी गर्ने खालका विभिन्न कार्यक्रम सञ्चालन गर्नेछौँ । यो महोत्सवबाट भएको नाफाले सङ्घले पिपलटारमा खरिद गरेको जग्गामा सानो उद्योग स्थापना गर्न लागेका छौँ । महोत्सवमा महिला उद्यमी तथा घरेलु उत्पादनका सामानले प्राथमिकता पाउनेछन् । महोत्सवमा आउने दर्शकले स्थानीय जातका माछा, रेन्बो ट्राउट माछा, मौरी, मौरीका उत्पादन, नुवाकोटका कृषि उत्पादन, नुवाकोटको हावापानीका लागि उपयुक्त फलफूलको बिरुवा अवलोकन र खरिद गर्न पाउँछन् ।

नुवाकोटका महिला उद्यमीका कस्ता खालका उत्पादन महोत्सवमा राखिनेछ ?
महिला उद्यमीले घरमै बसेर बनाएको अचार, मकैको खोस्टा तथा परालबाट बनेका चकटी, ढाकाका उत्पादन (तान नै राखेर बुन्नेसमेत), थैली, झोला, हस्तकलाका अन्य सामान, ककनीको गमलामा फलेको स्ट्रेबरीलगायतका सामग्री महोत्सवमा महिला उद्यमीले प्रदर्शनी गर्ने तयारी छ । ककनी क्षेत्रमा मुलाका चाना, सिन्की, गुन्द्रुक उत्पादन पनि राख्ने तयारी छ । यस वर्ष हामीले स्थानीय उत्पादन र कृषि प्रदर्शनीलाई ५० वटा निःशुल्क स्टल दिएका छौँ । साथै, यस वर्ष उत्कृष्ट टप फाइभ कृषि प्रदर्शनीलाई नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरेका छौँ । महिला उद्यमी तथा कृषकलाई खाजा र आतेजाते खर्चको व्यवस्था पनि गरेका छौँ । भेटेरेनरी अस्पतालको सहकार्यमा हामीले कृषिजन्य वस्तुको प्रवद्र्धनका लागि तीन दिनसम्म सम्पूर्ण महोत्सव आगन्तुकका लागि उसिनेको अन्डा र तातो दूध निःशुल्क वितरण गर्न लागेका छौँ । त्यस्तै, हामीले यस वर्ष कृषि जनचेतनाका लागि बागवानी विकास केन्द्र, मस्त्य अनुसन्धान, कृषि ज्ञान केन्द्र, भेटेरेनरी अस्पतालको विज्ञबाट दैनिक दुई घण्टा इच्छुक कृषकलाई वृत्तचित्रमार्फत तालिम दिइने व्यवस्था मिलाएका छौँ । जिल्लाका विभिन्न स्थानीय तहबाट आ–आफ्नो पालिकाको मौलिकता झल्किने स्थानीय उत्पादन तथा कृषि सामग्री प्रदर्शनी गरिनेछ । बिस्तारै प्रविधिमैत्री हँुदै गइरहेको कृषि क्षेत्रमा प्रयोग हुने यन्त्रको पनि प्रदर्शनी गरिनेछ ।

महोत्सवमा कति अवलोकनकर्ता आउने अनुमान गरिएको छ ?
आठौँ नुवाकोट महोत्सवमा एक लाखभन्दा बढी अवलोकनकर्ता आउने अनुमान हामीले गरेका छौँ । हामीले एक लाख टिकट बिक्री गर्ने लक्ष्य राखेका छौँ । त्यसमा विद्यार्थीलाई ५० प्रतिशत छुट र ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएका छौँ । कुल टिकटमध्ये आधाजति विद्यार्थी र ज्येष्ठ नागरिक सहुलियतको टिकट हुनेछन् । नुवाकोट उद्योग वाणिज्य सङ्घका नवीकरण गरेका सदस्यलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएका छौँ ।

महोत्सवको टिकट महँगो भयो भन्ने सुनिन्छ नि ?
होइन, हामीले एक सय रुपैयाँमा प्रवेशको व्यवस्था मिलाएका छौँ । यसअघिका महोत्सवमा पनि एक सय रुपैयाँकै टिकट वितरण भएको हो । एक सय रुपैयाँमा पनि विद्यार्थी सहुलियत तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाका लागि निःशुल्क प्रवेश गर्ने व्यवस्था मिलाएका छौँ । त्यसैले टिकट महँगो भयो भन्ने हामीलाई लाग्दैन । त्यसमाथि ५० प्रतिशत छुटको टिकट धेरै बिक्री हुन्छ र हामीले त्यो टिकट नै धेरै छापेका छौँ । देशभरका मेला, महोत्सवमा एक सय रुपैयाँभन्दा कम टिकट कहीँ–कतै राखिएको छैन ।

प्रस्तुति : भोलाराज पौडेल