पालिकाको चौतर्फी विकासमा सबैको भूमिका रहेको छ

  • त्रिशूली प्रवाह
  • २५ माघ २०८०, बिहीबार १५:५४

शंकरबहादुर थापा,
अध्यक्ष
दुप्चेश्वर गाउँपालिका, नुवाकोट

०७२ मा संविधान जारीपछि नेपालमा अहिले तीन तहका सरकार क्रियाशील छन् । बागमती प्रदेशअन्तर्गत नुवाकोटका १२ पालिकामध्येको दुर्गम दुप्चेश्वर गाउँपालिकाको अध्यक्षमा अहिले शंकर थापा रहेका छन् । ०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थापा लामो समय शिक्षण पेसामा रहेका थिए । रसुवा र सिन्धुपाल्चोकसँग सिमाना जोडिएको दुप्चेश्वर गाउँपालिकामा सात वडा रहेका छन् । सात वडामध्ये नेकपा एमालेले वडा नम्बर ५ र ६, नेपाली काङ्ग्रेसले वडा नम्बर ३ र नेकपा माओवादी केन्द्रले वडा नम्बर १, २, ४ र ७ को अध्यक्षको नेतृत्व गरिरहेका छन् । पालिकाको कार्यपालिका बोर्डमा अध्यक्ष, उपाध्यक्षसहित माओवादी केन्द्रको बहुमत रहेको छ । कार्यपालिका बोर्डमा एमालेका दुईजना र काङ्ग्रेसका एकजना सदस्य रहेका छन् । दुप्चेश्वर महादेवको नामबाट नामकरण भएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष थापासँग त्रिशूली प्रवाह साप्ताहिकका प्रतिनिधिले गरेको कुराकारीको सारसङ्क्षेप :

पालिकाको नेतृत्वमा आउनुभएको डेढ वर्ष भयो । यस अवधिमा कस्तो अनुभव रह्यो ?
लामो समय शिक्षण पेसामा संलग्न रहेँ । राजनीति मेरा लागि नयाँ अनुभूति भएको छ । पालिकाको अध्यक्ष भएसँगै केही समय पालिकाबाट जनतालाई दिने सेवा र सुविधाबारे बुझेँ । स्थानीय सरकार जनताको नजिकको सरकार रहेको अनुभव गरेँ । जनताको सुखदुःखमा सरकार पुग्नुपर्छ भन्ने बुझेँ । त्यसैअनुसार जनतालाई सहज र सुविधा पुर्याउन तल्लीन छु । पालिकाको आधाभन्दा बढी भाग दुर्गम रहेको छ । आमजनतालाई बाँच्नका लागि आवश्यक आधारभूत विषय पनि कमजोर अवस्थामा रहेको पाएँ । निर्वाचित भएर आएपछि शिक्षा, स्वास्थ्य, कृषि र पर्यटकीय क्षेत्रमा नतिजा देखिनेगरी काम सुरु गरेको छु । दुप्चेश्वर गाउँपालिकाको मुख्य धार्मिकस्थल पवित्र पशुपतिनाथ मन्दिरको पर्यायका रूपमा परिचित दुप्चेश्वर महादेव मन्दिरमा आवश्यक विभिन्न संरचना निर्माण र दर्शनार्थीलाई सहज रूपमा आवत–जावत गर्न सहजता प्रदान गरिएको छ ।

निर्वाचनको समयमा मतदातासमक्ष गर्नुभएको प्रतिबद्धता के–कति पूरा गर्नुभयो ?
हामीले निर्वाचनमा ठूला महत्वाकाङ्क्षी प्रतिबद्धता गरेका थिएनौँ । सक्ने खालका कामको मात्र प्रतिबद्धता गरेका थियौँ । त्यसैले, सीमित बजेट र कर्मचारीको सही ढङ्गले परिचालन गरेर निर्वाचनमा गरेका प्रतिबद्धता कार्यान्वयन गरिरहेका छौँ । चुनावी घोषणापत्र तथा प्रतिबद्धता हाम्रा लागि मार्गचित्र हुन् । विकास जाडुको छडी होइन, तर निर्वाचनपश्चात् अहिलेसम्म आइपुग्दा सन्तुष्टमा काम भएका छन् । कार्यप्रगतिको आधारमा हेर्ने हो भने विकास र परिवर्तन भएको आभाष हुन्छ । निर्वाचनको बेला गरिएका प्रतिबद्धता पूरा गर्नेतर्फ केन्द्रित छु । मतदाताका सामु गरिएका प्रतिबद्धतालाई पूरा गर्नका लागि देखिनेगरी त्यसको नतिजा आउन सुरु भएको छ र त्यसअनुरूपमा कार्यक्रम र बजेट छुट्याएको छु ।

नेतृत्वमा आएको डेढ वर्ष भयो । पालिकाका समस्या र चुनौती के पाउनुभयो ?
पालिकामा समस्या र चुनौती धेरै नै छन् । स्थानीय सरकार भनेको जनताको सबैभन्दा नजिक रहेको आशा र भरोषा दिलाउने सरकार हो । जसबाट स्थानीयले इच्छा, आकाङ्क्षा र भरोसा राख्नु स्वाभाविकै हो । त्यसअनुसार जनताका जनजीविकासँग प्रत्यक्ष जोडिएका हरेक कामलाई यस सरकारका तर्फबाट सकिनेसम्म सहजता प्रदान गरिएको छ । छिटो, सजिलो र सहज तरिकाले सेवा प्रवाह गर्ने हाम्रो लक्ष्यअनुसार नै कार्य अघि बढेका छन् । बाहिरबाट आमउपभोक्ताले सोचेअनुरूप कार्य गर्न त कठिन छ । तैपनि हामीले आफ्नोतर्फबाट सङ्घ, प्रदेश र स्थानीय सरकारका नीति, नियम र कानुनभित्र रही हुनेसम्मका सबै सेवालाई चुस्त–दुरुस्त र प्रभावकारी ढङ्गले अघि सारिएको छ ।

पालिकामा बहुमत–अल्पमतको खेलोफड्को कत्तिको भइरहेको छ ?
कार्यपालिका बोर्डमा बहुमत मेरो पक्षमा रहेको छ । कुनै पनि निर्णयलाई कार्यान्वयन गर्न र गराउन पालिकामा समस्या रहेको छैन । गाउँपालिकामा तीनवटा पार्टी (काङ्ग्रेस, एमाले र माओवादी)का प्रतिनिधि निर्वाचित भएका छौँ । गाउँपालिकामा हुने नीति, बजेट तथा कार्यक्रम बहुमतद्वारा पारित हुन आवश्यक छ । पालिका, वडा तथा कार्यापालिकाको विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिले सार्वजनिक सरकारका विषयमा छलफल, अन्तक्र्रियासहित निर्णय भएको छ । हामी सबैको साझा उद्देश्य जनतालाई सेवा गर्ने भएकाले स्वाभाविक मनमुटाव भए पनि निर्णय समयमै हुनुको साथै प्रभावकारी कार्यान्वयन भएका छन् ।

पालिकाको चौतर्फी विकासमा स्थानीय राजनीतिक दल, नागरिक समाज तथा बुद्धिजीवी, पालिकाको कर्मचारीको कस्तो सहयोग पाइरहनुभएको छ ?
पालिका क्षेत्रमा भौतिक पूर्वाधार, कृषि, पर्यटन, रोजगार, ज्ञान, सीपलगायत चौतर्फी विकासका लागि सबैको भूमिका रहेको छ । स्थानीय तहमा काम गर्ने कर्मचारीलाई प्रदेश तथा सङ्घको निजामती ऐन, कानुनले गर्दा निराशा छ, तर उहाँहरूमा असहयोगी भावना छैन । सबै जनप्रतिनिधिसँग कर्मचारीको सम्बन्ध राम्रो छ । पालिकामा रहनुभएका सबै कर्मचारीले स्थानीय सरकारको नीति तथा कार्यक्रमलाई पूरा गर्न आ–आफ्नो शाखा र विषयमा पूरा साथ र समर्थन जनाई काम गर्दै आउनुभएको छ । स्थानीय राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजलगायत सबैको साथ र सहयोग पाइरहेको छु ।

विकासको पूर्वाधारमध्ये तपाईंको प्राथमिकतामा के–के छन् ?
विकासका पूर्वाधारमध्ये हाम्रो पालिकाको नारा ‘कृषि, संस्कृति, पर्यटन र पूर्वाधार, सन्तुलित विकास दुप्चेश्वरको आधार’ भन्ने रहेको छ । त्यसैअनुरूप हाम्रो भूगोल र वस्तुस्थितिअनुसार कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत समग्र क्षेत्रमा काम नयाँ ढङ्गबाट अघि बढेको छ ।

धार्मिक तथा सांस्कृतिक महत्वको क्षेत्र दुप्चेश्वर महादेवलगायत पर्यटकीय सम्भावना क्षेत्रमा के गर्नुभयो ?
पालिकामा धार्मिक स्थल तथा सांस्कृतिक स्थलमा सम्भावना बोकेका धेरै स्थल रहेका छन् । सातवटै वडामा आ–आफ्नो महत्वपूर्ण स्थान, स्थलले परिचित रहेका छन् । वडा नम्बर १ को सूर्यकुण्ड, मुनथला, तालु, कसेरी, घ्याङकीदेवी मन्दिरलगायत विभिन्न स्थान र स्थलले परिचित छ । वडा नम्बर २ को बुँडेनी, महादेवस्थान गुम्बा, छोर्तेनलगायतले परिचित छ । वडा नम्बर ३ को नाटाङ डाँज, वडा नम्बर ४ का कुटुमसाङ, गोल्फुभञ्ज्याङ, त्यस्तै गुम्बा छोर्तेनलगायत अवस्थित छ । वडा नम्बर ५ को राम्चेडाँडा, बालकुमारी मन्दिर, मानेभञ्ज्याङ, सुन्तला पकेट क्षेत्रलगायतले परिचित छ । वडा नम्बर ६ दुप्चेश्वर महादेव मन्दिर, देवीस्थान मन्दिर, सूर्यमति, चन्द्रवति नदीलगायतले परिचित छ । वडा नम्बर ७ शिखरबेँसीफाँट, तिल्केफाँट, बच्छलादेवी मन्दिर, मानेडाँडा, भिरुना मन्दिर, गुम्बाचौर, छुभेर वडार, स्यखर्च, मूलखर्क, झ्याकुम जोगीमारालगायतले परिचित रहेको छ । पालिकाभित्र रहेका यी सबै क्षेत्रको संरक्षण, संवद्र्धन तथा प्रचार–प्रसारमा वार्षिक कार्यक्रम तय गरी बजेट विनियोजनसहित काम भइरहेको छ ।

पालिकालाई प्रदेश र सङ्घ सरकारको सहयोग कस्तो छ ?
वडा कार्यालयदेखि पालिकाको केन्द्र जोड्ने सडक, बृहत् खानेपानी, स्वास्थ्य क्षेत्रमा भवन निर्माण तथा उपकरण खरिद, विद्यालय, वडा कार्यालय भवनलगायत क्षेत्रमा प्रदेश तथा सङ्घको सहयोग रहेको छ । दुप्चेश्वर गाउँपालिका नुवाकोटका १२ वटा पालिकामध्ये सबैभन्दा कम आन्तरिक स्रोत रहेको पालिका हो । भौगोलिक विकटताको कारण यहाँ विकासका कार्य गर्नसमेत समस्या रहेको छ । हाम्रो मागअनुसार प्रदेश सरकार र सङ्घ सरकारको उल्लेखनीय योगदान तथा बजेट विनियोजन भइरहेको छ ।

राजस्वको अवस्था कस्तो छ ? उठेको राजस्वले विकास निर्माणको खर्चमा कति प्रतिशत योगदान पुगेको छ ?
आन्तरिक स्रोतको रूपमा घर, जग्गा सिफारिस र व्यवसाय दर्ता सिफारिस प्रमुख रहेको छ । राजस्वको कुरा गर्नुपर्दा स्थानीय सानो बजार तथा घर, जग्गा, सिफारिसको राजस्वबाहेक त्यस्तो विशेष स्रोत रहेको छैन । जसले विकास निर्माणमा धेर–थोर टेवा पुगेको छ । हामीले कृषि संस्कृति, पर्यटन र पूर्वाधार सन्तुलित विकास, दुप्चेश्वरको आधारको मर्मअनुरूप गाउँपालिकाको आर्थिक वर्ष ०८०/८१ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा गरिएको छ । पालिकाले करको दर होइन, दायरा व्यक्त गरौँ भन्ने मान्यतामा आधारित भएर आर्थिक ऐन तयार गरी कार्यान्वयनमा लगेका छौँ । राज्यलाई जनताले कर तिर्ने र करको प्रतिफलस्वरूप आमनागरिकलाई राज्यद्वारा विकास निर्माणलगायतका सेवा प्रवाह गरिने हुँदा जनता र सरकारको अन्योन्याश्रित सम्बन्ध हुन्छ । जनताको आम्दानीअनुसार राजस्व उठाउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।

स्थानीय तहमा व्यापक भ्रष्टाचार र सुशासनबारे चर्चा हुने गरेको छ । दुप्चेश्वरमा यसको अवस्था के छ ?
स्रोत–साधनको उपलब्धतासँगै सुशासनमा प्रभावकारी आउनु स्वाभाविक हो । तर, दुप्चेश्वर गाउँपालिकामा नागरिक सचेतना, महिला सशक्तीकरण, कर्मचारी व्यवस्थापन प्रभावकारी भएकाले काम गर्न सफल भएका छौँ । विषयगत शाखालाई पूरा जिम्मेवार बनाएर काम गर्दा नतिजा उपलब्धिमूलक पाएका छौँ । कुनै कर्मचारी दबाब र प्रभावमा नपरी काम गर्ने वातावरण सिर्जना गरेका छौँ । पालिकालाई भ्रष्टाचारमुक्त पालिका घोषणा गरेर सोहीअनुसार कार्य भइरहेको छ । वडा–वडाबाट माग गरिएका योजनालाई पालिकाको सभाबाट पारित बजेट तथा कार्यक्रमलाई सही चुस्त–दुरुस्त रूपमा कार्यान्वयन गरिएको छ ।

पाँचवर्षे कार्यकालमा दुप्चेश्वरलाई कस्तो बनाउने परिकल्पना गर्नुभएको छ ?
पाँचवर्षे कार्यकालमा सातवटै वडामा स्थानीयले गर्व गर्ने विकास योजना सम्पन्न हुनेछ । गुणस्तरीय शिक्षा र स्वास्थ्यलगायत खानेपानीको दिगो समाधान, सडक यातायात क्षेत्रमा बाह्रैमास सवारीसाधन सञ्चालन हुने गरी काम गरेको छु । यस आर्थिक वर्षमा पनि नवीनतम र स्थानीयको जीवनस्तरलाई माथि उठाउने खालका नीति तथा कार्यक्रम बनाइएको छ ।