त्रिभुवन त्रिशूली माविका विद्यार्थी मौलिक खानाका परिकार बनाउन सिक्दै

  • त्रिशूली प्रवाह
  • ३ फाल्गुन २०८०, बिहीबार ११:४०

त्रिशूली, सधैँ कापी–किताब बोकेर विद्यालय छिर्ने र पढ्ने विद्यार्थी शुक्रबार दिनभर कापी, किताबको सट्टा हातमा भाँडावर्तन, विभिन्न परिकार बनाउन आवश्यक सामग्री बोकेर विद्यालय छिरेर मौलिक खाना बनाउन सिक्दै थिए । विद्यालयमा प्रार्थना सकिएलगत्तै विद्यार्थी कक्षा–कक्षाको समूहअनुसार विभाजन भए । केही विद्यार्थी चुलो बनाउन, केही विद्यार्थी परिकार बनाउन आवश्यक सामग्री काटकुट र सफा गर्न व्यस्त देखिन्थे । झट्ट हेर्दा त विद्यालयको माहोल वनभोज स्थलजस्तो लाग्थ्यो ।

त्यो दृश्य वनभोजको नभएर विदुर नगरपालिका–१ त्रिशूलीबजारको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा शुक्रबार आयोजना गरेको फुड फेस्टिभल कार्यक्रमको थियो । विद्यार्थी रमाउँदै विभिन्न मौलिक परिकार बनाउन सिक्दै गरेका थिए । कक्षागतअनुसार विद्यार्थी विभिन्न प्रकारका स्थानीय मौलिक परिकार बनाउन सिक्दै थिए । शिक्षकले विद्यार्थीलाई मौलिक परिकार बनाउन सहजीकरण गरिरहेका थिए । विद्यालयका कक्षा ६ देखि ९ सम्मका विद्यार्थीले फरक–फरक किसिमका विभिन्न मौलिक स्थानीय परिकार बनाएका थिए । विभिन्न समुदायका विद्यार्थीले आफ्ना समुदायका मौलिक परिकार पनि बनाएका थिए । विद्यार्थीले तामाङ र नेवार समुदायको मौलिक परिकार मःम, यमरी, चाकु, मासको बारा, आलुको अचार, सेलरोटी, पुरी, आलुचप, पकौडा, आलु चिप्स, तरकारीजस्ता परिकार बनाएका थिए । पहाडी समुदायको सेलरोटी, मुला र धनियाँको अचार, आलु र काउलीको तरकारीजस्ता विभिन्न परिकार पनि बनाएका थिए । शिक्षकको सहयोगमा विद्यार्थीले निकै चाख मानेर परिकार बनाएका थिए । कक्षा सातकी छात्रा सुनिता तामाङले परिकार बनाउँदाको अनुभव सुनाउँदै भनिन्, ‘निकै रमाइलो भएको छ । घरमा परिकार बनाउन खासै चासो नदिए पनि विद्यालयमा सबै साथी मिलेर सिक्दा र बनाउँदा निकै आनन्द महसुस भएको छ ।’
आ–आफ्नो समूहमा बनाएका परिकार अवलोकन तथा बिक्रीका लागि विद्यार्थीले विद्यालयपरिसरमा स्टलसमेत राखेका थिए । आफ्ना

नानीबाबुले बनाएका परिकार हेर्न र चाख्नका लागि विद्यालयनजिकका अभिभावक पनि विद्यालय आएका थिए । अभिभावक, विद्यार्थी तथा शिक्षकले उनीहरूले बनाएको परिकार किनेर खाएका थिए । फुड फेस्टिभल कार्यक्रमले विद्यार्थीलाई परिकार बनाउने सीप मात्र नभएर व्यवसाय गर्ने ज्ञान पनि दिएको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले बताए । उनले भने, ‘यसले व्यावहारिक सीपको विकास हुनुका साथै विद्यार्थीमा आफूले उत्पादन गरेको वस्तुको बजारीकरण गर्ने सीपको समेत विकास गरेको छ ।’ आफ्नो स्टलको परिकार बढीभन्दा बढी बिक्री गर्नका लागि कक्षागत समूहका विद्यार्थीबीच प्रतिस्पर्धा नै देखिन्थ्यो । विद्यार्थीले खाना महोत्सवको आयोजना गर्नु सराहनीय र उदाहरणीय काम भएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले खुशी व्यक्त गरे । ‘खाना महोत्सवमा आएर विद्यार्थीले तयार पारेको परिकार पनि चाखियो । साह्रै मिठो लाग्यो । यसले विद्यार्थीको सिकाइमा सघाएको छ,’ उनले भने । मःम, यमरी, चाकु, बाराजस्ता परिकार विद्यार्थीलाई बनाउन सिकाउँदा आफ्नो परम्परागत संस्कृतिको जगेर्ना गरी नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुगेको विद्यालयका शिक्षक शान्ति श्रेष्ठ प्रधानले बताइन् ।

विद्यार्थीले आफैँले रकम सङ्कलन गरेर परिकार बनाउने सामग्री किनेका थिए । विद्यार्थीलाई मौलिक परिकार बनाउन तेजु जोशी, शान्ति श्रेष्ठ, एन्जिला श्रेष्ठ, नवीना आचार्यलगायत शिक्षकले सहयोग गरेका थिए । विदुर नगरपालिका– १ का अध्यक्ष लेनिन रञ्जितसहित जनप्रतिनिधि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानलगायतका पदाधिकारीले खानाका स्टल अवलोकन गर्नुका साथै विभिन्न परिकारको स्वाद लिएका थिए । सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारेर सीप सिक्न पाउँदा निकै राम्रो लागेको कक्षा सातकी विद्यार्थी शिखा विकले सुनाइन् । उनले भनिन्, ‘कक्षाकोठाको ज्ञानसँगै कोठाबाहिरको ज्ञान लिन पाउँदा निकै उपलब्धि हासिल गरेको महसुस भएको छ ।’ विद्यालयले यो कार्यक्रमलाई विद्यार्थीको परियोजना कार्यसँग मूल्याङ्कन गरिने विद्यालयका प्रधानाध्यापक महेन्द्र राउतले बताए । प्रधानाध्यापक राउतले भने, ‘यो क्रियाकलापलाई व्यावहारिक सीपसँगै विद्यार्थीको प्रयोगात्मक मूल्याङ्कनसँग पनि जोडेका छौं ।’ विद्यालयको वार्षिक कार्ययोजनाअनुसार विद्यालयमा फुड फेस्टिभल कार्यक्रम आयोजना गरिएको प्रधानाध्यपक राउतले बताए । विद्यालयले हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्दै आइरहेको छ ।