राजनीतिक परिवर्तनको लाभ नेता र कार्यकर्तालाई मात्रै

  • त्रिशूली प्रवाह
  • १७ फाल्गुन २०८०, बिहीबार १२:२४

नेपालको इतिहासमा दर्ज भएका राजनीतिक परिवर्तनको लाभ तलका जनताले लिन सकेका छैनन् । वि.सं. २००७, २०१७, २०३६, २०४६, २०६२ मा ठूलो राजनीतिक परिवर्तन भयो । त्यसको प्रत्यक्ष फाइदा जनताले पाए कि पाएनन् कहीँ–कतैबाट यसको समीक्षा भएको पाइएन । परिवर्तन केका लागि कसको लागि भन्ने प्रश्न अहिले छरपस्ट भइरहेका छन् ।

परिवर्तन गतिशील हुन्छ । जसलाई जो कसैले रोक्न सक्दैन । जुन कुरा सर्वविदितै छ । परिवर्तन हिजो कुन परिदृश्य र आज कुन दृश्यमा भइरहेको छ, हामी सबैले आकलन गर्न सक्छौँ । आजका परिवर्तनले कस्तो सन्देश दिएको छ, त्यो पनि सर्वविदितै छ । राजनीतिक दल, दलका नेता÷कार्यकर्ता एवम् आफन्तलगायत चिनजानलाई मात्र परिवर्तन भएको त होइन भन्ने सन्देश प्रवाह भएको छ ? के यसलाई सही मान्ने कि नमान्ने ? नमान्ने भए किन नमान्ने ? यसको उत्तर खोजिनुपर्छ । परिवर्तनमा जोडिएका माध्यममा विभिन्न किसिमका चलखेल गर्नेमा राजनीतिक दल, केही सङ्घ–संस्थालगायतको साँठगाँठ नहोला भन्न सकिन्न । त्यसैगरी, परिवर्तनका नाममा आ–आफ्ना नातागोता र आसेपासेलाई प्राथमिकता दिने परिपञ्च र जालझेल बुन्ने चलन किन बन्द भएको छैन ? परिवर्तन हाम्रोजस्तो गरिब देशमा कहिलेसम्म उचाइको बिन्दुमा पुग्न सम्भव होला ? राज्यकोषको ढुकुटीमा के–कति छ, राज्यबाट आयात र निर्यात के–कति छ, यी सबैबाट सहजै अनुमान गर्न सकिन्छ । परिवर्तन नहुनुमा ठूलाबडा र गन्ने, मान्नेकै कारण देशमा विकासले गति लिन नसकेको हो भन्दा हिच्किचाउनुपर्दैन । परिवर्तनलाई गति दिन ठूलै सङ्घर्ष गर्न जरुरी छ । नेपाली जनताले बेलैमा चनाखो भई परिवर्तनका निम्ति खबरदारी गर्न नसक्दा परिवर्तनले गति लिन सकेको छैन । अन्यथा, परिवर्तनले गति लेला र देश विकास होला भन्नु भ्यागुताको धार्नी पुगेसरह हुनेछ ।

परिवर्तनसँग सहिदको बलिदानी पनि सँगसँगै जोडिएका छन् । राणा शासनको विरोधी भएबापत वि.सं. १९९७ माघ १० गतेदेखि हाम्रा अग्रज चार अमर सहिदले बलिदान दिनुप¥यो । राणाहरू यस्ता सौखिन कि आफ्ना छोराछोरीलाई मात्र शिक्षा–दीक्षा चाहिने, आफैँ मात्र टाठो–बाठो हुनुपर्ने र पहुँचमा रही राजालाईसहित गुमराहमा राखी राज्यसत्ता आफ्नो हातमा लिई एकलौटी शासन चलाउने राणा शासन सदाका निम्ति अन्त्य हुनुपर्छ भनेकै कारण चारजनाले सहादत दिनुप¥यो । सर्वसाधारणले पनि शिक्षा–दीक्षा लिन र ऐन कानुनअनुसार चल्न पाउनुपर्छ भन्नेजस्ता मूल नारा लिएर देशमा क्रान्तिका निम्ति अघि बढ्ने वीर योद्धा र सपुतले देखाएको मार्गलाई आज सत्तामा पुगेका दलका नेताले बेवास्ता गर्दा अमर सहिदको अवमूल्यन भएको छ । सहिदको त्याग तपस्या र सपना आज पनि अधुरै छन् । विभिन्न चरणका राजनीतिक परिवर्तनको आन्दोलनमा देशमा २० हजारभन्दा बढी सपुतले आफ्नो ज्यान आहुति दिएका छन् । यी सहिदले दिएको तातो रगतको मूल्याङ्कन हुन नसकेकै कारण सहिदको अपमान भइरहेको छ । सहिदको आत्माले धिक्कारिरहेको छ । राज्यबाट माघ १६ मा दिने सार्वजनिक बिदा किन कटौती भएको छ । यो सहिदको अपमान होइन र ? यही अवस्था विद्यमान रहे सहिदको त्याग, तपस्या र देन इतिहासका पानामा मात्र सीमित नहोला भन्न सकिन्न । सहिदले देखाएको मार्गलाई दलले बेवास्ता गरेकै कारण परिवर्तन संस्थागत हुन सकिरहेको छैन । समयमै चेतना भया !