नुवाकोट र रसुवामा दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालन

  • त्रिशूली प्रवाह
  • १७ फाल्गुन २०८०, बिहीबार १२:४७

विदुर, नुवाकोटका १२ पालिकाका ८८ वडाका दुई सय ८१ स्वास्थ्य केन्द्रमा दादुरा–रुबेला रोगविरूद्ध खोप अभियान जारी रहेको छ । खोप अभियान फागुन १४ गते सोमबारबाट सुरु भई १८ गतेसम्म सञ्चालन हुनेछ ।

जिल्लास्तरीय खोप अभियानको शुभारम्भ सोमबार मातृशिशु सेवा केन्द्र, त्रिशूली अस्पतालबाट र १२ वटै पालिकामा पालिकाका प्रमुख/उपप्रमुखसहित जनप्रतिनिधिको उपस्थितिमा शुभारम्भ भएको थियो । खोप लगाउन पाँच सय ५२ जना स्वयम्सेवक परिचालन भएका छन् । तीन सय ५० जना स्वास्थ्यकर्मी प्रत्यक्ष/अप्रत्यक्ष रूपमा खोप अभियानमा सहभागी भएको स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए । अभियानमा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइनेछ । दादुरा–रुबेला रोगको निश्चित औषधोपचार नभएको बताइएको छ । यो अभियानमा नुवाकोटका करिब १८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको कार्यालय प्रमुख अधिकारीले बताए । पाँच वर्षमुनिका बालबालिकाको नियमित खोप छुटेको रहेछ भने कार्ड हेरेर लगाइदिने व्यवस्थासमेत रहेको कार्यालयले जानकारी दिएको छ । अलि छोटो समयमै दादुरा रोग, मिजल्स भाइरसबाट हुने अति छोटो समयमै सर्ने सक्रमक रोग हो । रुबेला रोग रुबेला भाइरसबाट हुने दादुराजस्तै देखिने सङ्क्रामक रोग हो । यो रोग सामान्यतया पाँच वर्षमुनिका बालबालिकामा धेरै हुने गरेको छ र छिट्टै फैलिएर महामारी हुन सक्ने भएकाले खोप अभियान सञ्चालन गरिएको जानकारी कार्यालयले दिएको छ । यो रोगको सङ्क्रमण भएका व्यक्तिको नाक तथा घाँटीमा रहेर वृद्धि हुने र सासनली एवम् अरू भित्री अङ्गमा सङ्क्रमण गर्दछ ।

नुवाकोटमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सोमबारदेखि सुरु भएको छ । विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले खोप तथा खोप सामग्री स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरी अभियानको शुभारम्भ गरेकी हुन् । सो कार्यक्रममा दादुरा–रुबेला रोग उन्मूलन गर्ने सरकारको अभियानमा सहयोग गर्न लक्षित उमेर समूहका बालबालिकालाई नछुटाई खोप लगाउन विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले आग्रह गरिन् । सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । खोप कार्यक्रम फागुन १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए । त्यसैगरी, रसुवामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई फागुन १६ देखि १९ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप लगाउन सुरु भएको छ । खोप लगाउने अभियानअन्तर्गत जिल्लाका तीन हजार पाँच सय बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ । स्वास्थ्य कार्यालय रसुवाले खोप अभियानअन्तर्गत रसुवा अस्पतालमा एउटा र पाँचवटै पालिकामा रहेका ३४ केन्द्रमार्फत ३५ स्वास्थ्य स्वयम्सेविका परिचालन गरी बालबालिकालाई खोप लगाउन सुरु गरेको स्वास्थ्य कार्यालयका प्रमुख भीमसागर गुरागाईंले जानकारी दिए । लक्षित उमेरका बालबालिकालाई खोप लगाएर दादुरा तथा रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगबाट सङ्क्रमण हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको उनले बताए ।

सन् २०२६ सम्ममा दादुरा–रुबेला रोग निवारण गर्न सरकारले प्रतिबद्धता गरेको थियो । नेपालभरि गत आर्थिक वर्षमा एक हजार तीन सय ५० बालबालिकामा दादुरा–रुबेला रोग देखिए पनि रसुवामा हालसम्म सङ्क्रमित नभेटिएको दाबी कार्यालयले गरेको छ । बागमती प्रदेशमा नुवाकोटबाहेक सबै जिल्लामा पूर्ण खोप घोषणा भइसकेको छ । दादुरा–रुबेला खोप नलगाएमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, निमोनिया हुने, इन्सेफलाइटिक्स हुने, कम्पन्न हुने तथा बालबालिकाको मृत्युसमेत हुन सक्ने भएकाले नियमित रूपमा खोप लगाउनुका साथै छुटेका बालबालिकालाई समेत अनिवार्य खोप लगाउन स्वास्थ्य कार्यालय रसुवाले आग्रह गरेको छ ।