बेलकोटगढीको प्रशासनिक भवन निर्माण सुरु

  • त्रिशूली प्रवाह
  • २९ चैत्र २०८०, बिहीबार १४:५१

बेलकोटगढी, नुवाकोटका १२ वटा पालिकामध्ये बेलकोटगढी नगरपालिकाले गत साता प्रशासनिक भवन निर्माण कार्य शुभारम्भ गरेको छ । जिल्लाका नौवटा पालिकामध्ये प्रायले भवन निर्माण गरिसकेका छन् भने केहीको निर्माणाधीन अवस्थामा रहेको छ ।

विदुर नगरपालिका र तारकेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणाधीन अवस्थामा रहेका छन् भने म्यागङ गाउँपालिका भवन निर्माण सकेर कार्यालय सार्ने र उद्घाटन गर्ने तयारीमा छ । ककनी, तादी, दुप्चेश्वर, शिवपुरी, पञ्चकन्या, किस्पाङको भवन निर्माण सम्पन्न भइसकेर आफ्नै भवनबाट कार्यालय सञ्चालनमा रहेको छ । सूर्यगढी गाउँपालिकाले भवन निर्माण गर्ने जग्गा टुङ्गो लगाएर निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढाएको छ भने लिखु गाउँपालिकाले अहिलेसम्म भवन बनाउने जग्गा पाएको छैन ।

बेलकोटगढी नगरपालिकाको निर्माण हुन लागेको प्रमुख प्रशासकीय भवनको चैत १८ गते आइतबार नगरप्रमुख जगतबहादुर गुरुङ र उपप्रमुख शिवप्रसाद दाहालले वडा नम्बर ९ बाघखोरमा संयुक्त रूपमा शिलान्यास गरेका थिए । राज्य पुनर्संरचनापछि बनेको नुवाकोटको कान्छो नगरपालिकाले सुरुदेखि नै अस्थायी टहराबाट सेवा प्रवाह गर्दै आइरहेको छ । नगरपालिकाले सरकारबाट प्राप्त २६ रोपनी जग्गामा भवन बनाउन कानुनी प्रक्रिया पूरा गरेर निर्माण थालिएको नगरप्रमुख गुरुङले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागि माथिल्लो तहका सरकारबाट प्राप्त अनुदानसहित नगरपालिकाबाट आवश्यक बजेट सुनिश्चित गरिएको छ । नयाँ भवन निर्माण गर्न १२ करोड ७४ लाख रुपैयाँमा निर्माण व्यवसायी (अम्बे माँ÷न्युटेक र शुभलक्ष्मी जेभी) ले जिम्मेवारी पाएको छ । भवन निर्माणका लागि दुई वर्ष दिइएको समय–सीमा वि.सं. ०८० पुस १९ बाट नै प्रारम्भ भएकाले तोकिएको मितिभित्र सम्पन्न गर्न उपप्रमुख शिवप्रसाद दाहालले आग्रह गरेका छन् । ‘भवन निर्माणका लागि आवश्यक सहयोग, समन्वय, बजेट विनियोजनलगायतमा कुनै कमी हुन दिँदैनौँ,’ उपप्रमुख दाहालले भने, ‘तोकिएको अवधिभित्र गुणस्तरीय मापदण्ड कायम गरेर काम सम्पन्न गर्न निर्माण व्यवसायी जिम्मेवार हुुनुपर्छ ।’ नयाँ बन्ने भवनमा नगरपालिकाको प्रशासनिक कार्य सञ्चालनका लागि सुविधासम्पन्न तीनतले भवनमा चालीसभन्दा बढी कोठा हुने उल्लेख छ ।

बेलकोटगढी नगरपालिका स्थापनाको समयदेखि हालसम्म नै टहरा (प्रिफ्याक भवन)बाट सेवा सञ्चालन भइरहेको छ । उक्त टहरा पनि ०७२ को विनाशकारी भूकम्पपश्चात् आगामी दिनमा हुन सक्ने ‘विपत्को कारण जोखिममा परेका परिवारलाई पुनस्र्थापना गर्ने’ उद्देश्यले निर्माण गरिएको थियो । साबिकका विभिन्न ६ वटा गाविस मिलेर बनेको बेलकोटगढी नगरपालिका भक्तपुर जिल्लाभन्दा ठूलो एक सय ५५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । ग्रामीण नगरपालिकाको रूपमा स्थापित बेलकोटगढीमा निकै पछि परेको विकासका पूर्वाधार राज्य पुनर्संरचनापश्चात् क्रमशः अघि बढ्ने क्रममा रहेको छ । अब बन्ने प्रशासनिक भवन पार्किङसहितको चार तला रहनेछ । भवन आगामी २४ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी नगरपालिकाले अम्बे माँ, न्युटेक र शुभलक्ष्मी जेभी काठमाडौंसँग गत मङ्सिर १३ गते ठेक्का सम्झौता गरेको थियो । भवन शिलान्यास गर्दै नगरप्रमुख गुरुङले भवन निर्माणपछि नगरपालिकाका सबै शाखा एउटै भवनमा रहने र प्रदान गरिने सेवासमेत प्रभावकारी हुने बताए ।