डढेलो नियन्त्रण प्रभावकारी हुन सकेन

  • त्रिशूली प्रवाह
  • ६ बैशाख २०८१, बिहीबार १५:५९

देशभरको जङ्गलमा अहिले डढेलो फैलिँदो अवस्थामा छ । डढेलोबाट निस्केको धुँवाको कारण वायु प्रदूषण हुँदा जनजीवन असहज बनिरहेको छ । डढेलोले देशभरि क्षति पु¥याइरहेको छ । डढेलोकै कारण भौतिक सम्पत्तिका साथै पशुपक्षीसमेत जलेर नष्ट भइरहेका छन् । डढेलोले वन मात्रै होइन, मन पनि जलाएको छ । अहिले देशभरि तीन सय ५० भन्दा बढी स्थानको सामुदायिक वनमा डढेलो लागेको छ । डढेलो नियन्त्रणका लागि प्रयास भइरहेका छन् । वर्षेनी डढेलो लाग्ने क्रम बढिरहेको छ । डढेलो चट्याङबाट सल्केको नभई आमउपभोक्ताले जानी–जानी सल्काएका समाचार आइरहेका छन् । डढेलो नियन्त्रणमा सरकारी, गैरसरकारी सङ्घसंस्था, स्थानीयवासी खटिए पनि डढेलो नियन्त्रणभन्दा अहिले फैलिँदो अवस्थामा रहेको छ ।

आम उपभोक्ताले जङ्गलमा आगो लगाउँदा त्यसले नयाँ पालुवा पलाउने र घाँस काट्न सजिलो हुने भन्ने गलत सोचका कारण त्यसो गर्दै आएको पाइन्छ । नेपालमा ६५ प्रतिशत वन डढेलो व्यक्तिले जानी–जानी लगाउने, ३० प्रतिशत अचानक दुर्घटनाबाट वनमा आगलागी हुने र पाँच प्रतिशत स्रोत थाहा नभएकोबाट वनमा आगलागी हुने गरेको तथ्याङ्क बाहिर आएको छ । ८० प्रतिशतभन्दा बढी आगलागी फागुनदेखि वैशाखसम्म हुने गरेको छ । यो तथ्य थाहा पाउँदापाउँदै पनि यो अवधिमा विशेष सतर्कता अपनाउन नसक्नु र डढेलो रोकथामका उचित अभियान सञ्चालन गर्न नसक्नु स्थानीय सरकारको कमजोरी हो भन्न सकिन्छ । सुक्खा बनेको वन क्षेत्र समुदायकै असावधानी र निहित स्वार्थको कारण डढेलो लाग्ने क्रम बढेको छ । स्थानीय, प्रदेश र केन्द्र सरकारसँग मिलेर डढेलो नियन्त्रणका लागि दमकललगायत उपकरण र जनशक्तिको व्यवस्थापन गर्न जति ढिलो हुँदा यसले पु¥याउने क्षति त्यति नै बढिरहेको छ ।

नेपालमा करिब ४५ प्रतिशत भूभाग वन क्षेत्रले ढाकेको छ । त्यसको संरक्षणका लागि पनि ठूलो चुनौतीका रूपमा वनमा डढेलो देखिएको छ । त्यसको नियन्त्रण गर्न तीन तहका सरकारले बर्सेनि ठूलो जनधन प्रयोग गरिरहेका छन् । तैपनि त्यो प्रभावकारी हुन सकेको छैन । डढेलो सल्केको बेलामा मात्र योजना बन्ने, डढेलो निभेपछि अर्को वर्ष पनि डढेलो लाग्छ कि भन्नेतर्फ सरोकारवालाले ध्यान पु¥याउन नसक्दा बर्सेनि हिउँदमा डढेलोको क्षति व्यहोर्नुपरेको छ । यसतर्फ सरोकारवालाले ध्यान पुर्याउन नसक्दा बर्सेनि हिउँद लागेसँगै डढेलो फैलनु सामान्य भइसकेको छ । अब डढेलो नलाग्ने वातावरण बनाउन आवश्यक छ । डढेलो लाग्न नदिनेतर्फ स्थानीय समुदाय जिम्मेवार नभएसम्म सरकारको एक्लो प्रयासले सम्भव हुँदैन । विशेषतः डढेलो लाग्न सक्ने विषयमा जनचेतना फैलाउने काममा सङ्घीय, प्रदेशदेखि स्थानीय सरकारसम्म सबै निकायको समन्वयात्मक किसिमले अघि बढ्नुपर्छ । सरकारले वन डढेलो नियन्त्रण गर्न छुट्टै निकाय गठन गरेर दक्ष जनशक्ति निर्माण गर्नुपर्ने र जनचेतनालाई फैलाउन सकेमा डढेलो नियन्त्रण प्रभावकारी हुन सक्छ ।