नेपालीको जीवनस्तर सुधारोन्मुख

  • त्रिशूली प्रवाह
  • २० बैशाख २०८१, बिहीबार १२:०५

केही महिनाअघि ‘नेपाल जीवनस्तर सर्वेक्षण – २०८०’ ले नेपालीको जीवनस्तरमा ठूलै सुधार आएको प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदनअनुसार वार्षिक खर्च गर्न सक्ने क्षमता, सम्पत्तिको स्वामित्व, उपयोग गरिने वस्तु, भौतिक पूर्वाधार विकासजस्ता क्षेत्रमा सुधार आएको छ ।

बाह्र वर्षअघिका तुलनामा गरिब नागरिकको समेत प्रतिव्यक्ति खर्च औसतमा ६६ प्रतिशतले बढेको उक्त तथ्याङ्कमा उल्लेख छ । बिजुली उपभोग गर्ने प्रतिशत ९४ पुगेको छ जब कि १२ वर्षअघि यो प्रतिशत ७० मात्रै थियो । उपभोग्य वस्तुमा खर्च गर्ने क्षमतामा समेत सुधार देखिएको छ । विलासिताका सामग्री मानिने कार प्रयोग गर्नेको सङ्ख्या ठूलो प्रतिशतले बढेको छ । १२ वर्षअघि ०.०८ प्रतिशत नागरिकसँग कार रहेकामा अहिले बढेर १.८२ प्रतिशतसँग रहेको प्रतिवेदनले देखाएको छ । मोटरसाइकल प्रयोग गर्नेको सङ्ख्या अढाई गुणाले बढेर २५.२५ प्रतिशत पुगेको छ । ०६८ मा ९.१८ प्रतिशतसँग मोटरसाइकल थियो ।

सर्वेक्षणको प्रतिवेदनले अरू मानकमा पनि नेपालीको जीवनस्तर उकासिएको देखाएको छ । यसरी अङ्कमै देखिने गरी नेपालीको जीवनस्तर सुधार हुनाको पछाडि अनेक तर्क र विश्लेषण गरिन सक्छ । विशेषगरी वैदेशिक रोजगारकै कारणले नेपालीको जीवनस्तर सुधार भएको तर्क भए पनि बितेको १२ वर्ष नेपालीले कठिन दिनको सामना गर्नुपरेको बिर्सन मिल्दैन । ०७२ को महाभूकम्प, त्यति नै क्षति पुग्ने गरी भारतले लगाएको नाकाबन्दीले नेपालको अर्थ–सामाजिक परिस्थिति बिथोलेको थियो । त्यसपछि कोरोना महामारी, रुस–युक्रेन युद्धको कारणले नेपालीको अर्थतन्त्रमा नराम्रो असर गरेको थियो । कठिन परिस्थितिबीच पनि नेपालीको जीवनस्तरमा आएको सुधार असाध्यै खुसीको कुरा हो । अझ नेपालीमा सत्ताप्रतिको निगरानी नतिजामै देखिने गरी यस अवधिमा आएको छ । ०७४ का आमचुनावमा वाम गठबन्धनलाई विशाल मत दिएर राजनीतिक स्थिरता रोजेका नेपाली मतदाताले गत वर्षको चुनावमा राजधानी रहेको सहर काठमाडौं, पूर्वको ठूलो सहर धरान उपमहानगर र सुदूरपश्चिमको अर्को सहर धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवारलाई रोज्दा दलभन्दा बाहेकका उम्मेदवार बनेकाहरूले नगर प्रमुखमा जिते । यो आफैंमा राजनीतिक सन्देश थियो । यस्ता अरू मानकमा पनि नेपालीको जीवनस्तरमा सुधार भएको आमअनुभूति गर्न सकिन्थ्यो । त्यसलाई पुष्टि गर्ने काम जीवनस्तर सुधार प्रतिवेदनले देखाएको छ । यसका पछाडि अरू हजार कारण भए पनि बहुलवादी समाजको खुलापनलाई संविधानले सम्मान गर्दा निस्किएको नतिजा पनि भुल्न सकिँदैन किनकि हरेक नागरिकसँग केही गर्न सक्ने क्षमता हुन्छ, त्यसको उपयोग गर्न सक्ने राजनीतिक परिवेश तयार गर्दा नतिजा निस्कन्छ ।

आगामी दिनमा हिँड्नुपर्ने बाटो पनि त्यही हो । बन्धन होइन, स्वतन्त्रतामा शक्ति र विकास दुवै सम्भव छ । विश्वका समृद्धशाली अर्थतन्त्रको नेतृत्व गरिरहेका देशहरूले स्वतन्त्रताको भरपूर उपयोग गरेर प्रगति गरेका छन् । नेपालमा भने एकपछि अर्को राजनीतिक व्यवस्थाको माग गर्ने परिस्थितिलाई समयमै निर्मूल पार्न जरुरी छ । गणतान्त्रिक व्यवस्था राम्रो भए पनि व्यवस्थाका सञ्चालकमा दीर्घ सोच र भ्रष्टाचार निर्मूल पार्ने योजनाबिना समृद्धि सम्भव छैन ।