चार दशकपछि किन्ताङ खोलाको पुल सञ्चालन

उत्तरी धादिङका चार पालिकावासीको जीवनस्तरमा सुधार

  • त्रिशूली प्रवाह
  • २० बैशाख २०८१, बिहीबार १२:१२
  • शरण उत्सुक सापकोटा

धादिङ, उत्तरी धादिङका अधिकांश स्थानलाई सदरमुकामसँग जोड्ने किन्ताङफेदीको किन्ताङ खोलामा चाइनिज ब्रिज चार दशकपछि निर्माण सम्पन्न भएर आइतबार उद्घाटन भएको छ ।

खनियाँबास-४ किन्ताङफेदीमा निर्माण भएको पुलको प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारी र प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त रूपमा उद्घाटन गरेपछि सर्वसाधारण र यातायातका साधनका लागि आवतजावत खुला गरिएको छ । उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय बुद्धिमान तामाङ र बिना लामा, प्रदेश सभा सदस्यद्वय डम्बरबहादुर तामाङ र गोविन्दबहादुर लम्साल, पूर्वराज्यमन्त्री दिलमान पाख्रिन, जनप्रतिनिधि, नेपाली सेनाका रथीवृन्द, अधिकृतलगायत स्थानीयवासीको सहभागिता थियो । उत्तरी धादिङलाई जोड्ने दामन पाख्रिनमार्गको काम सुरु भएको चार दशक भइसक्दा पनि अझै निर्माण भएको छैन । दामन पाख्रिनमार्गमा पर्ने किन्ताङ खोलाको किन्ताङफेदीमा पुल बनेपछि हिउँद–बर्खा उत्तरी धादिङमा यातायात सञ्चालन गर्न सहज हुने भएको छ ।

उत्तरी धादिङको जीवनरेखा मानिने दामन पाख्रिनमार्गको किन्ताङ खोलामा सडक खन्न थालिएको करिब चार दशकपछि पक्की पुल निर्माण गरिएको हो । उत्तरी धादिङलाई जिल्ला सदरमुकाम जोड्ने यो नै मुख्यमार्ग भएकाले पुल निर्माण गर्न चासो दिएर लागेको सांसद अधिकारीले बताए । उनका अनुसार पुल निर्माण नेपाली सेनाको सहयोगबाट सम्भव भयो, जसले गर्दा यहाँका नागरिकको आवतजावत र आर्थिक विकासमा निकै टेवा पुग्छ । किन्ताङफेदीमा पुल नहुँदा वर्षका पाँच महिना सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द हुने गथ्र्यो । उत्तरी धादिङका रुबीभ्याली, गंगाजमुना, खनियाँबास र नेत्रावती–डबजोङ गाउँपालिकालाई जोड्ने एक सय ४० फिट लम्बाइ, ४.२ मिटर चौडाइको पुल निर्माण भएको खनियाँबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए । साधारण मार्ग खोलिएको झन्डै चार दशकपछि अहिले किन्ताङ खोलामा चाइनिज ब्रिज निर्माण भएपछि धादिङको उत्तरी क्षेत्रका बासिन्दा खुसी भएका छन् ।

पुल बनेपछि उत्तरी धादिङवासीको जीवन फेरिने खनियाँबासका प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठ बताउँछन् । उत्तरी धादिङको जीवनस्तरमा सुधार ल्याउन पुल निर्माणका लागि रु. २५ लाख आर्थिक सहयोग गरिएको नेत्रावती–डबजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताए । पुल नहुँदा आपत्कालीन समयमा ठूलो समस्या व्यहोर्नुपरेको रिजालको भनाइ छ । पुल बनेपछि उत्तरी धादिङका जनताको मुक्तिका दिन सुरु हुने खनियाँबासका उपाध्यक्ष सेक्केमान तामाङ बताउँछन् । जनजीवन सहज हुने र उत्पादित कृषिजन्य उत्पादन बजारसम्म लैजान सकिने हुँदा जीवनस्तरमा सुधार आउने उनको विश्वास छ । किन्ताङ फेदीमा निर्माण भएको चाइनिज ब्रिजका दुवै भागमा फुटपाथ रहनेछ । नेपाल विद्युत् प्राधिकरण, त्रिशूली थ्री ‘ए’ र थ्री ‘बी’को स्वामित्वमा रहेको पहिरेबेंसीमा नयाँ पुल बनेपछि बेवारिस बनेको बेलिब्रिज ल्याएर अहिले किन्ताङफेदीमा जडान गरिएको हो ।