सरसफाई अभियानको लागि त्रिशूली नदीको स्थलगत अवलोकन र अनुगमन

  • त्रिशूली प्रवाह
  • १७ पुष २०७६, बिहीबार १४:०७

बेत्रावती,  रसुवा, नुवाकोट र धादिङ भएर बग्ने त्रिशूली नदीको सरसफाई अभियान सञ्चालन गर्न नुवाकोटका सरोकारवालाले शुक्रबार बेत्रावतीमा त्रिशूली नदीको स्थलगत अवलोकन र अनुगमन गरेका छन् । स्थलगत अवलोकन र अनुगमन गरेर बेत्रावतीका स्थानीयसँग नदीलाई स्वच्छ र सफा राख्न सुझाव समेत संकलन गरेका छन् ।

त्रिशूली नदी सरसफाई अभियान सञ्चालन गर्न जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङको संयोजकत्वमा गठन भएको ७४ सदस्यीय मूल समितिले शुक्रबार विदुर नगरपालिका वडा नं.१० को बेत्रावतीमा छलफल कार्यक्रम गरेर सुझाव संकलन गरेको थियो । त्रिशूली नदीलाई स्वच्छ, सफा राख्न जनचेतना अभिवृद्धि गरी विशेष सरसफाई अभियान सञ्चालन गर्न लागिएको छ । रसुवा र नुवाकोटको सिमाना बेत्रावतीदेखि त्रिशूली नदी विशेष सरसफाई अभियान सञ्चालनको लागि जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङको सभापतित्वमा शुक्रबार भएको कार्यक्रममा उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्साल, उत्तरगया गाउँपालिका वडा नं.५ का अध्यक्ष ईश्वर थापा, उत्तरगया क्षेत्र विकास समितिका ईश्वरलाल श्रेष्ठले त्रिशूली नदीलाई स्वच्छ र सफा राख्न सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

सो कार्यक्रममा विदुर नगरपालिकाका मेयर तथा त्रिशूली नदी सरसफाई अभियानका सहसंयोजक सञ्जु पण्डितले नदीमा फोहोर फाल्नु अपराध हो भन्नुभएको छ । उहाँले फोहोर संकलन गर्न बाल्टिन वितरण गर्ने र फोहोर उठाउन गाडी हप्ताको दुई पटक पठाउने बताउनु भएको छ । अहिलेदेखी नै नदी सरसफाईमा ध्यान नदिने हो भने भविष्यमा विकराल समस्या आउने उहाँले बताउनु भयो । छलफल कार्यक्रममा विदुर नगरपालिका वडा नं.१० का अध्यक्ष गणेश नेपालले बेत्रावती क्षेत्रको सरसफाईमा वडाले विशेष चासो दिईरहेको बताउनु भयो । टोल समितिमार्फत वडाबासीलाई सरसफाई अभियानमा सहभागी गराई नदीमा फोहोर फाल्न र दिसा पिसाव सिधैं मिसाउन निषेध गरिने बताउनु भयो ।

कार्यक्रमको उद्देश्य र स्थानीयको जिम्मेवारीको बारेमा जिल्ला समन्वय समितिका प्रमुख तथा कार्यक्रमका सभापति सन्तमान तामाङले प्रस्टाउनु भएको थियो । उहाँले उत्तरगयाधामदेखि कोल्फु खोलासम्मको त्रिशूली नदी क्षेत्रको सरसफाई गर्ने र नदी उत्खनन्मा रोक लगाउने बताउनु भयो । मानव सिर्जित समस्याको कारण नदी दिनप्रति दिन प्रदुषित हुँदै गईरहेको उहाँले बताउनु भयो । कार्यक्रममा विकास तथा वातावरण संरक्षण केन्द्र नेपाल (डिकोन) का निर्देशक चोकराज शाक्यले र उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ईन्द्रबहादुर पण्डितले त्रिशूली नदीको पवित्रतालाई जोगाई राख्न तटीय क्षेत्रका बासिन्दाले ऐक्यबद्धता जनाउनुपर्ने बताएका थिए । छलफल र सुझाव संकलनपछि बेत्रावती क्षेत्रको नदी किनारको कार्यक्रमको सहभागीले अवलोकन गर्नुभएको थियो ।