एम्बुलेन्स खरिद तथा खेलाडी कल्याण कोष स्थापनार्थ महायज्ञ सञ्चालन

  • त्रिशूली प्रवाह
  • १३ बैशाख २०८१, बिहीबार १४:०९

पिपलटार, एम्बुलेन्स खरिद गर्न तथा फुटबल खेलाडी कल्याण कोष स्थापना गर्न पिपलटार फुटबल क्लब विदुर नगरपालिका–५ पिपलटारको आयोजनामा आइतबारदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भइरहेको छ । महायज्ञ पिपलटारको फुटसल खेलमैदानमा वैशाख ९ देखि १७ गतेसम्म सञ्चालन हुनेछ ।

महायज्ञको उद्घाटन विदुर नगरपालिकाका मेयर राजनलाल श्रेष्ठले गरेका थिए । उद्घाटनअघि स्थानीयको सहभागितामा कलश शोभायात्रा विभिन्न बाजा–गाजासहित झाँक्री तथा ¥यालीले मन्दिर तथा नगर परिक्रमा गरेको थियो । नगर परिक्रमा गराई जल तथा फूलपातीले यज्ञ मण्डपमा देवी–देवताको प्रतिमूर्ति स्थापना गराई श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव २०८१ उद्घाटन भएको थियो । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटी, विदुर नगरपालिका–१ का अध्यक्ष लेनिन रञ्जित, वडा नम्बर २ का अध्यक्ष दीपक कायस्थ, वडा नम्बर ४ का अध्यक्ष नीलमबाबु ढुङ्गे, वडा नम्बर ५ का अध्यक्ष लीलानाथ न्यौपानेलगायत जनप्रतिनिधि, स्थानीय समाजसेवी, बुद्धिजीवी, महिला तथा सज्जन भद्रभलाद्मीको सहभागिता रहेको थियो । महायज्ञको संरक्षकमा विदुर नगरपालिका, सहसंरक्षकमा विदुर नगरपालिका वडा नम्बर ५ कार्यालय रहेका छन् । महायज्ञका कथा शिरोमणि पण्डित दीपकप्रसाद पौडेलले दैनिक विभिन्न देवलीला, जनचेतनामूलक नाटक प्रस्तुतिसहित सङ्गीतमय कथा प्रवचन भइरहेको आयोजक पिपलटार फुटबल क्लबका अध्यक्ष उद्धव पनेरूले जानकारी दिए ।

‘चुकेकै छौँ कति हामी, चुक्नेछौँ अझै कति । अर्पाैँ ईश्वरमा केही, कति घट्दैन ती सम्पत्ति’ भन्ने नाराका साथ सुरु भइरहेको धार्मिक महोत्सवमा सहयोग गर्ने दातालाई सम्मान गर्ने कार्यक्रम रहेको छ । महायज्ञ अवधिभर सामूहिक व्रतबन्ध, तुलादान, चौरासी पूजा, गुन्युचोलीसहित अन्य शुभकार्य गर्न सकिने व्यवस्थासमेत गरेको आयोजकले जानकारी दिएको छ । महायज्ञमा दैनिक सहभागीको सङ्ख्या बढिरहेको छ ।