युवा रेडक्रस सर्कल गोष्ठी सम्पन्न

  • त्रिशूली प्रवाह
  • १६ माघ २०७६, बिहीबार १४:४६

देविघाट, नुवाकोट जिल्लास्तरीय २३औँ जुनियर/युवा रेडक्रस सर्कल तथा शिक्षक नायक गोष्ठी ६ बुँदे घोषाणपत्र जारी गर्दै शनिबार सम्पन्न भएकोे छ । विदुर नगरपालिका वडा नंं.–५ देवीघाट स्थित सहिद जगतप्रकाशजंग शाह संस्कृति माध्यामिक विद्यालयमा दुई दिनसम्म चलेको गोष्ठीले ६ बुँदे घोषणापत्र जारी गर्दै आगामी वर्षको गोष्ठी कल्याणी मावि जिलिङले सञ्चालने गर्ने जिम्मेवारी दिएको छ ।

जुनियर/युवा रेडक्रस सर्कलले जीवनरक्षा तथा स्वास्थ सुरक्षा सम्बन्धि मानवीय सेवाको साथै जनचेतनाको अभिबृद्धि, रेडक्रसको सिद्धान्त र मानवीय मूल्यको प्रर्वद्धन, अन्तराष्ट्रिय कानूनको प्रचार, प्रकोप महामारीको न्युनिकरण,  त्यसको पूर्वतयारी, उद्धार र राहत वितरणमा सहयोगलगायतका मानवीय सेवाका कार्यलाई अग्रस्थानमा रहेर सञ्चालनको लागि सक्रिय भूमिका निर्वाह गर्ने देवीघाट घोषणा पत्रमा उल्लेख गरिएको छ ।

गोष्ठीको समापन कार्यक्रममा रेडक्रस नुवाकोट शाखा सभापति सुरथबहादुर चित्रकारले जुनियर रेडक्रस सर्कल रेडक्रसको अभिन्न अङ्गको रुपमा रहेर संगठन र सहभागिता प्रर्वद्धनमा पु¥याउदै आएको योगदानलाई आगामी दिनमा थप जिवन्त बनाएर अघि बढ्नको लागि जारी गरेको घोषणापत्र एंव प्रतिर्वद्धता पत्रको कार्यान्वयन पूरा गर्न आग्रह गर्नुभएको छ ।

भावी योजना तथा प्रस्तावित कार्यको रुपमा कार्य सञ्चालनको अबस्था एंव अनुगमन गर्नको लागि श्रीकृष्ण मावि तारुकाको शिक्षक नायक अच्युतराज ढुङ्गेलको संयोजकमा प्रस्ताव छानबिन समिति समेत गठन गरिएको छ । गोष्ठीको आतिथ्यता गरेको जगतप्रकाशजंग शाह सँस्कृति माध्यामिक विद्यालयका प्रधानध्यापक मञ्जु चित्रकारको अनुसार जिल्लाको विभिन्न स्थानमा रहेका ६६ विद्यालयले गोष्ठिमा सहभागिता जनाएका थिए ।