रसुवामा बैंक तथा बित्तीय संस्थाको भीड

  • त्रिशूली प्रवाह
  • ११ बैशाख २०७७, बिहीबार ०९:१४

रसुवामा बैंक तथा बित्तीय संस्थाको भीडधुन्चे, रसुवागढी नाका २०७२ सञ्चालनमा आएपछि रसुवा जिल्ला बैंक तथा बित्तीय संस्थाको रोजाईमा परेको छ । बैंक तथा बित्तीय संस्था खुल्नेक्रम रसुवामा अहिले बढेको छ । ग्लोबल आईएमई बैंक धुन्चे शाखाका प्रमुख ब्रजेश अर्यालका अनुसार जिल्लाको बेत्रावतीबजारदेखि सीमावर्ती क्षेत्र टिमुरेसम्म आर्थिक कारोबार गर्ने बैंक एंव बित्तीय संस्थाको सङ्ख्या २७ पुगेको छ ।

ग्लोबल आईएमईको शाखा चारवटा, प्रभु बैंकको तीन, नेपाल बङ्गलादेश बैंकको दुई, सानीमा बैंकको एक, एनएमबी बैंकको दुईवटा रहेको छ । यसैगरी, बैंक अफ काठमाडौँ, इन्भेष्टमेन्ट, माछापुच्छ्रे, सनराईज बैंकको शाखा एक–एक वटा सञ्चालनमा रहेको छ । यसैगरी, रसुवामा सञ्चालनमा रहेका अन्य बैंकमा आई.सी.एफ.सी फाईनान्स, प्राइम बैंक, लुम्बिनी–विकास बैंक, ज्योती विकास बैंक, हिमालयन बैंक, मेगा बैंक, सिद्धार्थ बैंक, एनआईसी बैंकको पनि एक–एक वटा शाखा सञ्चालनमा रहेको छ । सरकारी स्वामित्वमा रहेको नेपाल बैंक, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकको समेत शाखा रहेको छ ।

जिल्लाको पाँचवटा स्थानीयतह मध्ये कुमारी बैंकले आमाछोदिङ्मो गाउँपालिकाको चिलिमेको थाम्बुचेतमा, ग्लोबल आइएमईले नौकुण्ड गाउँपालिकाको पारच्याङ र प्रभु बैंकले गोसाइँकुण्ड गाउँपालिकाको लाङटाङको क्याङ्जेनमा शाखा सञ्चालनमा रहेको छ । अधिकांश बैंकको दैनिक कारोवार न्यून रहेका कारण प्रायःजसो बैंकले ऋण प्रवाहतर्फ बढी केन्द्रित भएर किसानको जग्गाको धितो जमानतमा ब्याजी ऋणलाई प्रथामिकता दिन थालेका छन् । अहिले सञ्चालनमा रहेका प्राय बैंक संस्था बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रुवेंशी र सीमावर्ती क्षेत्र टिमुरेमा केन्द्रित रहेका छन् । विभिन्न पेशाबाट ग्रामीण किसानको आयवृद्धि गराउन बैंकले ऋण प्रवाह गर्ने क्रममा धितोबन्धक गर्ने किसानको सङ्ख्या ४ सय पुगेको जिल्ला मालपोत कार्यालय रसुवाले जानकारी दिएको छ ।