अध्यक्ष कप भलिबलको उपाधि हाकु युवा सोसाइटीको पोल्टामा

  • त्रिशूली प्रवाह
  • १३ बैशाख २०८१, बिहीबार १४:०५

धुन्चे, वैशाख ४ देखि ७ गतेसम्म सञ्चालन भएको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि हाकु युवा सोसाइटीको पोल्टामा परेको छ ।

जिल्लाका १७ टिमले भागले लिएको उक्त प्रतियोगितामा १६ टिमलाई पछि पार्दै हाकु युवा सोसाइटीको टिम विजेता बनेको छ । विजेता भएसँगै हाकुले दुई लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा एकीकृत नौकुण्ड समाज दोस्रो भएको छ । दोस्रो हुने टिम नौकुण्डले एक लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी, सो प्रतियोगितामा रिस्याङ भूमि प्रगतिशील युवा क्लब ठाँडे तेस्रो भएको छ । उक्त टिमले ५० हजार रुपैयाँसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । उक्त प्रतियोगितामा चौथो हुने टिमलाई २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । गोसाइँकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयको संयुक्त रूपमा भएको उक्त पुरुष भलिबल प्रतियोगिता गोसाइँकुण्ड गाउँपालिका तेस्रो गाउँपालिका अध्यक्ष कप, २९औँ वन्यजन्तु सप्ताह तथा १२औँ रेडपाण्ड ट्रफी २०८१ कार्यक्रम संयुक्त रूपमा वैशाख ४ गते कानुनमन्त्री पदम गिरीबाट उद्घाटन भएको थियो । उक्त प्रतियोगिता ७ गते फाइनल खेलको समापन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गरेका थिए ।

सो कार्यक्रममा रसुवाबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद इन्जिनियर मोहन आचार्यलगायतका उच्चपदस्थ व्यक्तिको उपस्थिति रहेको थियो । खेलमार्फत रेडपाण्डा जोगाउनुपर्छ र यो जिल्लाको चिनारी हो भन्ने सन्देश विश्वभर चिनाउन भलिबल खेलमार्फत सन्देश प्रवाह गरिएको गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । खेलसँगै आफ्नो संस्कृति झल्काउने गीत तथा नृत्यसमेत प्रस्तुत गरिएको थियो । शुक्रबार साँझ बृहत् कन्सर्ट भएको थियो । उक्त कन्सर्टमा चर्चित गायक प्रमोद खरेल र चर्चित गायिका अस्मिता अधिकारीसहित स्थानीय कलाकारले गीत तथा नृत्य प्रस्तु गरेका थिए ।