गुडनेवर्सले नुवाकोटलाई दिने पिसिआर मेसिन खरिदको प्रक्रियामा

  • त्रिशूली प्रवाह
  • १ श्रावण २०७७, बिहीबार १३:०१
Logo of trishuli prawaha

विदुर, जापनिज सहयोग नियोग (कोईका) को आर्थिक सहयोगमा गुडनेवर्स ईन्टरनेसनलले नुवाकोटको लागि स्वाब परिक्षण मेसिन उपलब्ध गराउन लागेको छ ।

मेसिन खरिदका लागि स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयमार्फत स्विकृती लिईसकेको गुडनेवर्स ईन्टरनेसनलले जनाएको छ । २०७२ सालको विनासकारी भूकम्पपछि जिल्ला अस्पताल त्रिशूलीको भौतिक संरचना र आवश्यक उपकरण उपलब्ध गराउने सहमती भएको थियो । हाल कोईकाले अस्पतालको ५० शैयाका लागि आवश्यक भौतिक संरचनाको निर्माण सम्पन्न गरिसकेको छ । अस्पतालको लागि आवश्यक उपकरण खरिदको लागि कोईकाले १६ करोड रुपैयाँ खर्च गर्ने जनाएको थियो । अहिले महामारीको रुपमा आएको कोरोना भाईरसको रोकथाम र नियन्त्रणको लागि कोईकाले नै पिसिआर मेसिन खरिद गरी उपलब्ध गराउने लागेको छ ।

जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठकले जिल्ला अस्पतालमा पिसिआर मेसिन उपलब्ध गराउन कोईका र गुडनेवर्स ईन्टरनेसनललाई पत्रचार गरेको थियो । संकट ब्यवस्थापन केन्द्रको निर्णय र पत्रचारको आधारमा कोईकाको आर्थिक सहयोगमा मेसिन उपलब्ध गराउन लागेको गुडनेवर्स ईन्टरनेसनलका प्रतिनिधी राम नरेसले जानकारी दिनुभयो । यससँगै नुवाकोटमा पिसिआर मेसिन सञ्चालनका लागि रसुवाले समेत सहयोग गर्ने भएको छ । रसुवाबाट निर्वाचित संघीय सांसद मोहन आचार्यले पुर्वाधार विकास कार्यक्रम अन्तर्गत बचत भएको बजेट रसुवाका स्थानीय तहमार्फत नुवाकोटमा पठाउने बताउनु भयो ।

रसुवामै पिसिआर मेसिन खरिदका लागि विनियोजन भएको बजेट नुवाकोटमा पठाउन लागेको हो । रसुवामा मात्रै पिसिआर मेसिन खरिद गर्दा सञ्चालनमा समस्या हुने भन्दै नुवाकोटको त्रिशूली अस्पतालमा पिसिआर सञ्चालन गर्ने बताईएको छ । नुवाकोट, रसुवा र धादिङ गरी तिन जिल्लालाई पायक पर्ने गरी नुवाकोटमा पिसिआर परिक्षण केन्द्र स्थापना गर्नको रसुवाले झण्डै ४६ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ । कोरोना भाईरसको प्रकोप बढेसँगै नुवाकोटका नागरिक समाजले पिसिआर मेसिन खरिद गर्न दबाव दिंदै आएको थियो । पिसिआर मेसिन उपलब्ध गराउनको लागि कागजी प्रक्रिया पूरा गरी खरिद प्रक्रियामा पुगेको गुडनेवर्स ईन्टरनेसनलले जनाएको छ । दैनिक ७६ जनाको स्वाब परिक्षण गनै सकिने मेसिन साउनको दोस्रो हप्ताभित्र जिल्ला अस्पताल त्रिशूलीमा आईसक्ने बताईएको छ ।