समुन्द्रटार-त्रिशूली-३ बी हब प्रसारणलाइन तथा सबस्टेसन उद्घाटन

  • त्रिशूली प्रवाह
  • २५ असार २०७८, शुक्रबार १३:१४

समुन्द्रटार, निर्माण सम्पन्न भएको समुन्द्रटार-त्रिशूली-३ बी हब १ सय ३२ केभी डबल प्रसारणलाइन र सबस्टेसनको प्रसारण लाइनको भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारबाट उद्घाटन गरे ।

       नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको समुन्द्रटार-त्रिशूली-३ बी हब १ सय ३२ केभी डबल प्रसारणलाइन र सबस्टेसनको निर्माण सम्पन्न भएपछि शनिबार उद्घाटन भएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारबाट सुरु भई किस्पाङ गाउँपालिकामा निर्माणाधीन त्रिशूली-३ हब सबस्टेसनसम्मको २६ किलोमिटर प्रसारणलाइन र १३२/३३ केभी समुन्द्रटार सबस्टेसन सम्पन्न भएको हो । २६ किलोमिटर प्रसारणलाइनमध्ये तीन किलोमिटर खण्ड मल्टिसर्किट छ । जसमध्ये दुई सर्किट लाइन जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको संयुक्त प्रवद्र्धनमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली-३ ‘बी’ आयोजनाले उपयोग गर्नेछ । समुन्द्रटार सबस्टेसनमा १३२/३३ केभीतर्फ दुई थान ३० एमभिए क्षमताका ट्रान्सफर्मर र ३३/११ केभीतर्फ दुई थान आठ एमभिए क्षमताका ट्रान्सफर्मर जडान गरिएको छ । १३२ तर्फ पाँचवटा वे र ३३ केभीतर्फ ४ वटा वे उपकरण जडान गरी सञ्चालनमा ल्याइएको छ । सबै उपकरणलाई अत्याधुनिक सबस्टेसन अटोमेसन प्रणालीबाट नियन्त्रण गरिनेछ । प्रसारण लाइनबाट दुई सय ७० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ । यस लाइनमा जोडिने गरी तादीखोला र यसका सहायक खोलामा निजी लगानीमा ६० मेगावाटका १० जलविद्युत् आयोजना निर्माणको विभिन्न चरणमा छन् ।

      सबस्टेसनबाट स्थानीय रूपमा पनि विद्युत् आपूर्ति गरिने भएकाले नुवाकोटको पूर्वी भेगमा विद्युत् भोल्टेजको सुधार र कटौतीमा रहेको समस्या समाधान हुनेछ । नेपाल सरकारको लगानी र एसियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंक (इआइबी)को सहुलियतपूर्ण ऋणमा निर्माण भएको प्रसारणलाइन र सबस्टेसनको कुल लागत एक अर्ब ५५ करोड रुपैयाँ रहेको छ । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशालयअन्तर्गत प्रसारणलाइन निर्माणका लागि इटिइआरएन सिसिसिई एफइपिइसी जेभी, चीनसँग १३ मङ्सिर ०७३ ठेक्का सम्झौता भएको थियो । सबस्टेसन ३३ रोपनी जग्गामा फैलिएको छ । प्रसारणलाइनको टावरका लागि २१ रोपनी र तारमुनि नौ सय ४८ रोपनी जग्गा उपयोग गरिएको छ । उक्त प्रसारणलाइनबाट समुन्द्रटार सबस्टेसनलाई काठमाडौं उपत्यकाको मातातीर्थ सबस्टेसनमा पनि जोड्ने योजना रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।