एमाले एकताको मिलनबिन्दु दशबुँदे सहमति एकता टुंग्याउन ओली र नेपालको बोलीमा लगाम

  • त्रिशूली प्रवाह
  • १४ श्रावण २०७८, बिहीबार १३:५३

नेपालको मूल लाइनको ठूलो कम्युनिस्ट पार्टी नेकपा एमालेको आन्तरिक विवादको समाधान विघटित कार्यदलले तयार पारेको १०बँुदे सहमति नै मिलनबिन्दु बनिरहेको छ । १०बँुदे सहमतिको आधारमा एमालेको एकता प्रक्रिया टुंग्याउने गरी विघटित कार्यदलले भित्रभित्रै काम गरिरहेको छ । आगामी हप्ता एमालेको एकता प्रक्रिया टुंगिने कार्यदलको एक सदस्यले जानकारी दिएका छन् ।

      कार्यदलको सक्रियताले गर्दा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले एकताविरोधी अभिव्यक्ति यो हप्तादेखि दिन छोडेका छन् । तत्कालका लागि एमालेभित्र युद्धविराम भएको महसुस कार्यकर्ताले गरिरहेका छन् । एमालेमा एकता केका लागि, दुई नेताको जुँगाको लडाइँ मिलाउन मात्र हो कि एजेन्डामा एकता गर्ने, विषयवस्तु र पार्टीको दृष्टिकोणमा एकता गर्ने हो कि व्यक्तिगत लाभहानिमा गर्ने भन्ने प्रश्न छरपस्ट भइरहेका छन् । लामो समयदेखि एमालेभित्र एकताको कुरा निकै चलिरह्यो । तर, सफलता हात लागेको छैन । कहिले बालकोटको बार्दलीबाट ‘अब ठाउँ छैन’ भन्दै ‘गद्दार’ घोषणा गरिन्छ, कहिले ‘दोस्रो अध्यक्ष’ बनाउन तयार भएको भनिन्छ, त कहिले सबैलाई आममाफी दिने महाराजा शैलीमा फर्मान घोषणा हुन्छ र पनि एकता भइरहेको छैन किन त ? माधवकुमार नेपाल समूहले केपी शर्मा ओलीलाई आफैँ तानाशाही र अनैतिक पात्र भन्ने अनि उही पात्रसँग एकता र सहकार्य गर्ने दोधारे चरित्र देखाइरहेको छ । अनैतिक पात्रसँग एकता गर्दा आफ्नो नैतिकतामा प्रश्न उठ्दैन ? एकताका लागि बनाइएको कार्यदलका केही सदस्यले ओलीका हरेक कदमको पार्टीभित्र समीक्षा हुनुपर्ने बताएका छन् । तर, समीक्षा त कुरै छाडौँ, त्यस विषयले पार्टीभित्र प्रवेश पनि पाएको छैन । यदि एकताका लागि नै इमानदार प्रयत्न भइरहेको छ भने किन ओली र नेपालकै मात्र घुर्कीले प्राथमिकता पाइरहेको छ ।

       लामो समय आन्तरिक विवादमा रुमल्लिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै अल्पकालीन युद्धविरामको सङ्केत अहिले देखिएको छ । नेपाल पक्षको आइतबार र सोमबार काठमाडौंको बुद्धनगरमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको ठहर गर्दै सम्मानजनक एकताका लागि थप प्रयास गर्ने निर्णय गरेको छ । बैठकमा नेताहरूले एकताका लागि भइरहेका विभिन्न प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह गर्ने निर्णय गरेका थिए । ‘बैठकमा यथाशक्य पार्टीको विवाद निरुपण गर्नेबारे सबैको एकमत देखियो । यसै साताभित्र यी विषय टुङ्गो लगाएर जानुपर्छ भन्ने हाम्रो धारणा रह्यो । मलाई लाग्छ, यसै साताभित्र पार्टीको विवाद निरुपण हुन्छ,’ पार्टीको सचिवसमेत रहेका भीम आचार्यले भने । उनका अनुसार दुवैतर्फबाट एकताविरोधी गतिविधि नगर्न आग्रह गरिएको छ । ओली पक्षबाट भ्रातृ सङ्गठनका नाममा भइरहेका अराजक गतिविधि बन्द गराउन पनि बैठकले आग्रह गरेको छ । युथ फोर्स, पिपुल्स भोलेन्टियर्स, अखिल फोर्सजस्ता दस्ता बनाएर गरिने गाली-गलौज बन्द गर्न बैठकले आग्रह गरेको छ । उक्त आग्रहपछि दुवै पक्षको गाली–गलौजको शृङ्खला बन्द भएको छ । पार्टीभित्र देखिएका विवाद निरुपण गर्ने क्रममा बनेको कार्यदलले तयार पारेको १०बुँदे सहमति कार्यान्वयन गर्ने र पार्टी अध्यक्ष ओलीका तर्फबाट आएको प्रस्तावलाई विश्वासको वातावरणसहित अघि बढाउने निर्णय बैठकले गरेको थियो । पार्टी एकताका लागि भएका प्रयास धेरै हदसम्म सकारात्मक रहेको समीक्षा बैठकमा भएको थियो । ‘ती प्रयासलाई छिटो टुङ्गोमा पु¥याउन थप प्रयास थाल्ने कुरा भएका छन् । सबै साथीको जोड एकतामै छ । यसकारण दुवै नेतालाई प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन आग्रह गरिएको छ,’ बैठकपछि नेता रघुजी पन्तले भने । ‘पार्टी एकताको विकल्प छैन भन्ने हो भने दुवै नेताले अभिव्यक्तिमा लगाम लगाउनुपर्छ । कार्यकर्ता भड्काउने गरी अभिव्यक्ति दिनुहुँदैन,’ स्थायी कमिटी सदस्य आचार्यले भने ।

       ओलीका तर्फबाट माधव नेपाललाई दोस्रो अध्यक्ष र बराबरी अधिकार दिने गरी विवाद निरुपणको प्रस्ताव गरिएको छ । तर, वरिष्ठ नेता नेपालले भने विधानमा दोस्रो अध्यक्षको व्यवस्था नभएकाले विधानबमोजिम नै निरुपण गर्नुपर्ने बताउँदै आएका छन् । नेता नेपालले सम्मानजनक विषय आए पार्टीभित्रै बसेर अन्तर्संघर्ष गर्ने मनिस्थिति बनाएका छन् । एमाले महाधिवेशन ०७१ असारमा सम्पन्न भएको हिसाबले पनि सात वर्ष पुगिसकेको छ । विगतमा पाँच–पाँच वर्षमा महाधिवेशन हुने गरेकोमा अहिले दुई वर्ष कटिसकेको हुँदा ओली अध्यक्ष बनिरहन नसुहाउनेसमेत नेपालले बताउँदै आएका छन् । एमाले विधानमा ७० वर्ष उमेर पुगेका नेताले दलबाट अवकाश लिनुपर्ने प्रावधान छ । यस हिसाबले पनि ओली अध्यक्षको जिम्मेवारीबाट अलग्गिनुपर्ने आवाज उठ्दै आएको छ । विधानको उक्त प्रावधान ओलीले आफूलाई अनुकूल हुने गरी संशोधन गराए पनि नेपाल पक्षले आफ्नो संलग्नताबेगर भएको संशोधन अस्वीकार गरेको छ । नेपाल पक्षका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्टले ओली नरम भएका र सच्चिसकेको बताउँदै आएका छन् । तर, ओलीले हालै नेपाल पक्षलाई लक्षित गर्दै पार्टीमा अनुशासनहीन काम गर्नेलाई ‘एम्नेस्टी ग्रान्टेड’ भनेका थिए । त्यसबाट नेता नेपाल झनै आक्रोशित भएका छन् । नेपालले ‘महामहिम श्री ५ महाराजाधिराजबाट अभिव्यक्ति आयो, आममाफी दिइएको छ’ भन्दै ओलीको उक्त अभिव्यक्तिको विरोध गरेका थिए । त्यसपछि ओलीले माफी आफूले दिने नभई पार्टीले दिने भनेर स्पष्टीकरण दिएका थिए ।

       माफी आफूहरूलाई होइन, प्रतिनिधिसभा विघटन गरेकोमा ओलीले नै माफी माग्नुपर्ने नेपाल भनाइ छ । नेपालले आफू नेतृत्वबाट अवकाश लिन तयार भएको अरू कसैले नेतृत्व लिए हुन्छ भन्ने धारणा पनि आफूपक्षीय नेताहरूको बैठकमा राखेका छन् । तर, ओलीलाई टक्कर दिन सक्ने त्यो हाइटको नेता नेपाल मात्र भएकाले पछिहट्न नहुने उनी पक्ष नेताले दबाब दिइरहेका छन् । नेपालले कम्युनिस्ट पार्टीमा विगतमा केशरजंग रायमाझी, तुलसीलाल अमात्य र पुष्पलाल श्रेष्ठको जस्तै तीन नेताको सचिवालय बनाउन पहल गर्नसमेत दोस्रो पुस्ताका नेताहरूलाई सुझाएका छन् । उनले तीन सदस्यीय सचिवालयमा ओली, खनाल र वामदेव गौतमलाई सहभागी गराउन सकिनेसमेत सुझाब दिएका छन् । ‘मैले पद खोजेँ भन्ने भ्रम सिर्जना गरिएको छ, म अलग्गै बसेर एमालेलाई अगाडि बढाउन तयार छु,’ नेपालले भने । वरिष्ठ नेता नेपाल पक्षले संस्थापन पक्षसँगको एकताको प्रयास एक साताभित्र टुङ्गो लगाउनुपर्ने निर्णय गरेको छ । उक्त पक्षले भीम रावललाई अध्यक्ष ओलीसँग कुरा अगाडि बढाउने जिम्मेवारीसमेत दिएको छ । भीम रावलले विघटित कार्यदलका सदस्यहरूको सहयोग लिएर एक साताभित्र पार्टी एकता टुंग्याउने गरी छलफलमा व्यस्त रहेका छन् ।