पेट्रोलियम पदार्थको मूल्यवृद्धि नुवाकोटमा डिजेल प्रतिलिटर १९३ रुपैयाँ ५० पैसा, पेट्रोल २ सय रुपैयाँ ५० पैसा

  • त्रिशूली प्रवाह
  • ९ असार २०७९, बिहीबार १३:२३

विदुर, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आइतबार रातिदेखि डिजेलमा एकैपटक प्रतिलिटर २७ रुपैयाँ र पेट्रोलमा २१ रुपैयाँ मूल्यवृद्धि गरेको छ । निगमले मूल्यवृद्धि गरेपछि नुवाकोटमा भने पेट्रोल प्रतिलिटर दुई सय रुपैयाँ ५० पैसा र डिजेल एक सय ९३ रुपैयाँ ५० पैसा भएको छ । निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा रसिया-युक्रेन युद्धलाई कारक देखाएको छ ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्य दक्षिण एसियामै महङ्गो रहेको छ । पेट्रोलियम महङ्गो बेच्नेमा नेपाल एसियाको देशमध्येमा २८औँ र विश्वमा ८२औँ स्थानमा रहेको छ । दक्षिण एसियामा नेपालपछि भुटानमा पेट्रोलियम महङ्गो छ । दक्षिण एसियामा पेट्रोलियम पदार्थ सबैभन्दा सस्तो माल्दिभ्स र संसारभर भेनेजुएलामा पेट्रोलको मूल्य सबैभन्दा कम रहेको छ । डिजेल भने भेनेजुएलाभन्दा इरानमा सस्तो छ । पेट्रोलियम पदार्थ सबैभन्दा महङ्गो हङकङमा छ । त्यहाँ अहिले पेट्रोल प्रतिलिटर तीन सय ७५ र डिजेल तीन सय ४७ रुपैयाँ रहेको छ । पाकिस्तानमा पेट्रोल प्रतिलिटर एक सय ३९ र डिजेल एक सय ५७, भारतको डिल्लीमा पेट्रोल एक सय ५६ र डिजेल एक सय ४४ नेपाली रुपैयाँ रहेको छ । चरम आर्थिक सङ्कट गुज्रिरहेको श्रीलङ्कामा पेट्रोल प्रतिलिटर नेपाली एक सय ५८ र डिजेल एक सय ४० रुपैयाँ रहेको छ ।
नेपालमा एक वर्षको अवधिमा पेट्रोलको मूल्य ६४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष असार ३० मा पेट्रोल प्रतिलिटर एक सय २८ रुपैयाँ र डिजेल, मट्टीतेलको मूल्य एक सय ११ रुपैयाँ रहेको थियो । ग्यास अघिल्लो वर्षको जेठमा प्रतिसिलिन्डर १६ सय रहेकोमा अहिले १८ सय पु¥याइरहेको छ ।