गोसाइँकुण्डको भेटी तीन लाख २२ हजार

  • त्रिशूली प्रवाह
  • ९ भाद्र २०७९, बिहीबार ११:२८

धुन्चे, रसुवा जिल्लाको प्रमुख धार्मिकस्थल गोसाइँकुण्डमा यस वर्षको जनैपूर्णिमाको मेलामा दर्शनार्थीले चढाएको तीन लाख २२ हजार एक सय १५ रुपैयाँ भेटी सङ्कलन भएको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाको अध्यक्ष सञ्जीव डिएमका अनुसार १० दिनसम्म चलेको जनैपूर्णिमा मेलामा यसपटक १० हजारभन्दा बढी दर्शनार्थी आएका थिए । जनैपूर्णिमाको अवसरमा नुवाकोट, धादिङ, रामेछाप, धादिङ, भक्तपुर, पर्वत, लमजुङ, तनहुँ, रौतहट, नवलपरासी, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, झापा, ललितपुर, काठमाडौंलगायतका देशभरका तीर्थयात्री दर्शनका लागि आएको जानकारी समितिले दिएको छ । दर्शनार्थीबाट नेपाली रुपैयाँ तीन लाख २२ हजार एक सय १५ सहित विदेशी मुद्रा यूएस डलर दुई रुपैयाँ र मलेसियाको ६ रुपैयाँ रिङ्गेट रहेको छ । गोसाइँकुण्ड गाउँपालिका-५ मा रहेको गोसाइँकुण्डमा नागपञ्चमीदेखि जनैपूर्णिमासम्म १० हजारभन्दा बढी बौद्ध तथा हिन्दू धर्मावलम्बी भगवान् शिवको दर्शन गर्न आएको अनुमान समितिले गरेको छ । यस क्षेत्रमा १४ प्रजातिका लालीगुराँस, लोपोन्मुख वन्यजन्तु, विभिन्न प्रजातिका वनस्पति र चरा रहेका छन् । कुण्डनजिकै अमरसिंह गुफासमेत रहेको छ । यात्राको क्रममा घट्टेखोला, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीबिना, बुद्धडाँडा र गणेशगौँडाजस्ता स्थानबाट मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

गोसाइँकुण्ड नेपालको दोस्रो ठूलो पदमार्गअन्तर्गत पर्दछ । धेरैजसो स्वदेशी तथा विदेशी विद्यार्थी यस क्षेत्रमा अध्ययन तथा अन्वेषणका लागि आउने गरेको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सञ्जीव डिएमले बताए । नेपालका राष्ट्रिय विभूति अमरसिंह थापाले पनि आफ्नो देहत्याग गोसाइँकुण्डमै गरेका थिए । त्यस स्थानमा उनको सालिक बनाइएको छ । गोसाइँकुण्ड क्षेत्रमा तामाङ समुदायको बसोवास रहेको छ । यात्रामा भेटिने तामाङ संस्कृति र प्राकृतिक छटाले पनि मन तान्छन् । तामाङ समुदायको वेशभूषा, रहन-सहन, संस्कृति यस क्षेत्रको अर्को आकर्षणको केन्द्र हो । मेलाका बेला गोसाइँकुण्डमा विभिन्न लामा, झाँक्रीनाच तथा तामाङसेलो, नृत्यसमेत देख्न सकिन्छ ।