बस दुर्घटनामा तीनको मृत्यु, २६ घाइते

  • त्रिशूली प्रवाह
  • ११ फाल्गुन २०७९, बिहीबार ११:४६

चैनपुर, नुवाकोट जिल्ला विदुर नगरपालिका-१२ चैनपुरको भित्री सडकखण्डमा बट्टारबाट दाङसिङतर्फ जाँदै गरेको बा.२ ख.८४५ नम्बरको बस फागुन ४ गते ब्रेकफेल भई अनियन्त्रित भई सडकबाट अन्दाजी ३१ मिटर तल खसी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

सो गाडीमा सवार विदुर नगरपालिका-३ बस्ने ६३ वर्षको बाबुराम दर्जी र तारकेश्वर गाउँपालिका-६ बस्ने वर्ष ७८ रामप्रसाद अर्यालको घटनास्थलमै मृत्यु भएको र तारकेश्वर गाउँपालिका-६ बस्ने ५५ वर्षकी सीतादेवी अर्यालको उपचारको क्रममा त्रिशूली अस्तालमा मृत्यु भएको थियो । अन्य २६ जना घाइतेलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी त्रिशूली अस्पतालमा पठाइएकोमा पाँचजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको, तीनजना घाइतेको त्रिशूली अस्पतालमा नै उपचार भइरहेको र अन्य १८ जना सामान्य उपचारपश्चात् डिस्चार्ज भई घर गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्र.ना.उ. खगेन्द्रबहादुर खड्काले जानकारी दिए । गाडीचालकलाई पक्राउ गरी अन्य अनुसन्धान भइरहेकोसमेत उनले बताए ।