हत्यामा संलग्न आमाछोरासहित तीनजना पक्राउ

  • त्रिशूली प्रवाह
  • ४ जेष्ठ २०८०, बिहीबार १२:०२

धादिङ, गत वैशाख २७ गते बुधबार राति आफ्नै होटेलमा खाजा खान आएका ग्राहक हत्यामा संलग्न आमाछोरासहित तीनजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक गरेको छ ।

गल्छी गाउँपालिका-८ कटहरपौवाका विनोद थापामगरको हत्या गरेको आरोपमा गल्छी गाउँपालिका-८ गल्छीस्थित सानदार होटेल एन्ड लजकी सञ्चालिका ४७ वर्षीया सरस्वती पनेरू पण्डित, उनका छोरा २६ वर्षीय नीरज पण्डित र तानसेन नगरपालिका-१४ पाल्पाका किरण रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उक्त साँझ होटेलमा खाजा खान आएका विनोद र होटेल सञ्चालिका सरस्वतीबीच पैसाका कारण विवाद उत्पन्न भएपछि घटना घटेको थियो ।’ घटना ‘राति ११ः४५ बजे भएको प्रहरी उपरीक्षक मिश्रले बताए । सरस्वती र मृतक विनोदको सामान्य भनाभन भएपछि सरस्वतीले छोरा नीरजलाई बोलाइछिन् । छोरा नीरजले किरण रानालाई साथमा लिएर आएपछि विनोदलाई पाँच-सात मुक्का प्रहार गरी नीरजले साथमा ल्याएको फोल्डिङवाला छुरा प्रहार गरी घाइते बनाएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक मिश्रले बताए ।

घाइते विनोदको काठमाडौंस्थित नर्भिक अस्पतालमा वैशाख २८ गते १ः४५ बजे उपचारको क्रममा मृत्यु भएको थियो । घटनामा प्रयोग भएको छुरा घटनास्थलदेखि ३० मिटर तल त्रिशूली नदीे किनारमा नीरजले नै दिएको सूचनाको आधारमा शुक्रबार बिहान प्रहरीले फेला पारेको थियो । आमा सरस्वती पनेरू पण्डित, छोरा नीरज पण्डित र किरण रानालाई कर्तव्य ज्यान मुद्दामा धादिङ अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । होेटेल सञ्चालिका पनेरूले केटीलाई डर, त्रास, प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाई मानव बेचबिखन गरेको उजुरीको आधारमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा समेत म्याद थप अनुसन्धान गरिरहेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए ।