निःशुल्क दन्त शिविर सम्पन्न

  • त्रिशूली प्रवाह
  • १३ बैशाख २०८१, बिहीबार १४:००

धुन्चे, कालिका गाउँपालिका रसुवाको आयोजना तथा ट्रेक एन्ड एम्पिडिसन प्रा.लि. काठमाडौंको आर्थिक सहयोग तथा वल्र्ड होरिजन एन्ड सेटपको प्राविधिक सहयोगमा जिबजिबे ग्रामीण अस्पतालमा चारदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

जिल्लाको ग्रामीण भेग उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाका विपन्न गरिब जनतालाई लक्षित गरी कालिका गाउँपालिका–५ मा रहेको जिबजिबे ग्रामीण अस्पतालमा निःशुल्क दन्त शिविर सम्पन्न भएको हो । शिविरमा सात सय १३ जनाले सेवा लिएको ग्रामीण अस्पतालका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलले जानकारी दिए । रसुवा ट्रेक्स एन्ड एम्पिडिसन प्रा.लि.का सञ्चालक बलराम न्यौपानेका अनुसार वैशाख ४ देखि ७ गतेसम्म सञ्चालन भएको शिविरमा दाँत निकाल्ने सेवाग्राही एक सय ७८ जना र दाँत भर्ने पाँच सय ४४ जना रहेका थिए । दाँतको उपचारका लागि जिल्लाबाहिर जानुपर्ने र आर्थिक स्थितिले नजिकैको अस्पतालसम्म पनि जान नसक्नेका लागि यो निःशुल्क दन्त शिविरले केही राहत मिल्ने र फलदायी रहेको विश्वास रहेको बताए ।