घाँसको बिरुवा र बिउ बेचेरै वार्षिक २० लाख आम्दानी

  • त्रिशूली प्रवाह
  • २ कार्तिक २०८०, बिहीबार १२:३०
  • राजेन्द्र बस्नेत

धादिङ, सफल हुन मानिसले प्रायः पुरानै कामलाई नयाँ तरिकाले गर्ने गर्दछन् । त्यसको नमुना हुन् धादिङ जिल्ला गल्छी गाउँपालिका–७ भल्टारका रामनाथ अधिकारीको परिवार । रामनाथ अधिकारीले ०४२ सालबाट सुरु गरेको घाँसको बिरुवा तथा बिउ बिक्री व्यवसायमा अहिले छोरा र नातिसमेत लागेका छन् ।

रामनाथले गरेकोे आम्दानीबाट सन्तुष्टि प्राप्त गरेका गंगादत्त अधिकारीले आर्थिक वर्ष ०६८/६९ मा घाँस तथा पशु विकास स्रोत केन्द्र दर्ता गरे । पृथ्वी राजमार्गकै घर र सँगै नर्सरी तथा बिउ बिक्री केन्द्र भएकाले पनि सफलता पाउन सहयोग पुग्यो । घाँसको व्यवसाय प्रवद्र्धन गर्न सक्नु भनेको पशुपालन गर्ने किसानलाई घाँसको महत्व बुझाउन सक्नु हो । ‘अघिल्लोे वर्ष घाँसको बिउ–बिरुवा लिन आउनेबाटै पछिल्लो वर्ष साथी आउनुहुन्छ भनेर खबर गरिदिनुहुन्छ,’ गंगादत्तले सुनाए । पछिल्लो समय सामाजिक सञ्जालमार्फत व्यवसाय प्रवद्र्धन गरिरहेका छन् गंगादत्तका छोराहरूले । व्यवसाय फस्टाउनु र छोराहरूले पनि घाँस व्यवसाय (नर्सरी गरी बिरुवा तथा बिउ बिक्री)लाई निरन्तता दिनुले उनी खुसी छन् । ‘बुबाले सुरु गरेको कामलाई मैले निरन्तरता दिएँ, मैले निरन्तरता दिएको कामलाई छोराले व्यवसायमा रूपान्तरण गरे,’ उनले बताए, ‘जेठो छोरा सुदीपले तीनवर्षे भेटेरेनरी कोर्स पढाइ सकेर आएर काम गरिरहेको छ । कान्छो छोरा प्रदीप अहिले भेटेरेनरी पढ्दै छ । उसले पनि यही व्यवसाय गर्न भेटेरेनरी पढेको हो ।’ अहिले घरका पाँचजनालाई नियमित रोजगारी भएको छ । आवश्यकताअनुसार स्थानीयलाई पनि दैनिक ज्यालादारी काममा लगाउँछन् ।

पशुपालनको मुख्य आधार घाँस हो । त्यो पनि पोसिलो घाँस । प्राकृतिक रूपमा बारीका डिल–कान्लामा उम्रेका घाँस खुवाएर परम्परागत शैलीमा पशुपालन गर्दा अपेक्षित आम्दानी गर्न सकिँदैन । पशुपालनलाई व्यावसायिक बनाउन पोसिलो घाँस तथा आहारा चाहिन्छ । त्यतिबेला मानिसमा पोसिलो घाँस खुवाउनुपर्छ भन्ने जागरण आएको थिएन । पशुपालन व्यवसायलाई मुख्य आधार खेतीलाई सहज होस् भनेर ०४२ सालमा रामनाथ अधिकारीले घाँसको नर्सरी सुरु गरे । अहिले रामनाथ, उनका छोरा गंगादत्त र नाति सुदीप र प्रदीप घाँस व्यवसायमा रमाएका मात्र छैनन् । कर्मको फल र लगानीको मुनाफाबाट सन्तुष्ट छन् । गल्छी गाउँपालिका–७ स्थित भल्टारमा रहेको नर्सरी अहिले ४५ रोपनीमा फैलिएको छ । पछिल्ला वर्षमा पशुपालनमा सरकारले दिने अनुदानबाट वा स्वतफूर्त रूपमा पशुपालन व्यवसायमा आकर्षण तथा लगानी थपिएको छ । पशुपालन व्यवसाय सफल होस् वा नहोस्, पोसिलो घाँसको क्षेत्रफल वृद्धि भएको छ भने घाँसको बिउ–विरुवा बिक्री गर्ने व्यवसाय पनि फस्टाएको छ । पशुपालन व्यवसायको आधार नै घाँसखेती भएकाले पशुपालन गर्नु एक–दुई वर्ष पहिले नै घाँस खेती गर्नुपर्ने भएकाले पनि घाँसको बिउ–बिरुवा बिक्री गर्ने व्यवसाय फस्टाएको छ ।

उनीहरूको स्रोत केन्द्रबाट वार्षिक करिब २० प्रजातिका डाँले तथा भुइँघाँसका बिरुवा तथा बिउ बिक्री हुँदै आएको छ । गत आ.व.मा वार्षिक १० टनभन्दा माथि हिउँदे तथा बर्खे घाँसका बिउ र करिब १८ लाख सङ्ख्यामा घाँसका बिरुवा बिक्री गरेका छन् । लगभग ६५ लाखको कारोबार गर्दा १८ देखि २० लाखसम्म बचत भएको गंगादत्तले बताए । गत आ.व. ०७८÷७९ को तुलनामा आ.व. ०७९÷८० मा निकै कम बिक्री भयो । सबैभन्दा बढी बिक्री हुने हिउँदे घाँस, जै, बर्सिम, भेज हुन् भने बर्खे घाँस, मकैचरी, बोडी, बादरा, सुडान र जुनेलो हुन् । बहुवर्षे घाँस स्टाइलो, मोलासेज, वइन्ट भेज हुन् । बढी बिक्री हुने डाँलेघाँसका बिरुवामा किम्बु, सुपर नेपियर, बडहर, निमारो, राईखन्यु, मेन्दोला, भट्मासे र टाँकी हुन् । ६० भन्दा बढी जिल्लामा कुनै न कुनै किसिमका घाँसका बिउ वा बिरुवा पुगेको गंगादत्तले बताए । व्यावसायिक रूपमा पशुपालन गर्नेलाई घाँसखेती अनिवार्य नै छ । तैपनि कृषि कर्म गरेर थोरै पशुवस्तु पाल्नेलाई पनि पोसिलो घाँसखेती गर्न सुझाव दिँदै पोसिलो घाँस खुवाए पशुवस्तु हृष्टपुष्ट हुन्छ, छिटो बढ्छ, दूध धेरै दिन्छ भन्छन् गंगादत्त ।

पशुपालन व्यवसाय सदियौँदेखि नेपाली किसानको आर्थिक, सामाजिक तथा धार्मिक रूपमा जीवनसँग आबद्ध रहिआएको छ । दूध, दही, घ्यू, अण्डादेखि खेतबारीको उर्वराशक्ति बढाउनका लागि आवश्यक पर्ने मल तथा खेतीपातीको धेरैजसो काममा पशुवस्तुको प्रयोग गरिन्छ । त्यसैले पशुपालन नेपाली किसानको जीविकोपार्जनको एउटा अभिन्न हिस्सा भएको छ । तर, पर्याप्त आहाराको अभावमा पशुपालन क्षेत्रबाट आशातीत फाइदा भने किन लिन सकिरहेको छैन । पशु उत्पादनको कुल लगानीमध्ये ६०–७० प्रतिशत आहाराले ओगटेको हुन्छ, तर पर्याप्त हरियो घाँसको अभावमा सीमित चरिचरन क्षेत्र वा अत्यधिक पशु घनत्वको साथै मुख्य गरी कम उत्पादनशील रैथाने जाति भएकाले पशुपालन क्षेत्र आशा गरेअनुसार सृदृढ हुन सकिरहेको छैन । तराईमा चरन क्षेत्र चार प्रतिशतले अभाव छ भने उच्च पहाडी क्षेत्र अनियन्त्रित र अव्यवस्थित चरिचरनले पिरोलिएको छ । यसैगरी, मध्यपहाडी क्षेत्रमा गाईवस्तुको अधिक चाप, अपर्याप्त र अव्यवस्थित चरन क्षेत्रले गर्दा यस भेगका किसानले तुलनात्मक रूपमा बढी पशु आहाराको अभाव भोग्दै आइरहेका छन् । समग्रमा हेर्ने हो भने नेपालमा ३४ प्रतिशत पशु आहाराको अभाव रहेको छ । एक तथ्याङ्कअनुसार देशको कुल भौगोलिक क्षेत्रमध्ये १२ प्रतिशत चरन क्षेत्र छ भने जम्मा चार प्रतिशतमा मात्र चरन विकास गरिएको छ । कुल कृषिजन्य जग्गाको ०.९ प्रतिशतभन्दा कम जग्गामा मात्र घाँसेबाली लगाइएको छ । जुन अन्य देशको तुलनामा अत्यन्तै न्यून प्रतिशत हो ।

त्यसैगरी, सहरी क्षेत्रवरिपरि गरिने पशुपालनका निम्ति चाहिने हरियो घाँसको अभावमा महँगो दाना चोक्करमा भर पर्ने हुँदा दूध उत्पादन लागत बढेर किसानले उचित मुनाफा लिन सकिरहेका छैनन् । तसर्थ पशु उत्पादन लागत कम गराई अधिकतम फाइदा लिन हरियो घाँसमा आधारित पशुपालन व्यवसाय गर्नु वर्तमान आवश्यकता हो भन्दै सामाजिक सञ्जालमार्फत सन्देशमूलक जानकारीमार्फत घाँसको बिउ र बिरुवाको बिक्री प्रवद्र्धन गरिरहेका छन् । गंगादत्त भन्छन्, ‘हामीलाई केही दिनुपर्दैन । पशुपालक किसानलाई पोषणयुक्त घाँस पशुवस्तुलाई खुवाउन जनचेतना अभिवृद्धिका कार्यक्रम कृषक तहमा गर्दिए पुग्छ । पोषणयुक्त घाँसको अभावमा पशुवस्तु बाँचिरहेका छन् । पशुवस्तुको स्वास्थ्य राम्रो छैन । किसानको आम्दानी पनि राम्रो छैन ।’ पशुवस्तु स्वास्थ्य र किसानको आम्दानी राम्रो बनाउन पोषणयुक्त घाँस खुवाउन गंगादत्त सुझाउँछन् ।