काङ्ग्रेसको प्रदेश सभा क्षेत्रको प्रथम सम्मेलन सम्पन्न

  • त्रिशूली प्रवाह
  • २० बैशाख २०८१, बिहीबार १२:४४

विदुर, नेपाली काङ्ग्रेसको विधानअनुसार नुवाकोटको प्रदेशसभा क्षेत्र नं.-२ को प्रथम सम्मेलन तथा नयाँ वर्ष २०८१ को शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

प्रदेश क्षेत्रीय कार्यसमितिका सभापति वैकुण्ठबहादुर पाण्डेको सभापतित्वमा जिल्ला समन्वय समितिको हल विदुरमा सम्पन्न कार्यक्रमको उद्घाटन नेपाली काङ्ग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका थिए । सो कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकारका पूर्वमन्त्री बहादुरसिंह लामा, विशेष अतिथिका रूपमा नेपाली काङ्ग्रेस नुवाकोटका सभापति एवम् बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतको उपस्थिति थियो । उनीहरूले शुभकामना व्यक्त गर्दै काङ्ग्रेस एकजुट नभए लोकतान्त्रिक व्यवस्था कमजोर हुने बताएका थिए । कार्यक्रममा प्रदेश क्षेत्रीय सभापति पाण्डेले सम्मेलनमा प्रतिवेदन प्रस्तुत गरेका थिए । साङ्गठनिक समीक्षा, भावी कार्यक्रम, सदस्यता विस्तार, क्रियाशील सदस्यता वितरण, सदस्य प्रशिक्षण, नियमित बैठक, समुदायमा काङ्ग्रेसको कार्यक्रम, विकास निर्माण र जनचासोमा योगदान तथा खबरदारी, प्रदेशभित्रका वडाहरूमा साङ्गठनिक सुधारको लागि विशेष पहल गर्ने, निर्वाचित जनप्रतिनिधि र स्थानीय पार्टीसँग समन्वय र सहकार्यमा विकास सहभागितालगायतका मुख्य-मुख्य विषयको प्रतिवेदन अध्यक्ष पाण्डेले सभामा प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा चार सय ५० जना प्रतिनिधि र नेपाली काङ्ग्रेसका नेता-कार्यकर्ताको उपस्थिति रहेको जिल्ला पार्टी सचिव वैकुण्ठ मिश्रले जानकारी दिए ।