सिमेन्ट उद्योग वातावरणमैत्री नबने बन्द : पाण्डे

  • त्रिशूली प्रवाह
  • २० बैशाख २०८१, बिहीबार १२:२७
  • राजेन्द्र बस्नेत

जुगेडी (धादिङ), मानवबस्ती र तरकारी पकेट क्षेत्रमा सिमेन्ट उद्योग खोल्ने विषयमा आफूलाई कुनै जानकारी नदिएको धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य एवम् बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बताएका छन् । सिमेन्ट उद्योग खोल्न पाइन्छ, तर उक्त उद्योग वातावरणमैत्री नबनाए बन्द हुने चेतावनी उनले दिएका छन् ।

धुनीबेँसी नगरपालिका–९ जुगेडीस्थित युनाइटेड सिमेन्ट उद्योग प्रभावितको समूह, जुगेडी खाद्य अधिकार प्रभावित समूह र फियान नेपालले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सदस्य पाण्डेले उक्त कुरा बताएका हुन् । विगतको जनप्रतिनिधिविहीन अवस्थामा एकजना सचिवले गाउँ विकास समिति सञ्चालन गरेको मौका छोपेर युनाइटेड सिमेन्ट उद्योग खोलिएको थियो । ‘देशमा उद्योग कलकारखाना खोल्नुपर्छ, तर के उद्योग कस्तो ठाउँमा खोल्ने जानी–बुझी खोल्नुपर्छ । मानवबस्ती र उत्पादनशील क्षेत्रमा जहाँ सयौँ परिवारको जीविकोपार्जनको आधार कृषि गर्ने क्षेत्रमा उद्योग खोल्नु गलत हो । उद्योगले दुई विकल्पमध्ये एउटा विकल्प रोज्नुपर्छ । पहिलो विकल्प उद्योग पछिल्ला प्रविधिको प्रयोग गरेर उद्योग वातावरणमैत्री बनाउने । अर्को विकल्प उद्योग बन्द गर्ने । जुगेडी खाद्य अधिकार प्रभावित समूहकी संयोजक रमा राईसहित टोलीले मलाई काठमाडौंमा गएर १० बुँदे माग राख्यो । त्यही भएर म आज उद्योग क्षेत्रमा नै आएको हुँ । तपाईंहरू एकपछि अर्को बिक्न थाल्नुभए त उद्योग यसैगरी चलिरहन्छ । अझ सङ्गठित भएर अघि बढे उद्योग वातावरणमैत्री हुन्छ कि त बन्द हुन्छ । म यस विषयमा प्रधानमन्त्री तहमा वा उद्योग मन्त्री तहमा स्थानीय समुदाय र उद्योगका मालिक विकास दुगडलाई राखेर छलफल गराउँछु,’ पाण्डे भने, ‘तपाईंहरूको माग उद्योग बन्द गराउने खालको छैन । त्यसकारण उद्योगमालिकले बेलैमा प्रविधिको प्रयोग गरेर वातावरणमैत्री उद्योग सञ्चालन गर्नु उत्तम हुन्छ । बाँकी विकासका कुरा पहिले पनि गरेको हो । अब पनि गर्छु ।’

‘उद्योगले जुगेडीमा गर्नुपर्ने काम धेरै हुन सक्छन् । तर, केही काम गरेको छैन । वातावरण स्वच्छ राखेर स्थानीयलाई सहज बनाउन उद्योग चुकेको छ,’ प्रदेश सभा सदस्य मधुकुमार श्रेष्ठले बताए, ‘यसअघि म उद्योगभित्रै गएर हेरेको छु ।’ स्थानीयलाई असर नपर्ने गरी उद्योग सञ्चालन गर्न सुझाव दिएको उनले बताए । सो अवसरमा उद्योगका प्रतिनिधि अशोक आचार्यले स्थानीयले उठान गरेको कुरा व्यवस्थापनसमक्ष राख्ने प्रतिबद्धता गरे । उनले भने, ‘युनाइटेड सिमेन्ट उद्योगले जुगेडीका स्थानीय मात्र होइन, आसपासमा समेत असर गरेको छ । स्थानीयले उठाएका माग पूरा गराउन आफू प्रतिबद्ध रहेको छु ।’ प्रतिनिधिसभाका सदस्य पाण्डेले अगुवाइ गर्ने हरेक कार्यक्रममा साथ र सहयोग गर्ने प्रतिबद्धता प्रदेश सभा सदस्य श्रेष्ठले जनाए । उद्योगलाई वातावरणमैत्री बनाउन र स्थानीयको समस्या समाधान गर्न नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र स्थानीय नेता तथा कार्यकर्ताले साथ र सहयोग दिने बताएका छन् । प्रकृति मानवकेन्द्रित आन्दोलनकी मीना केसीले मानवबस्ती र कृषि उत्पादन क्षेत्रमा उद्योग खोल्न नहुने जिकिर गर्दै उद्योग बन्द गर्नुपर्ने धारणा राखिन् । ‘म आएको चार–पाँच मिनेटमै आँखा पोल्न थाल्यो । वातावरण कति प्रदूषित छ भन्ने त्यहीँबाट थाहा हुन्छ,’ केसीले भनिन् । उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख मेघनाथ गौतमले भने, ‘उद्योग खोल्नुअघि नै वातावरण प्रभाव मूल्याङ्कन गरेर मात्र उद्योग खोल्न पाइन्छ । त्यति बेला नै के गर्ने, के नगर्ने भनी किटान गर्नुपर्ने भएकाले प्रतिवेदन हेरेपछि कति काम गरेको, कति काम नगरेको हेर्न सकिन्छ । तर, ठूला उद्योग विभागले नै अनुगमन गर्ने गर्छ ।’

वडाध्यक्ष माधवप्रसाद सिलवालले उद्योगले सामाजिक उत्तरदायित्वसम्बन्धी काम खासै नगरेको बताए । ‘स्थानीयलाई एम्बुलेन्स, कम्प्युटर र सिलाइ मेसिन दिएको छ । समुदायले उठाएका माग लक्षित गर्दै कि उद्योग बन्द गर्नुपर्ने कि चल्न पाउनुपर्ने माग उठाउन र क्षतिपूर्ति तथा रोजगारी दिए उद्योग चल्न पाउने यस्तो नि माग हुन्छ,’ अध्यक्ष सिलवालले भने । पूर्ववडाध्यक्ष साइँला रार्ईले उद्योग पक्षले समुदाय, वडा, नगरपालिकालाई टेर्दैन । उसले पूर्वसर्तअनुसार गर्नुपर्ने काम नगरेको बताए । प्रभावितको तर्फबाट बोल्दै मुकुन्द राई भने, ‘स्थानीयलाई दबाब र प्रभावमा राखेर उद्योग सञ्चालन भएको छ । बाठा–टाठालाई पैसामा किनेको छ । तर, ती किनिएकालाई पनि असर गरेको छ । जो कृषि नै गरेर बाँच्नुपर्ने हो उनीहरू साह्रै मर्कामा छौँ । तपाईंहरूले यसको समाधान खोजिदिनुप¥यो ।’