टेक्ससको नुवाकोटे जमघटलाई नियाल्दा

  • त्रिशूली प्रवाह
  • ६ बैशाख २०८१, बिहीबार १५:२५
  • रामचन्द्र भट्ट

नुवाकोटका पुराना पत्रकार साथीसँग कहिलेकाहीँ कुराकानी हुँदा उनीहरूको जिज्ञासा हुन्छ– टेक्ससमा कति नेपाली छन् ? धेरै नै छन् भन्ने सुनिन्छ नि ?’

मसँग टेक्ससमा नेपालीको (नेपाली मात्र पनि भन्नु न्यायोचित हुँदैन । किनकि धेरैले अमेरिकी नागरिकता लिइसकेका छन् । त्यसैले अमेरिकी नेपाली भन्नुपर्ने हुन्छ ।) यकिन तथ्याङ्क त छैन । त्यसैले झन्डै एक लाख नेपालीभाषी होलान् भन्ने मेरो अनुमान साथीलाई सुनाउँछु । नेपालीभाषी भन्नाले नेपाली मात्र पर्दैनन् । अमेरिकी सरकारले तेस्रो देश पुनस्र्थापना कार्यक्रमअन्तर्गत ल्याएका नेपाली मूलका भुटानी पनि त्यसमा पर्छन् । ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा मात्र ६० हजारको हाराहारीमा नेपाली छन् भन्ने मेरो अनुमान छ । कोभिडको आतङ्कअघिसम्म अमेरिकामा न्युयोर्क सबैभन्दा धेरै नेपाली बसोवासको राज्य थियो । तर, अहिले त्यो सङ्ख्या टेक्ससतिर सरेको छ । अमेरिकामा कोभिडको सबैभन्दा चर्को प्रहार न्युयोर्कमा भएपछि धेरै नेपाली फराकिलो र एफोर्डेबल (सहज) बसोवासको सिलसिलामा एक हजार ६ सय माइल (दुई हजार पाँच सय किलोमिटर) दूरी पार गरेर टेक्सस झरेका छन् ।

नेपालीको अनुमानित सङ्ख्या सुनिसकेपछि पुराना साथीले फेरि सोध्छन्, ‘नुवाकोटे कति छन् नि ?’

यो प्रश्नले चाहिँ मलाई बाह्र बजाउँछ । नेपालीकै सङ्ख्या अनुमानका आधारमा बताउनु परिराखेको समयमा ब्रेकडाउन गरेर नुवाकोटेको सङ्ख्या निकाल्नु अर्को महाभारत हो । लौ यो त थाहा भएन । तर, टेक्ससमा मुख्य चार सिटीहरूमध्ये एक ड्यालस फोर्टवर्थमा भने सङ्ख्यात्मक रूपमा पहिलो नम्बरमा चितवनका छन् । दोस्रोमा झापामा पर्छन् । नुवाकोट तेस्रोमा छौँ । पाइला–पाइलामा भेटिने नुवाकोटेहरू, मन्दिर, विवाह, व्रतबन्धदेखि बेबीसावरमा देखिने अनुहार र सङ्ख्याले पछिल्लो समयमा नुवाकोटेहरूको प्रभाव निकै बढेको अनुमान गर्न कठिनाइ पटक्कै छैन ।

नुवाकोटबाट टेक्सस आएर बसेकाहरूको सङ्ख्या निकाल्नुको खासै अर्थ त छैन । तर, एक–आपसमा परिचय नहुँदा कतिपय अवस्थामा अप्ठ्यारोको सामनासमेत गर्नुपरेको छ मैले । ‘तपाईंलाई चिन्छु । तपाईं त्रिशूली प्रवाह साप्ताहिकको सम्पादक हुनुहुन्थ्यो होइन’ भनेर जब कसैले भन्छन् मलाई असाध्यै कठिन हुन्छ । त्यस्तो अवस्थामा नाम र ठेगाना सोध्न निकै लाज लाग्ने मेरो व्यक्तिगत अनुभव छ । जिल्लामा एक दशक पत्रकारिता गरेपछि अवसरको दायरालाई बढाउन राजधानी छिरेको मैले काठमाडौंमा अर्को एक दशक पत्रकारिता गरेँ । तर, जिल्लाका तत्कालीन गिनेचुनेका बाहेक सबैलाई चिन्न सम्भव पनि भएन ।

यस्तो कठिन अवस्था एक दशकअघि मात्र अमेरिका आएकोलाई भन्दा पनि २० वर्ष, २५ वर्षअघि आएका अग्रजहरूलाई झनै चर्को रूपमा परिरहेको छ । जिल्लाका छाडौँ आफ्नै गाउँकालाई चिन्न गाह्रो पर्ने भएछ,’ गैरआवासीय नेपाली सङ्घ टेक्सस च्याप्टरका अध्यक्ष राजेश अर्यालले केही महिनाअघि अनुभव सेयर गर्नुभयो । उहाँ जन्मिएको, हुर्किएको माझीटार कुनै समय गाउँ थियो, पिपलटारदेखि बट्टारसम्मका घरघरमा को–को बस्छन् ? परिवार सङ्ख्या कति छ सबै थाहा हुन्थ्यो ।

तर, अहिले परिस्थिति बदलिएको छ । गाउँकै नयाँ पुस्तालाई चिन्न गाह्रो छ । बसाइँ सरेर आएकालाई चिन्ने कुरा त दुर्लभै भयो ।
सन् २०१६ अघि म ओक्लोहामा राज्यमा बस्थेँ । २०१६ मा टेक्सस सर्नुअघि मैले नुवाकोटे अग्रजहरूबारे धेरै सुनिसकेको, पढिसकेको थिएँ । विशेषगरी सन् १९९० कै दशकमा अमेरिका आएर व्यवसायमा स्थापित वासु भण्डारी, कपिल अधिकारी, गोकर्ण दाहाललगायत अग्रजहरूबारे धेरै सुनेको थिएँ । उहाँहरू नुवाकोटकै हुनुहुन्छ । भेटघाट, परिचय बाक्लो हुन थालेपछि एक दिन सामरीका अमृत सापकोटा, जो नेविसङ्घ नुवाकोटको पूर्वअध्यक्ष पनि हुनुहुन्छ । उहाँले प्रस्ताव राख्नुभयो– नुवाकोटेको पिकनिक राख्नुपर्ने भयो । अहिले त व्यापकै भएछौँ । चिनजान, परिचय नै गर्नुपर्ने पो भयो ।’

पिकनिक राख्ने कुरामा सबै सहमत भयौँ । तर, बिरालोको घाँटीमा कसले घण्टी बाँध्ने ? आर्थिक स्रोत सङ्कलन, सबै नुवाकोटेसम्म जानकारी, सूचना पु¥याउन यो व्यस्त अमेरिकी समुदायमा प्रायः कसैलाई फुर्सद नहुने । बर्थडे पार्टीदेखि लिएर बेबीसावर, बिहेदेखि व्रतबन्धमा जब सातजना नुवाकोटे जम्मा हुन्छन् तब फेरि पिकनिक गर्ने कुरा ब्युँतिन्थ्यो । भोलिपल्टदेखि उही छेपारोको उखानजस्तै । रातभरि जाडोले कठ्याङ्ग्रिएको छेपारो भन्छ रे–भोलि त गुँड नबनाई कहाँ छोड्छु र । भोलिपल्ट पारिलो घाममा सुतेपछि छेपारोले घर बनाउने कुरा बिर्सन्छ । फेरि राति जाडो भएपछि भोलि घर बनाइछाड्छु भन्छ । तर, कहिल्यै घर बनाउँदैन ।

नुवाकोटे पिकनिक पनि छेपारोको उखानकै हविगतमा बस्यो धेरै वर्षसम्म । तर, यसपटक पिकनिक गरिछाडियो । झन्डै दुई महिनाको तयारीपछि अप्रिल ७ तारिक आइतबार टेक्ससको आर्लिङटन सिटीस्थित मिडोब्रुक पार्कमा नुवाकोटेहरूको ऐतिहासिक जमघटसहितको पिकनिक भएको छ । पिकनिकमा यस्ता व्यक्तिहरू भेटिनुभयो जसको योगदान नुवाकोटको शिक्षा, स्वास्थ्य र सुरक्षाको क्षेत्रमा निकै अग्रणी थियो ।

कुनै समय जिल्लाका माध्यमिक विद्यालयहरूका प्रधानाध्यापकहरूमध्ये सबैभन्दा युवा अनि जोसजाँगरले भरिएका माधव पाण्डे आफ्ना दर्जनौँ विद्यार्थीमाझ निकै खुसी हुनुहुन्थ्यो । उहाँ अमरज्योति मावि खरानीटारमा लामो समय प्रधानाध्यापक हुनुभयो । त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेर अवकाश जीवन बिताइरहनुभएका प्रोफेसर डाक्टर रामशरण पाठक नुवाकोटे थान्सिङ, थानापतिको आफ्नो रनवन र त्यतिखेरका यादहरूलाई सेयर गर्दै हुनुहुन्थ्यो ।

लामो समय युएनडिपीलगायतका अन्तर्राष्ट्रिय संस्थाहरूमा कार्यरत रहेर हाल अमेरिकामै रहनुभएकी गीता पाठक पाण्डे निकै रमाइलो मान्दै नाचेको देख्दा यस्तो कार्यक्रमले सामाजिक एकतामा कति सघाउ पु¥याउँदो रहेछ सहजै अनुमान गर्न सकिन्थ्यो । गोरखाकी चेली र नुवाकोटकी बुहारी कमला अधिकारी लोहनी पेसाले नर्स हुनुहुन्छ । धेरैपटक पिकनिक, पार्टीमा गए पनि कर्मजिल्ला नुवाकोटको पिकनिकले निकै रमाइलो महसुस गराएको प्रतिक्रिया व्यक्त गर्दै हुनुहुन्थ्यो ।कृष्ण भण्डारी पेसाले टेक्ससमा निकै सफल व्यवसायी हुनुहुन्छ ।

नुवाकोट नर्जाका उहाँको दुई दशक नाघिसक्यो अमेरिका बसाइ । पिकनिक गर्नुपर्छ भनेर बारम्बार झकझकाउने भण्डारी आइतबार निकै महत्वपूर्ण अन्य काम भएर पनि दिनभरि सहभागी हुनुभयो । अर्का सहभागी कृष्ण कुसुम । कुसुम पेसाले इन्जिनियर । नुवाकोटमा समेत केही वर्ष सेवा गरेका उहाँ परिवारसहित पिकनिकमा रमाइलो गर्न कुनै कोणबाट पनि पछि पर्नुभएन । खरानीटारका भीम उप्रेतीदेखि लिएर राजेन्द्र उप्रेतीसम्म, पुरानो मनकामनाका सूर्य मोक्तानदेखि लिएर मदानपुरका सिपिए दीपक सिलवालसम्मको सक्रियता र सहभागिताले पिकनिक रमाइलो अनि व्यवस्थित बनेको थियो ।

कुनै समय जिल्लामा हुने हरेक फुटबल प्रतियोगितामा बट्टारको युनाइटेड युथ क्लबले सिल्ड हात पाथ्र्यो । त्यसमा सबैभन्दा कुशल खेलाडी हुन्थे– दीपेन्द्र भट्ट । लामो समय नेपाली सेनाको लेफ्टिनेन्ट पदमा रहेर काम गरिसकेका भट्ट डेढ दशकदेखि अमेरिकामा हुनुहुन्छ । ड्यालस फोर्टवर्थबाट दुई घण्टा टाढा रहेको विचिटाफल्सदेखि पिकनिकमा सहभागी हुनका लागि उहाँ आइपुग्नुभएको थियो । जे काम गर्न पनि तत्पर खरानीटारकै ज्योति पाण्डेले आफैं मादल बजाएर हुन्छ कि गीत गाएर हुन्छ सहभागीलाई चुपचाप बस्नुपर्ने वातावरण दिँदै दिनुभएन । पेसाले रियल्टर अनु तामाङको तामाङसेलोको नृत्यले दर्शक र सहभागीलाई भरपूर मनोरञ्जन मिलेको थियो ।

पिकनिक सफल बनाउन मरिमेटेर सक्रिय दुई पात्र हुनुहुन्थ्यो । पिकनिकलाई सफल बनाउन हरेकले केही न केही योगदान गरे पनि दुई हप्तादेखि रातदिन खट्ने पात्रमा उत्तम लामिछाने र कृष्ण लोहनी हुनुहुन्थ्यो । चतुराले बेलासपुरका लोहनी र चोकदेका लामिछानेको खटाइ र परिश्रम नभएको भए नुवाकोटेको भव्य र ऐतिहासिक जमघट हुन सम्भव थिएन । उहाँहरूको खटाइले पिकनिक भव्य र सभ्य हुन ठूलो मद्दत पुगेको थियो । नुवाकोटको पिकनिककै लागि भनेर दुई सय माइल टाढा अस्टिनबाट विनोद कुइँकेल सपरिवार आउनुभएको थियो । शिखरबेँसीका कुइकेल लामो समयदेखि अमेरिकामै हुनुहुन्छ ।

बच्चाहरूलाई गेम खेलाएर मनोरञ्जन दिनेमा लामो समय शिक्षण पेसामा बिताएर केही महिनाअघि मात्र अमेरिका आउनुभएकी सुस्मिता पाठक निकै सक्रिय हुनुहुन्थ्यो । उहाँँलाई लामो समय पत्रकारिता गरेर आउनुभएकी सन्तोषी अधिकारीले साथ दिनुभएको थियो । नुवाकोटेको पिकनिकको खबर सुनेर चितवनका एकजना पूर्वशिक्षक आइपुग्नुभयो । नुवाकोटमा आपूmले पढाएका केही विद्यार्थी भेट्दा उहाँका आँखा रसाएका थिए । ‘निम्तो नभए पनि आफुले पढाएको जिल्लावासीले पिकनिक गर्दै छन् भन्ने सुनेर आएको । पुराना शिक्षक साथीहरू र विद्यार्थी भेट्दा हर्षले गद्गद् भएँ,’ उहाँ भन्दै हुनुहन्थ्यो ।

०५१ सालदेखि मानव अधिकारको क्षेत्रमा काम गर्दा दुप्चेश्वर रामतीका शिव आचार्य सहकर्मी हुनुहुन्थ्यो । त्यतिखेर गँगटेपूर्व नियमित यातायात छँदै थिएन । ढिकुरेसम्म कच्ची सडक थियो । तादीखोलामा पुल नभएको हुँदा वर्षायाममा ढिकुरे तरेर कुनै सवारीसाधन जान सक्दैनथे । त्यस्तो अवस्थामा आचार्य हिँडेर विदुरको बैठक भ्याउन आइपुग्नुहुन्थ्यो । उहाँसँगको अप्रत्याशित भेटले ‘पृथ्वी गोलो छ, बाँचिरहे कुनै न कुनै कुनामा अवश्य भेट हुन्छ’ भन्ने कुरालाई प्रमाणित ग¥यो । ०५४/५५ देखि उहाँसँग भेट भएकै थिएन ।

नुवाकोटको पिकनिकमा झन्डै चार सयजनाको सहभागिता थियो । नेपालका ७७ वटै जिल्लाका नेपालीको बसोवास रहेको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा यो सङ्ख्या भनेको उत्साहप्रद हो । किनकि एउटा जिल्लाले आयोजना गरेको, त्यसमाथि धेरैजनासम्म सूचना पु¥याउनै कठिन, जो–जतिले जानकारी पाए सबैजना आउन सकेनन् ।

नुवाकोटेको ड्यालस पिकनिकले यहाँको समाजमा छाप छोड्न सफल भएको छ । धेरैले चासो राख्ने पिकनिकको रूपमा चिनिएको छ । ‘कस्तो भयो त पिकनिक ?’ यो प्रश्न गत सातादेखि डिएफडब्लूका हरेक नुवाकोटेलाई आइरहेकै छ । मचाहिँ हाँसेर जवाफ दिन्छु, ‘यस्तो पिकनिक न त विगतमा भएको थियो । न त भविष्यमा हुने नै छ ।’ लाग्न सक्छ पिकनिक खाइयो, नाचगान भयो, रमाइलो भयो त के भयो ? जहाँ पनि हुने कुरा यही त हो । तर, होइन । यसपटकको पिकनिकले डिएफडब्लू मेट्रोप्लेक्समा नुवाकोटेको सङ्ख्या अनुमान गर्न सहज भएको छ । अर्को कुरा जिल्लामा केही पर्दा सहयोग गर्नुपर्दा सहज हुने परिस्थिति पनि बनेको छ ।

(भट्ट त्रिशूली प्रवाह साप्ताहिकका संस्थापक सम्पादक हुन् ।)