नुवाकोट, प्रतिनिधिसभा-२, प्रत्यक्ष प्रत्याशी, रास्वपा
विसं २०३४ साल कात्तिक २७ गते भाइटीकाका दिन जन्मनुभएका अच्युतम लामिछाने नुवाकोटवासीका लागि अपरिचित नाम होइन । आफ्ना पिताको पुख्र्यौली थलो र माताको जन्मथलो साबिक तुप्चे, हाल विदुर-७ तुप्चे नुवाकोटमै आफ्नो बालापन र स्कुले जीवन बिताउनुभएका लामिछानेले विद्यालय तहको अध्ययन चण्डेश्वरी मावि र रसुवाको बोगटीटारस्थित नीलकण्ठ माविबाट पूरा गर्नुभयो । उहाँको विवाह पनि विदुर-३ चैनपुरमै भएको छ । त्रिभुवन विश्वविद्यालय, महेन्द्ररत्न क्याम्पस ताहाचलबाट स्वास्थ्य तथा शारीरिक शिक्षा विषयमा प्रवीणता प्रमाणपत्र तहको अध्ययन पूरा गर्नुभएका लामिछानेले जन्जु भिजन विश्वविद्यालय, दक्षिण कोरियामा कोरियाली भाषाको समेत अध्ययन गर्नुभएको छ । उहाँले महेन्द्ररत्न क्याम्पसबाट स्नातक तथा योङ इन विश्वविद्यालय, द कोरियाबाट स्नातकोत्तर र खेल विज्ञानमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । विद्यार्थी जीवनबाटै मिहिनेत र स्वरोजगारमा तल्लीन डा. लामिछाने कर्मप्रतिको लगनशीलता नै जीवनको मूल्य हो भन्ने मान्यता राख्नुहुन्छ । खेलकुदको औपचारिक अध्ययन गरेको, स्वयम् तेक्वान्दो र योङ्मुदोका चौथो डन प्राप्त खेलाडी भएकाले अनुशासन, लगनशीलता र दृढतामा विश्वास तथा प्रयत्न, प्रतिबद्धता र परिणाममा ज्यादा केन्द्रित हुनुहुन्छ । उहाँले होटेल म्यानेजमेन्ट तथा व्यवस्थापनमा लामो अनुभव हासिल गर्नुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेल विज्ञानमा प्रशिक्षण दिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रशिक्षक तथा रेफ्रीको समेत भूमिका निर्वाह गरिसक्नुभएका डा. लामिछानेले खेलविज्ञका रूपमा राष्ट्रिय खेलकुद परिषद्मा पाँच वर्षभन्दा लामो समय अध्यापन तथा प्रशिक्षण गर्नुभएको छ । काठमाडौँस्थित हारती शिक्षा मन्दिर माविमा प्रधानाध्यापकका रूपमा १० वर्षभन्दा लामो समय सेवा गर्नुभएका डा. लामिछानेले परम्परागत शैलीको किताबी ज्ञानभन्दा फरक तरिकाले साना नानीबाबुको शारीरिक, मानसिक, बौद्धिक एवम् मनोवैज्ञानिक विकास गर्ने हेतुले आफ्नो विद्यालयमा व्यावहारिक, प्रयोगात्मक र रियल-वल्र्ड च्यालेन्जमार्फत शिक्षण सिकाइको उदाहरणीय तरिका अवलम्बन गर्नुभएको थियो ।
स्काउट, युनेस्कोको खेल विभागलगायत राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरका शिक्षा तथा खेलकुदका विभिन्न कार्यक्रममा आबद्ध डा.लामिछाने आफ्ना भोगाइ, सिकाइ, पढाइ र बुझाइलाई नीति निर्माण तहमा लगेर लागू गर्न चाहनुहुन्छ । केही दशकअघिसम्म हाम्रोजस्तै आर्थिक अवस्था भएको दक्षिण कोरिया कसरी विकसित मुलुकमा परिणत भयो भन्ने नजिकबाट देख्नुभएका उहाँ आफ्नो जन्मभूमि नेपाल, त्यसमा पनि जन्मभूमि नुवाकोटको भूमिलाई विकास र समृद्धिका बाटामा अग्रसर गराउने उद्देश्य र खाकासहित नयाँ दृष्टि र लक्ष्य लिएर नुवाकोट, प्रतिनिधिसभा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएको छ । दुई छोरी, श्रीमती र आमासहित नेपालमै बसेर सक्रिय प्राज्ञिक, सामाजिक र राजनीतिक भूमिका निर्वाह गर्दै आउनुभएका डा.लामिछानेका दुवै सन्तति हाल नेपालमै मास्टर्स र ब्याचलर तहमा अध्ययनरत छन् । भावी सन्ततिका लागि बस्नलायक देश बनाउने सङ्कल्पसहित राजनीतिमा होमिनुभएका लामिछानेले चुनावी परिणाम जे-जस्तो आए पनि सहर्ष स्विकारी निरन्तर नुवाकोटवासीका सेवामा रहिरहने प्रतिबद्धता गर्दै ‘त्रिशूली प्रवाह’ साप्ताहिकसँग निर्वाचनकेन्द्रित छलफल गर्न चाहनुभयो । उहाँसँगको कुराकानीको सारसङ्क्षेप :
गत २०७९ सालको निर्वाचनमा नुवाकोटका दुवै क्षेत्र गुमाएको रास्वपाकोे यसपटकको तयारी कस्तो छ ?
हिजो हामी परीक्षणमा थियौँ, आज हामी समाधानसहित मैदानमा छौँ । गत निर्वाचनको नतिजाले हामीलाई सुध्रिने र सिक्ने अवसर दिएको छ । यसपटक हाम्रो सङ्गठन गाउँगाउँ, टोलटोलसम्म पुगेको छ । हामी हारजितको अङ्कगणितमा मात्र होइन, नुवाकोटको आमूल परिवर्तनको मार्गचित्रसहित बलियो तयारीका साथ निर्वाचनमा होमिएका छौँ ।
तपाईं पहिलोपटक प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार भएर जनताका घरदैलामा जाँदा कस्तो पाउनुभयो ?
घरदैलामा जाँदा मैले मतदाताका आँखामा निराशा होइन, ‘आशा’ देखेको छु । पुराना दलबाट आजित जनताले रास्वपा र मजस्तो शिक्षित युवालाई एउटा भरपर्दो विकल्पका रूपमा हेरेको पाएँ । यस उत्साहले मलाई जिम्मेवारीबोध गराएको छ, मलाई जनता ढाँट्ने छुट छैन, मैले त परिवर्तन गर्न फागुन २१ कहिले आउला भनेर घन्टीमा मतदान गर्न आतुर मतदाता पाएँ ।
तपाईका पक्षमा निर्वाचन माहोल कस्तो छ ?
माहोल पूर्णतः परिवर्तनका पक्षमा छ । युवाले रास्वपाको वाचापत्र, बालेनको भावी प्रधानमन्त्रीको प्रस्ताव तथा मेरो शैक्षिक योग्यता र भिजनलाई रुचाउनुभएको छ भने ज्येष्ठ नागरिक बाआमाले ‘अब त नयाँलाई हेर्नुपर्छ’ भन्दै आशीर्वाद दिनुभएको छ । नुवाकोट क्षेत्र नं २ यसपटक विवेक प्रयोग गरेर यथास्थितिवादी उम्मेदवारलाई परास्त गर्न तथा नयाँ नुवाकोट बनाउनका लागि घन्टी बजाउन आतुर छ ।
तपाईं र पार्टीको निर्वाचनको एजेन्डा के हो ? निर्वाचित भएपछि गर्ने कार्यको खाका के-के छन् ?
हाम्रो मुख्य एजेन्डा ‘भ्रष्टाचारमुक्त सुशासन र प्रत्यक्ष डेलिभरी’ हो । मेरो खाका स्पष्ट छ – गुणस्तरीय शिक्षा, घरदैलामा स्वास्थ्य सेवा र नुवाकोटको कृषि, जलविद्युत् तथा पर्यटनलाई डिजिटल बजारसँग जोडेर रोजगारी सिर्जना गर्न नीति निर्माण तहमा आवाज बुलन्द पार्ने, जिल्लाको विकासका लागि नागरिकस्तरबाट उठेका योजना बजेटमा समावेश गर्न पहलकदमी गर्ने र बोलीमा होइन कार्यमा परिणाम देखाउने ।
युवाका लागि जिल्लाको समृद्धिको खाका के छ ?
हामी युवालाई खाडी होइन, स्वदेशमै झाडी फाँडेर उद्यमी बन्ने वातावरण बनाउनेछौँ । नुवाकोटलाई काठमाडौँको ‘नजिकको समृद्ध छिमेकी’ बनाउन सडक पूर्वाधार र सूचना प्रविधिको हब बनाउने मेरो योजना छ । उत्पादनमा आधारित कृषि अनुदान, सिपमूलक शिक्षा र औद्योगीकीकरण नै समृद्धिको आधार हो भन्ने तथ्यमा म र मेरो पार्टी स्पष्ट छ । म युवाकै प्रतिनिधित्व गर्दै निर्वाचनमा होमिएकाले युवाकै सल्लाह, सुझावमा अघि बढ्नेछु ।
तपाईंको क्षेत्रमा पुराना दल नेका, एमाले, नेकपा, सशक्त र बलियो रहेको भनिँदै छ । निर्वाचनमा कुन दलसँग तपाईंको प्रतिस्पर्धा हुने आकलन गर्नुभएको छ ?
हाम्रो प्रतिस्पर्धा कुनै व्यक्ति वा दलसँग होइन, वर्षाैँदेखि जकडिएको कुशासन र बेथितिसँग हो । पुराना दल कथित रूपमा सङ्ख्यामा बलिया होलान्, तर हामी विचार र योजनामा बलिया छौँ । जनताले अब ‘बलियो कहल्याइएको दल’ होइन, काम गर्ने असल उम्मेदवार र नयाँ दलमध्ये पनि रास्वपा रोज्नेछन् । मेरो प्रतिस्पर्धा नुवाकोटवासीको मतलाई अवमूल्यन गर्ने र राजनीतिलाई पेसा बनाई आसेपासे पोस्ने विसङ्गतिविरुद्ध हो ।
रास्वपा र अरू पार्टीमा के अन्तर छ र जनताले किन तपाईं र तपाईंको दललाई नै जिताउनुपर्ने ?
अरू पार्टी इतिहास बेच्छन्, हामीसँग भविष्य बनाउने अठोट छ, रास्वपामा नातावाद र भ्रष्टाचारको ठाउँ छैन । म आफैँ एक डाक्टर (शिक्षित व्यक्ति) भएकाले नीति निर्माणमा मेरो विज्ञता काम लाग्छ । नुवाकोटको आवाज संसद्मा तर्कपूर्ण तवरले बुलन्द पार्न मेरो उपस्थितिको विकल्प यस क्षेत्रका मतदाताले देख्नुभएको छैन जस्तो लाग्छ । मेरो जित सम्पूर्ण नुवाकोटेको जित हुनेछ । म मतदाताले शिर निहुराउने गरी काम गर्नेछैन ।
रास्वपाको जिल्ला र केन्द्रमा आन्तरिक पार्टी सङ्घर्ष छताछुल्ल देखिन्छ । यसलाई मिलाउन नसके त निर्वाचन परिणाम तपाईंहरूले सोचेजस्तो आउला र ?
लोकतन्त्रमा विचारको मन्थन हुनु स्वाभाविक हो, यसलाई सङ्घर्ष होइन ‘आन्तरिक लोकतन्त्र’ भनिन्छ । केन्द्रका बारेमा पार्टीले स्पष्ट पारिसकेको छ । अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट उम्मेदवार भएर दोस्रो प्रतिस्पर्धी हुनुभएका सुमन पाण्डे सरको कुरा गर्नुभएको हो भने सुरुमा उहाँको थोरै असन्तुष्टि थियो, जुन स्वाभाविक पनि हो भन्ने मैले बुझेको छु । अहिले हामी चुनावको मैदानमा एकढिक्का भएर पार्टीको अवधारणालाई लिएर सँगसँगै गइरहेका छौँ । उहाँको हरियाली नुवाकोटको सपना मैले पूरा गर्ने वाचा गरेको छु । उहाँ स्पष्ट र निष्कलङ्कित, सफल व्यवसायी हुनुहुन्छ, उहाँले यस क्षेत्रमा कोर्नुभएको विकास र समृद्धिको खाका एवम् पर्यटक हब बनाउने योजनालाई अगाडि बढाउने जिम्मेवारीसहित उहाँकै साथमा म जनताका घरदैलामा पुगिरहेको छु । जनताले पार्टीको सानो खटपट होइन, आफ्नो देशको ठुलो सङ्कट हेरिरहेको मैले पाएँ । त्यसैले हाम्रो एकता र जनताको साथले परिणाम सुखद आउनेमा म ढुक्क छु । हाम्राबारेमा अनर्गल प्रचारप्रसार गरेर मतदातालाई भ्रममा पार्न केही समूह लागिरहेका छन् । उक्त भ्रम चिर्दै हामी विजय हुने लक्ष्यमा दृढताका साथ लागेका छौँ ।






प्रतिक्रिया