+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट र रसुवामा जलविद्युत् परियोजनाले ल्याएको परिवर्तन

नुवाकोट र रसुवामा जलविद्युत् परियोजनाले ल्याएको परिवर्तन
राजनप्रसाद प्याकुरेल
१ महिना अगाडी
  • ऊर्जा उत्पादन : नुवाकोट र रसुवामा हालसम्म २३७ मेगावाट विद्युत् उत्पादन भइसकेको तथा ६०५ मेगावाट थप उत्पादन हुने तयारीमा छ ।
  • पूर्वाधार विकास : जलविद्युत् आयोजनाले सडक, शिक्षा, स्वास्थ्यलगायत ग्रामीण पूर्वाधारको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।
  • आर्थिक सुधार : स्थानीयवासीलाई रोजगारी र आयआर्जनको अवसर दिँदै जीवनस्तर उकास्न मद्दत पुगेको छ ।

विदुर । नुवाकोट र रसुवा जिल्लामा पछिल्ला केही दशकदेखि सञ्चालनमा आएका जलविद्युत् परियोजनाले ती क्षेत्रको सामाजिक, आर्थिक र भौतिक विकासमा उल्लेखनीय योगदान पुर्याएका छन् । हालसम्म यी जिल्लाबाट करिब २३७ मेगावाट विद्युत् उत्पादन भइसकेको छ भने निकट भविष्यमा ६०५ मेगावाट थप उत्पादन हुने अपेक्षा गरिएको छ । सोअनुसार त्रिशूली र यसका सहायक नदीमा ८४२ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता भएको देखिन्छ ।

प्रमुख जलविद्युत् आयोजना तथा तथ्याङ्क
त्रिशूली जलविद्युत् केन्द्र – करिब ६० वर्षअघि नुवाकोटको विदुर क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरेको सो आयोजना सुदृढीकरणपछि २४ मेगावाट क्षमताको छ । यसले काठमाडौँ उपत्यकासमेत उज्यालो बनाएको थियो ।
देवीघाट जलविद्युत् आयोजना – वि.सं. २०४० मा निर्मित सो आयोजना हाल १५ मेगावाट क्षमताको छ ।

चिलिमे जलविद्युत् आयोजना – नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको संयुक्त लगानीमा वि.सं. २०५८ देखि व्यावसायिक उत्पादनमा रहेको यस आयोजनाको क्षमता २२ मेगावाट छ । माथिल्लो त्रिशूली ३ ‘ए’ (६० मेगावाट) – वि.सं. २०७५ देखि उत्पादन गर्दै आएको छ ।

रसुवागढी जलविद्युत् आयोजना (१११ मेगावाट) – चिलिमे कम्पनीको लगानीमा सम्पन्न । रसुवा भोटेकोशी (१२० मेगावाट), चिलिमे भोटेकोशी (५२ मेगावाट), टिमुरे जलविद्युत् (४.८ मेगावाट) – निर्माणाधीन । सान्जेन (४२.५ मेगावाट) र अपर सान्जेन (१४.८ मेगावाट) – करिब ५८ मेगावाट क्षमताका आयोजनाहरू अन्तिम चरणमा छन् । माथिल्लो त्रिशूली बी (१०२ मेगावाट) र माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) – कोरियाली लगानीमा निर्माणाधीन । मैलुङ नदीमा तीन आयोजना – क्रमशः पाँच, १४.३ र साढे ६ मेगावाट क्षमताका छन् । तादी र लिखु खोलामा आदिशक्ति र बुद्धभूमि हाइड्रोपावर कम्पनीबाट पाँच-पाँच मेगावाट र हिरारत्न हाइड्रोपावर कम्पनीबाट तीन मेगावाट क्षमताको आयोजना निर्माणाधीन छन् ।

सौर्य ऊर्जा पहल
वि.सं. २०७५ मा नुवाकोटको देवीघाटमा निर्मित २५ मेगावाटको सौर्य ऊर्जा प्लान्ट नेपालकै सबैभन्दा ठुलो सौर्य आयोजना हो । यो आयोजनाले अहिले व्यावसायिक उत्पादनमा रही काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति सन्तुलनमा मद्दत  पुर्याइरहेको छ । यसले जलाशययुक्त जलविद्युत् परियोजनालाई जल बचत गर्न सहयोग पु¥याएको छ ।

पूर्वाधार र सामाजिक विकासमा योगदान
यी परियोजनाको निर्माणले सडक, शिक्षा, स्वास्थ्य, ग्रामीण सडकजस्ता क्षेत्रमा ठुला भौतिक परिवर्तन ल्याएका छन् । उदाहरणस्वरूप काठमाडौँसँग नुवाकोटलाई जोड्ने पासाङल्हामु राजमार्ग त्रिशूली जलविद्युत् परियोजनाको सामग्री ढुवानीका लागि निर्माण गरिएको थियो । परियोजनाहरूले स्थानीय बासिन्दालाई रोजगारी दिने र आयआर्जनका अवसर सिर्जना गर्ने काममा महत्त्वपूर्ण भूमिका खेलेका छन् । साथै परियोजनाआसपासका क्षेत्रमा शिक्षण संस्था, स्वास्थ्य संस्था र ग्रामीण विकासका पूर्वाधार निर्माणमा समेत सहयोग पुगेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

राजनप्रसाद प्याकुरेल