किसान कल सेन्टर स्थापना

  • त्रिशूली प्रवाह
  • १८ भाद्र २०७७, बिहीबार १०:३३
Logo of trishuli prawaha

लाँकुरीभञ्ज्याङ, पञ्चकन्या गाउँपालिकाले किसानलाई पर्ने समस्यालाई समाधान गर्ने उद्देश्यले नुवाकोट जिल्लामै पहिलोपटक किसान कल सेन्टर स्थापना गरेको छ । पञ्चकन्या गाउँपालिकाले कृषि क्षेत्रका समस्या समाधान गर्नका लागि किसान कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

पञ्चकन्या गाउँपालिकाभित्रका किसानमा पर्ने समस्यालाई समाधान गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक किसान कल सेन्टर स्थापना गरिएको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले जानकारी दिए । कृषि उपजको ढुवानी, बिक्री–वितरण, मल तथा बिउविजनको आपूर्तिलगायत काममा समस्या किसानका हरेक गुनासासँगै कृषक, कृषि उपजको बिक्रेता, ढुवानीकर्ताले तरकारी, फलफूल, बिउ, मलखादलगायत समस्या समाधन गर्नका लागि गाउँपालिकामा स्थापना गरिएको किसान कल सेन्टरमा फोन गर्न सक्नेछन् ।

गाउँपालिका क्षेत्रभित्रका कृषकका लागि स्थापना गरिएको किसान कल सेन्टर गत मंगलबारबाट सुचारु भएको छ । गाउँपालिकाका नागरिकको मुख्य पेसा कृषि रहेको र लामो समयदेखि बन्दाबन्दीले गर्दा खेतीमा आइपर्ने समस्या समाधानका लागि पञ्चकन्याका किसान अन्योलमा बस्न नपरोस् भन्दै सेन्टरको स्थापना गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले जानकारी दिए । किसानबाट आएका गुनासा र सुझाब सकेसम्म गाउँपालिकाले नै समाधान गर्ने र गाउँपालिकामा समाधान हुन नसके सम्बन्धित क्षेत्रका प्राविधिक तथा कृषि विज्ञसँग परामर्श गर्नेसमेत उनले बताए ।