त्रिशूली । नुवाकोट, रसुवा र धादिङ जिल्लाको पहिलो स्कुल त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापकको जिम्मेवारी सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले मङ्गलबारदेखि पाउनुभएको छ । प्रअ महेन्द्र राउतले उमेर हदका कारण भदौ ३ गते ६० वर्ष उमेर पुग्नुभएकाले अनिवार्य अवकाश पाउनुभएको हो ।
विद्यालय व्यवस्थापन समितिले सोही दिन दवाडीलाई प्रअमा नियुक्त गर्ने निर्णय गरेको विदुर–१ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्षको समेत जिम्मेवारी सम्हाल्नुभएका लेनिन रञ्जितले जानकारी दिनुभयो । सर्लाहीमा जन्मनुभएका राउत विसं २०४५ वैशाखदेखि निरन्तर मावि विज्ञान शिक्षक पदमा सेवारत रहँदै विगत १४ वर्षदेखि प्रअमा कार्यरत रहनुभएको थियो । उहाँलाई विद्यालयले सोही दिन उहाँकै जन्मदिनको कार्यक्रम आयोजना गरी बिदाइ पनि ग¥यो । प्रअमा नियुक्त दवाडीले २०५१ मा एसएलसी तथा कक्षा ११ र १२ त्रित्रिमाविबाट उत्तीर्ण भई सप्तगण्डकी बहुमुखी क्याम्पस चितवनबाट बिएड र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट एमएड गर्नुभएको छ । पैँतालिस वर्षीय दवाडीले २०६२ जेठ २ गते महेन्द्र मावि थानसिङमा अस्थायी मावि अङ्ग्रेजी शिक्षक नियुक्त भई शिक्षण पेसा सुरू गर्नुभएको थियो । उहाँ २०६२ फागुन १९ गतेदेखि सोही माविबाट अस्थायी मावि अङ्ग्रेजी शिक्षकमा त्रित्रिमाविमा सरूवा हुनुभएको थियो । विसं २०७१ साउन ९ गते मावि द्वितीय श्रेणीमा पदोन्नति हुनुभएका दवाडीले २०७१ मङ्सिर १५ देखि सहायक प्रअको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
प्रतिक्रिया