शिवराम रिजाल
भाइस प्रिन्सिपल
काठमाडौँ बर्नहार्ट सेकेन्डरी स्कुल एन्ड कलेज
बल्खु, काठमाडौँ
- बर्नहार्ट कलेजले २५ वर्षको सफल शैक्षिक यात्रा पूरा गर्दै ‘रजतजयन्ती’ मनाएको र यो सानोस्तरबाट सुरु भएर अहिले नेपालकै उत्कृष्ट शिक्षण संस्थामध्ये एक बन्न सफल भएको छ ।
- कलेज विद्यार्थीकेन्द्रित शिक्षण पद्धति, व्यावहारिक सिकाइ, प्रविधिको प्रयोग र किफायती शुल्क संरचना अपनाएकाले दूरदराजका विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ ।
- विश्वप्रतिस्पर्धामा शिक्षा सफल बनाउनका लागि शिक्षण शैली, सकारात्मक वातावरण र जीवनोपयोगी मार्गनिर्देशन महत्त्वपूर्ण हुन्छ भन्ने दृष्टिकोण राखिएको छ ।
- विदेश जाने प्रवृत्ति केवल शिक्षा कमजोर भएकै कारण होइन, ग्लोबलाइजेसन र अवसरको खोज पनि मुख्य कारण हुन्, तर यस प्रवृत्तिले योग्य जनशक्तिको पलायन गराउने खतरा पनि बोकेको छ ।
- एसइई नतिजा राम्रो हुनु केवल देखावटी नभएर शिक्षण पद्धति, शिक्षकको योगदान, प्रविधि र वातावरणको सुधारलाई सङ्केत गर्छ भन्ने आशावादी धारणा प्रस्तुत गरिएको छ ।
काठमाडौँ, बल्खुस्थित बर्नहार्ट कलेज पछिल्लो समय धेरै अब्बल विद्यार्थीको रोजाइमा परेको छ । रजत वर्ष मनाएको बर्नहार्ट अहिले राजधानीको अब्बल कलेजका सूचीमा नवौँ नम्बरमा पर्न सफल भएको छ । वि.सं. २०५७ मा स्थापित काठमाडौँ बर्नहार्ट सेकेन्डरी स्कुल एन्ड कलेजले विद्यार्थीलाई बौद्धिक शिक्षाका साथसाथै व्यावहारिक ज्ञान दिइरहेको छ । यसले स्कुलतर्पm प्रिप्राइमरीदेखि कक्षा १० सम्म, कक्षा ११ र १२ तर्पm विज्ञान, व्यवस्थापन र मानविकी, स्नातकतर्पm त्रिभुवन विश्वविद्यालयको बिएस्सी, सिएसआइटी, बिसिए, बिएएसडब्लू, बिबिएस, बिबिएम र एमबिएसमा कक्षा सञ्चालन गर्दै आइरहेको छ । लामो समयदेखि शिक्षण क्षेत्रमा रहनुभएका सो कलेजका भाइस प्रिन्सिपल शिवराज रिजालको जन्म नुवाकोट, विदुर-७ तुप्चेमा भएको हो । भाइस प्रिन्सिपल रिजालसँग कक्षा ११ को भर्ना अभियानको सन्दर्भ र नेपालको शैक्षिक अवस्थाबारे त्रिशूली प्रवाह साप्ताहिकका लागि विष्णु तारुकेले गरेको कुराकानीको सम्पादित अंश :
काठमाडौँ बर्नहार्ट कलेजले २५ वर्ष पूरा गरेका अवसरमा ‘रजतजयन्ती’ मनाएको छ । यस्तो महत्त्वपूर्ण मोडमा पुग्दा तपाईंहरूलाई कस्तो अनुभूति भएको छ ? प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
काठमाडौँ बर्नहार्ट कलेजले २५ वर्षे शैक्षिक यात्रा पूरा गरेको छ । गत असार २४ गते मात्र हामीले भव्यताका साथ रजतजयन्ती मनायौँ । कुनै पनि शैक्षिक संस्थाले आफ्नो सिल्भर जुब्ली मनाउन पाउनु केवल उमेरको कुरा होइन, यो निरन्तर सुधार, समर्पण र विश्वासको प्रतिबिम्ब हो । कलेज देशैभरिबाट आउने विद्यार्थीलाई शैक्षिक मार्गनिर्देशन गर्ने गरी स्थापना भएको संस्था हो । सुरुआती चरणमा सानो आकारबाट सुरु भएको यो संस्था आज फराकिलो र विशाल वृक्ष बनेको छ । यस यात्रामा हामी थुप्रै मोड र चुनौती पार गर्दै आएका छौँ । प्रत्येक चुनौतीले हामीलाई अझ मजबुत र प्रतिबद्ध बनाएको छ । कलेजका संस्थापकको दूरदृष्टि, प्रशासनिक टिमको लगनशीलता, शिक्षकको निष्ठा र विद्यार्थीको सक्रिय सहभागिताले नै यस संस्थालाई विश्वासिलो शैक्षिक गन्तव्यका रूपमा चिनाएको हो । काठमाडौँ बर्नहार्ट विधि र प्रक्रियामा अलिकति पृथक तरिकाले शैक्षिक अध्यापन गराउने संस्थामा पर्न जान्छ । हामी ‘विद्यार्थीले आफैँ पढ्न सक्ने’ क्षमता विकासमा विश्वास गर्छौँ । हामीले कक्षाकोठामा किताब मात्रै होइन, व्यावहारिक सिकाइ, समूहगत छलफल, परियोजनामा आधारित अध्ययन र करियर गाइडेन्समा जोड दिएका छौँ । त्यसैले काठमाडौँ बर्नहार्टको इतिहासदेखि आजसम्म हेर्दा यहाँबाट उत्तीर्ण विद्यार्थी विभिन्न क्षेत्रमा पुगेका छन् । आज बर्नहार्ट एउटा अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापना हुन सकेको छ । यो हाम्रो २५ वर्षको मिहिनेतको परिणाम हो ।
काठमाडौँको बर्नहाट नै भनेर गाउँदेखि दूरदराजका विद्यार्थी यहाँ किन आउने गर्छन् ?
सबैभन्दा पहिलो पक्ष भनेको विद्यार्थीले अध्ययन किन गर्ने, कसरी गर्ने, कहाँ गर्ने, दोस्रो, अभिभावकले आफ्ना नानीबाबु अथवा भाइबहिनीलाई कस्तो शैक्षिक संस्था छनोट गर्ने, कस्तो विषय छनोट गर्ने, गराउने र भावी बाटो कसरी देखाउने भन्ने महत्त्वपूर्ण पक्ष हो । यही सोचलाई आत्मसात् गर्दै कलेजले शिक्षाको आधारभूत उद्देश्य के हो भन्ने स्पष्ट दृष्टिकोण दिँदै आएको छ । यो त्यस्तो शैक्षिक संस्था हो, जसले विद्यार्थीलाई विद्यार्थीकेन्द्रित विधि-पद्धतिबाट शैक्षिक क्रियाकलापमा संलग्न गराउँछ । मुख्य कुरा शिक्षण सिकाइ क्रियाकलाप विद्यार्थीकेन्द्रित, आधुनिक पद्धति, प्रक्रियाबाट शिक्षण सिकाइ क्रियाकलाप गराउँदा हरेक विद्यार्थीले आफ्नो अवस्थाअनुसार शैक्षिक वृत्तिका लागि प्रयत्न गर्न सक्ने वातावरण हामी बनाउँछौँ । शिक्षा प्रणालीमा प्रविधिको प्रयोग पनि बर्नहार्टको अर्को विशेषता हो । स्मार्ट कक्षा, डिजिटल लर्निङ टुल्स, प्रोजेक्ट वर्कबाट हरेक विद्यार्थीले आफ्नास्तरबाट आफूलाई ग्रोथ गर्न सक्नुहुन्छ । यी पक्षले विद्यार्थीको वृत्ति विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । यहाँको अर्को महत्त्वपूर्ण पक्ष भनेको आर्थिक रूपमा किफायती हो । बर्नहार्ट कलेजले गुणस्तरीय शिक्षालाई केवल सम्पन्न वर्गका लागि सीमित नराख्ने नीति लिएको छ । यहाँको शुल्क संरचना सामान्य स्कुलस्तरको खर्चअनुसार तय गरिएको छ, जसले गर्दा दूरदराजका वा आर्थिक हिसाबले कमजोर परिवारका विद्यार्थी पनि सजिलै अध्ययन गर्न सक्छन् । सामान्य हिसाबले विद्यार्थीले आफूले स्कुल लेभलमा तिर्ने खर्चले नै आर्थिक व्यवस्थापन गर्न सक्छन् । तथापि कतिपय दुर्गमबाट आउने अभिभावक अथवा विद्यार्थी भाइबहिनीलाई आर्थिक पक्षले पनि उत्तिकै प्रभाव पार्छ । त्यसैले हाम्रो छात्रवृत्ति योजनाले पनि विशेष रूपमा ग्रामीण तथा मेधावी विद्यार्थीलाई आकर्षित गरेको छ । हामीले एसइईमा ल्याएको जिपिए, कलेजको प्रवेश परीक्षाको नतिजालगायत आधारमा छात्रवृत्ति दिने गरेका छौँ जसको सहायताले कक्षा ११ र १२ को सम्पूर्ण अध्ययन धेरै कम खर्चमा पूरा गर्न सकिन्छ ।
अहिले हाम्रो शिक्षा प्रणालीले विश्वबजारमा प्रतिस्पर्धा गर्न सकेको छैन भन्ने आलोचना भइरहेको छ, यसलाई कसरी लिनुभएको छ ?
म यसलाई अलिकति फरक तरिकाले बुझ्नुपर्छ भन्छु । सबैभन्दा पहिला हामीले सही वातावरण दिनु आवश्यक छ । हरेक विद्यार्थीमा सम्भावना छ र त्यो सकारात्मक दृष्टिबाट हेर्नु आवश्यक छ । हामीले सबैभन्दा पहिले गर्नुपर्ने कुरा भनेको विद्यार्थीलाई सही वातावरण उपलब्ध गराउनु हो । किनभने, हरेक विद्यार्थीभित्र केही न केही अद्वितीय सम्भावना लुकेको हुन्छ । त्यस सम्भावनालाई पहिचान गर्ने, पोषण गर्ने र प्रोत्साहन दिने काम शिक्षण संस्थाले गर्नुपर्छ । यदि विद्यार्थीलाई सकारात्मक दृष्टिकोण, व्यावहारिक सिप र जीवनोपयोगी मार्गनिर्देशन प्रदान गरियो भने उनीहरू केवल परीक्षा पास गर्नाका लागि होइन, विश्वप्रतिस्पर्धाका लागि पनि तयार हुन सक्छन् । बर्नहार्टले यही दृष्टिकोणलाई आत्मसात् गर्दै आफ्ना विद्यार्थीलाई शिक्षण पद्धतिमा फरक र प्रभावकारी शैलीमा तयार पार्ने प्रयास गर्दै आएको छ । बर्नहार्टमा अध्ययन गरेका विद्यार्थी आज देशका प्रतिष्ठित संस्थामा नेतृत्वदायी भूमिकामा छन् । तिनले विदेशका विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा क्रियाशील भएर आफ्नो क्षमताको प्रदर्शन गरिरहेका छन् । त्यस अर्थमा सिस्टममा मात्र दोष देखेर शिक्षा सुधार हुँदैन, कसरी पढाउने, के सिकाउने र विद्यार्थीलाई कसरी जीवनका लागि तयार पार्ने भन्ने पनि शिक्षण संस्थाको जिम्मेवारी हो । बर्नहार्ट यसमा गर्व गर्न सक्छ कि आफ्ना विद्यार्थी विभिन्न क्षेत्रमा सफल भएका थुप्रै उदाहरण छन् । त्यसैले पनि कलेज विद्यार्थीका लागि एउटा राइट च्वाइस र अभिभावकका लागि किफायती संस्था बन्न सक्छ ।
अहिले कक्षा १२ सकिएपछि विद्यार्थी ठुलो सङ्ख्यामा विदेश जान खोज्ने प्रवृत्ति बढिरहेको छ, के यो नेपालमै स्नातक तहको शिक्षा राम्रो नभएको सङ्केत हो ?
विद्यार्थी विदेश जाने प्रवृत्तिलाई सतही रूपमा मात्र ‘नेपालको शिक्षा राम्रो छैन’ भनेर बुझ्नु न्यायोचित हुँदैन । म यसलाई दुई तहबाट बुझ्छु । पहिलो, अहिलेको समय विश्वव्यापीकरणको युग हो । विश्वका विश्वविद्यालय खुला प्रतिस्पर्धामा छन् । ती संस्थाले आफ्ना कार्यक्रमबारे विश्वभरि प्रचारप्रसार गर्ने, छात्रवृत्ति दिने, क्याम्पस जीवनको आकर्षण प्रस्तुत गर्ने आदि विभिन्न उपायमार्फत अन्तर्राष्ट्रिय विद्यार्थीलाई तानिरहेका छन् । परिणामस्वरूप हाम्रो देशका युवाले पनि त्यो खुला ढोका हुँदै अध्ययनका लागि विदेश जाने अवसर प्राप्त गरिरहेका छन् । यसलाई पूर्ण रूपमा नकारात्मक भन्न मिल्दैन । दोस्रो, यो ट्रेन्डले केही गम्भीर चुनौती पनि जन्माइरहेको छ । अध्ययनका नाममा देश छाडेर गएका थुप्रै विद्यार्थी स्थायी रूपमै उतै बस्ने खालको प्रवृत्ति देखिन्छ । नेपालजस्ता विकासोन्मुख देशका लागि यो प्रवृत्ति मस्तिष्क पलायनका रूपमा देखिन थालेको छ । राष्ट्रिय विकासको मेरुदण्ड योग्य, दक्ष जनशक्ति देशभित्र नबसी विदेशमै बस्न थाल्नु चिन्ताको विषय हो । हाम्रा शैक्षिक संस्था नभएका होइनन्, यहाँ उत्कृष्ट शिक्षण संस्था छन् जसले स्नातक तहमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर, अन्तर्राष्ट्रिय शैक्षिक बजारले सिर्जना गरेको आकर्षण र देशको आन्तरिक चुनौतीपूर्ण अवस्थाले गर्दा विद्यार्थी विदेशी गन्तव्यतर्फ आकर्षित भइरहेका छन् । यसर्थ हामीले देशमै गुणस्तरीय शिक्षा सम्भव छ भन्ने सकारात्मक सोच, विश्वास र वातावरण स्थापित गर्नु आवश्यक छ ।
गत वर्षको तुलनामा यस वर्ष एसइईमा उत्तीर्ण दर बढेको देखिन्छ, साँच्चै शिक्षाको गुणस्तर नै बढेको हो कि देखावटी सुधार मात्र हो ?
म यस विषयमा आशावादी दृष्टिकोण राख्छु । मेरो बुझाइमा शिक्षाको गुणस्तरमा केही हदसम्म सुधार भएको हो । सुधार सम्भव छ र हुँदै छ भन्ने कुरामा म सकारात्मक छु । हरेक शिक्षक, विद्यालय प्रशासन तथा व्यवस्थापनले म मेरो विद्यालय राम्रो बनाउँछु भनेर सोचाइ राख्दा, म मेरो कक्षाकोठालाई प्रभावकारी बनाउँछु भनेर सोचिराख्दा, हरेक कक्षाकोठामा विद्यार्थीको स्तरअनुसारको अध्यापन विधि लिइराख्दा विद्यार्थीमा रूपान्तरण सम्भव छ । एसइईमा सहभागी हुने विद्यार्थी प्रायः १५-१६ वर्ष उमेरका हुन्छन् । यस उमेरका विद्यार्थी अत्यन्त ग्रहणशील हुन्छन् । तिनीहरूले चाँडै बुझ्न, सोच्न र प्रतिक्रिया दिन सक्ने क्षमता राख्छन्, तर त्यस क्षमतालाई दिशानिर्देश गर्नु शिक्षकको कर्तव्य हो । यदि शिक्षकले सही विधि, सही तरिका र प्रेरक शैली अपनाउँछन् भने हरेक कक्षाकोठा परिवर्तनको थलो बन्न सक्छ । एसइईको नतिजा बढ्नु भनेको केवल सङ्ख्या मात्र होइन, यसको पछाडि कति विद्यालयले नयाँ प्रविधि अपनाए, कति शिक्षकमैत्री वातावरण तयार भयो, अनि कति अभिभावक संलग्न भए भन्ने पनि झल्किन्छ । तसर्थ रिजल्टको सकारात्मक पक्षलाई नकारात्मक दृष्टिकोणले मात्रै हेर्न मिल्दैन । सुधार सम्भव छ भन्ने विश्वासका साथ हामीले यसलाई अगाडि बढाउनुपर्छ । अझ ठुलो सुधारका लागि निरन्तर प्रतिबद्धता र समन्वय आवश्यक छ ।
प्रतिक्रिया