महेन्द्र राउत
प्रधानाध्यापक
त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय
विदुर-१, त्रिशूलीबजार, नुवाकोट
– विद्यालयले अतिरिक्त कक्षा, शनिवासरीय परीक्षा, टिचर सपोर्ट टिम, विभागीय छलफल, कमजोर विद्यार्थीका लागि विशेष कक्षा र नियमित अभिभावक भेटघाटमार्फत शैक्षिक सुधार गरेको छ ।
– विद्यालयमा पुस्तकालय, ई-लाइब्रेरी, कम्प्युटर ल्याब, स्मार्ट कक्षाकोठा, विज्ञान प्रयोगशालालगायत सुविधा छन् । कक्षा ११-१२ मा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा सङ्काय उपलब्ध छन् । यस वर्षदेखि होटेल म्यानेजमेन्ट र कानुन विषय पनि थपिएको छ ।
– विद्यालयमा हाल १,६५० भन्दा बढी विद्यार्थी छन् । कक्षा तीनदेखि १२ सम्म एकभन्दा बढी सेक्सन व्यवस्था छ, जसले विद्यार्थीको विश्वास र विद्यालयको लोकप्रियता दर्शाउँछ ।
– निःशुल्क विज्ञान शिक्षाको व्यवस्था, गुणस्तरीय पठनपाठन र जीवनोपयोगी सिप सिकाउने अभ्यासले विद्यार्थीलाई जिल्लामै अध्ययन गर्न प्रेरित गरेको छ र काठमाडौँसरहको शिक्षा दिने गरिएको छ ।
– विद्यालयबाट डाक्टर, इन्जिनियर, प्रशासक, मन्त्री, मुख्यमन्त्रीजस्ता व्यक्तित्व निस्किएका छन् जुन विद्यालयको सफलताको प्रमाण हो र सही शैक्षिक मार्गको परिणाम हो ।
विसं २०२२ मा सर्लाहीमा जन्मनुभएका महेन्द्र राउत त्रित्रि माविमा विसं २०४५ वैशाखदेखि निरन्तर सेवारत हुनुहुन्छ । विगत १४ वर्षदेखि प्रधानाध्यापक पदमा कार्यरत उहाँ समग्र विद्यालय र नुवाकोटको शिक्षा विकासका संवाहक मानिनुहुन्छ । जिल्लामै मावि प्रथम श्रेणीमा कार्यरत तीन शिक्षकमध्ये एक रहनुभएका राउत यसै वर्षमा उमेर हद (६०) का कारण अवकाश पाउँदै हुनुहुन्छ । उहाँसँग त्रित्रि मावि र शिक्षा विषयका सेरोफेरोमा लिइएको अन्तर्वार्ताको सम्पादित अंश :
त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको विगतको अवस्था कस्तो थियो ?
त्रित्रि मावि विसं २००७ मा स्थापित नुवाकोट, रसुवा र धादिङ क्षेत्रकै पहिलो सामुदायिक विद्यालय हो । स्थापनाकालदेखि नै ‘पश्चिम १ नं’ को उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित शैक्षिक चेतनाको दियोलाई हामी निरन्तर प्रज्वलित बनाउन लागिरहेका छौँ ।
विद्यालयको हालको शैक्षिक, भौतिक, जनशक्ति अवस्था कस्तो छ ? विषय विशेषज्ञ शिक्षक कति रहेका छन् ?
हालको शैक्षिक व्यवस्थापन अवस्थालाई मूल्याङ्कन गर्ने हो भने विद्यालयको शैक्षिक गतिविधिलाई प्रभावकारी रूपमा चलायमान र गतिशील बनाउने महत्त्वपूर्ण पक्ष भनेका विद्यालयका शिक्षक तथा कर्मचारी नै हुन् । हालको एसइई परीक्षा र विगतमा कक्षा १२ को नतिजाले यस कुरालाई पुष्टि गर्छ । विद्यालय भौतिक पूर्वाधारसम्पन्न हुनाका साथसाथै बढ्दो विद्यार्थीको चापलाई मध्यनजर गर्दै नयाँ कक्षाकोठा भवन थप गर्दै जाने सोचमा छौँ भने लाइब्रेरी, ई-लाइब्रेरी, पर्याप्त मात्रामा कम्प्युटर ल्याब, स्मार्ट कक्षाकोठा, विज्ञान प्रयोगशाला (फिजिक्स, केमेस्ट्री, बायोलोजी, कम्प्युटर साइन्स र म्याथम्याटिक्स ल्याब) जस्ता शिक्षण सिकाइलाई प्रभावकारी दिगो बनाउन महत्त्वपूर्ण मानिने अमूल्य निधि हामीसँग छन् । साथसाथै कर्मठ, योग्य, अनुभवी शिक्षक हाम्रा सम्पत्ति हुन् भने अभिभावक तथा विद्यार्थी हाम्रा प्रेरणका स्रोत हुन् ।
विद्यार्थी सङ्ख्या कस्तो छ ?
हाल प्ले ग्रुपदेखि कक्षा १२ सम्म विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्या एक हजार ६ सय ५० भन्दा माथि छ ।
जिल्लाकै पहिलो र पुरानो विद्यालयको भौतिक पूर्वाधार र जनशक्ति पर्याप्त हुँदाहुँदै पनि विद्यालयले उत्कृष्टता हासिल गर्न सकेको छैन नि ?
उत्कृष्टताको मापन यहाँले कसरी गर्नुहुन्छ त्यो त थाहा भएन, तैपनि हालको एसइई र विगतको कक्षा १२ को नतिजाले के पुष्टि गर्छ भने यस विद्यालयको नतिजा हेर्नलायक छ । त्यसैले त आमसरोकारवाला, विद्यार्थी तथा अभिभावकको प्रमुख गन्तव्य र रोजाइको शैक्षिक केन्द्रका रूपमा सधैँ स्थापित छ नि, होइन र ?
कक्षा ११ र १२ मा कुन-कुन विषयमा अध्ययन-अध्यापन भइरहेको छ ?
कक्षा ११ र कक्षा १२ मा विज्ञानतर्फ फिजिक्स, केमेस्ट्री, बायोलोजी र कम्प्युटर साइन्स, व्यवस्थापनतर्फ होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र बिजनेस स्टडिज, मानविकीतर्फ ऐच्छिक अङ्ग्रेजी र नेपाली, शिक्षातर्फ ऐच्छिक अङ्ग्रेजी र गणित छन् । होटेल म्यानेजमेन्ट र कानुन विषयचाहिँ यसै शैक्षिक वर्षदेखि सुरुवात गरेका छौँ । यसै शैक्षिक सत्रदेखि विज्ञान प्रवद्र्धन कार्यक्रमअन्तर्गत कक्षा ११ र १२ मा विज्ञान विषय निःशुल्क रूपमा पठनपाठनको व्यवस्था मिलाइएको छ, जसका कारण आर्थिक रूपले विपन्न बालबालिका गुणस्तरीय शिक्षामा पहुँच राख्न सफल हुनेछन् ।
एसइईमा केही वर्षदेखि नतिजा सुधार भएको देखियो, यसको कारण के हो ?
एसइईको नतिजामा सुधार हुनाको मुख्य कारण हामीले प्रयोगमा ल्याएको नवीनतम शैक्षिक अभ्यास नै हुन् । विद्यालयले सञ्चालन गरेको अतिरिक्त कक्षा, कक्षा आठ र कक्षा १० मा शनिवासरीय परीक्षा प्रणाली, कक्षाकोठामा टिचर । टिचिङ सपोर्ट टिम, पाठयोजना, विभिन्न शैक्षिक विभाग स्थापना (विज्ञान, गणित, नेपाली र सामाजिक विभाग), विभागीय प्रमुखबिच निरन्तर छलफल, निर्णयका साथै नियमित अभिभावक भेटघाट, सिकाइ क्षमता कमजोर भएका विद्यार्थीको पहिचान गरी थप अतिरिक्त कक्षाको व्यवस्थापन तथा नियमित पृष्ठपोषणले गर्दा यो नतिजा हासिल गर्न सफल भएका छौँ। त्यसका साथसाथै योग्य शिक्षक, लगनशील विद्यार्थी तथा उत्प्रेरक अभिभावकबाट नै यो सफलता हासिल गर्न सक्षम भएका छौँ ।
सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या र शैक्षिक गुणस्तर बर्सेनि घट्दै गइरहेको छ त ?
सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या र शैक्षिक गुणस्तर बर्सेनि घट्दै छ भन्ने प्रश्नमा हामीले त्यस्तो अनुभव गर्न पाएको छैन । हाम्रो विद्यालयको कुरा गर्ने हो भने प्रत्येक वर्ष बढेको छ । कक्षा तीनदेखि नौसम्म दुई सेक्सन छ भने कक्षा १० मा तीन सेक्सन छ । कक्षा ११ र १२ मा चार-चार सेक्सन छ । यसले के प्रमाणित हुन्छ भने सामुदायिक विद्यालय पनि उत्कृष्ट शैक्षिक केन्द्र बन्न सक्छ । त्यसको ज्वलन्त उदाहरण भनेको १८ सयभन्दा बढी विद्यार्थी यस विद्यालयमा अध्ययनरत छन्, जुन नुवाकोट जिल्लाकै सबैभन्दा बढी विद्यार्थी पढ्ने विद्यालयका रूपमा परिचित छ ।
विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायमा अध्ययन गर्न जिल्लाबाट बाहिर जाने विद्यार्थी रोक्न सकिँदैन ?
जाने विद्यार्थीलाई रोक्न सकिँदैन, तैपनि काठमाडौँकै बराबरको गुणस्तरीय शिक्षा दिन हामी सक्षम छौँ । अहिले हाम्रो विद्यालयमा विज्ञान सबलीकरण कार्यक्रम लागू भएको छ । विज्ञान पढ्ने विद्यार्थीका लागि यो सुनौलो अवसर हो । निःशुल्क विज्ञान विषय पढ्ने अवसरले आर्थिक क्षमता कमजोर भएका विद्यार्थीका लागि तथा सो विषय पढ्न इच्छुक विद्यार्थीको चापलाई हेर्दा थप नयाँ सेक्सन खोल्नुपर्ने देखिन्छ र अन्य विषयमा पनि त्यत्तिकै चाप देखिन्छ । यो हुनु भनेको विद्यार्थीको अन्यत्र अध्ययन गर्न जाने सोचाइलाई केही हदसम्म भए पनि हामीले रोक्न सक्छौँ कि भन्ने हो र रोकेका पनि छौँ । नुवाकोटमा रहने विद्यार्थीको पहिलो रोजाइ त्रित्रि मावि नै हुन सफल भएको छ ।
त्रित्रि मावि र अरू विद्यालयमा के फरक छ जसका कारण विद्यार्थीले त्रिवि माविलाई नै रोजून् ?
यो विद्यालय र अन्य विद्यालयको तुलना गर्नेभन्दा पनि हामी गुणस्तरीय शिक्षा दिने अभियानमा जुटेका छौँ । त्यो कुरा एसइई र कक्षा १२ को नतिजाले नै पुष्टि गर्छ । विगत वर्षदेखि नै हामीले फरक सोच र अभियानका साथ विद्यालय सञ्चालन गरिरहेका छौँ । हामी कक्षामा विद्यार्थीलाई किताब मात्र पढाउँदैनौँ, साथसाथै जीवनोपयोगी सिप दिन्छौँ, जुन विद्यार्थी तथा अभिभावकका लागि भविष्यमा काम लाग्नेछ ।
यस वर्षको कक्षा एकदेखि १२ सम्मको शैक्षिक नतिजाबाट सन्तुष्ट हुनुहुन्छ ? यहाँ अध्ययन गरेका विद्यार्थी कुन तहसम्म पुगेका छन् ?
व्यक्तिगत रूपमा आफूले नेतृत्व गरेको विद्यालय राम्रो हुँदा त म आफू खुसी नै छु, तैपनि अभिभावक, विद्यार्थी, विद्यालयसँग सम्बन्धित सरोकारवाला कत्तिको खुसी छन् भन्नेमा नै मेरो खुसीको परीक्षण हुनेछ । यस विद्यालयमा अध्ययन गरेका विद्यार्थी प्रशासनिक सेवातर्फ सचिव, सहसचिव, अधिकृत भएका छन् भने स्वास्थ्य सेवातर्फ डाक्टर र नर्स अनि इन्जिनियर तथा राजनीतिक उच्च तहमा सभासद्, सङ्घीय मन्त्री तथा प्रदेश मुख्यमन्त्रीसमेत भएका छन् । यो सफलता प्राप्त गर्नु भनेको विद्यालयले लिएको सही शैक्षिक मार्ग नै हो जस्तो लाग्छ ।
प्रतिक्रिया