गत वर्ष २०८१ भदौको जनैपूर्णिमामा गोसाइँकुण्ड जाने आकस्मिक योजना बन्यो । छोटो समयमा पूर्वतयारीमा कमी होला, साथीको समय नमिल्ला, तर आकस्मिक यात्राको आनन्द छुट्टै हुने रहेछ ।
यसरी छोटो समयमा बनेको योजनाले रसुवाको चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्ड यात्रा तय गर्ने निधो गरियो । पहिलो दिन रसुवाको धुन्चेसम्म मोटरसाइकलमा जाने र केही उकालो बाटो हिँडेर सकिन्छ, ढिम्सा पुग्न सकिँदैन, देउरालीसम्म जसरी पनि पुग्ने । दोस्रो दिन ३-४ बजेभित्र गोसाइँकुण्ड पुग्ने, तेस्रो दिन बिहानै कुण्डमा स्नान तथा दर्शन गरी धुन्चे आउने र चौथो दिन सिन्धुपाल्चोक चौतारा आइपुग्ने गरी योजना बन्यो । हामीले बिहान ८ बजे सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट यात्रा सुरु ग¥यौँ । यात्राका क्रममा दोलालघाट ५२ किलोमा माथिबाट आएको पहिराले अरनिको राजमार्ग अवरुद्ध भएको हुँदा एक घण्टा समय अलमलियो र यात्रामा समयको चाप बढ्यो । टोखाको बाटो हुँदै मध्याह्न १२ बजे बिहानको खाना खान हामी नुवाकोट छहरेमा पुग्यौँ र लोकल नेपाली स्वादमा खाना खाई एकछिन आराम गरे हिँड्याँै । मेरा साथी तराईवासी शिव साह थिए । हामी दुईजना बाल्यकालको दिन स्मरण गर्दै तितामिठा कुराकानी गरी आ-आफ्ना अनुभव सुनाएर विद्यालय र कलेज जीवनका दिन स्मरण गर्दै नुवाकोटको विदुर हुँदै रसुवातर्फ लाग्यौँ । साहजीको बाल्यकालको अवस्था, घरपरिवारको वातावरण, आधारभूत शिक्षा, कलेज जिन्दगी सुनेर वास्तवमै हिलामा फुलेको कमलको सुन्दर फुल, खोलामा हजारौँ हन्डर खाएर कडा गोलो ढुङ्गा बनेको याद आयो । यति कठिन सङ्घर्ष गरेर जागिरे जीवनमा आएका साहजी यात्रामा मेरा लागि एक खुला किताब जस्तो महसुस भयो । त्रिशूली नदीको आवाज र पारिपट्टिको हिउँजस्ता सेता बाहुबली झर्ना हेर्दै घुम्ती पार गरी विदुरलाई पछि पार्दै यात्रा अगाडि बढाउँदै रसुवाको कालिकास्थान पुग्यौँ । त्यहाँ साथी अर्जुन पौडेल र खामसुङ तामाङको न्यानो स्वागतले यात्रालाई थप ऊर्जामय बनायो ।
लाङटाङ राष्ट्रिय निकुन्जको जाँच हुँदै हामी धुन्चेतर्फ लाग्यौँ । रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालको भेट तथा न्यानो स्वागतले यात्राका क्रममा थप रौनक थपियो । खनालको सरल र सहयोगी व्यवहारले हामीलाई प्रभावित बनायो र सामान्य गन्थनमन्थन गरेर सेलरोटी खाई सामूहिक फोटो सेसन गरी बिदा भएर गोसाइँकुण्ड जाने बाटातर्फ अगाडि बढ्यौँ । धुन्चेबजारमा विद्यालय सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सबै खाली जमिन पार्किङका रूपमा तोकिएको रहेछ, जसले गर्दा भक्तजनले पार्किङको कुनै पनि समस्या भोग्नुपरेन । यो मेला व्यवस्थापन समितिले व्यवस्था गरेको रहेछ । बाटामा ठाउँठाउँमा मेलामा आउनेलाई स्वागत गेट र ब्यानर राखिएको थियो । त्यसले मेलाको रौनक मात्र बढाएन, यात्रालाई थप उत्साहित पनि बनाउने रहेछ । अब भने दिउँसोको साढे ४ बजे हाम्रो यात्रा खन्तीको उकालोतिर अगाडि बढ्यो । धुन्चे बजार आइपुग्न हामीले निर्धारण गरेको समयभन्दा डेढ घण्टा ढिला भइसकेको थियो । समयको चाप हामीलाई बढ्दै थियो । प्रजिअ खनालले हामीहरू देउराली पुग्न नसकिने भएकाले खन्तीको चमेली होटेलमा बस्नुहोला भनेर सम्पर्क नम्बर दिनुभयो । उहाँले त्यसो भनेपछि हामी होटेललाई सम्पर्क गरेर खन्तीको उकालो लाग्यौँ, गोसाइँकुण्डबाट बगेर आएको चिसो कञ्चन पानी हेर्दै अगाडि बढ्यौँ ।
खन्तीको उकालोमा कमिलाको ताँती जसरी भक्तजनको लाइन थियो । के वृद्ध, के तरुण, के बालबालिका, सबै लावालस्कर भएर उकालोको कठिन हिँडाइको कुनै पर्वाह नगरी जय शम्भो, शिव शिव भन्दै भगवान्लाई ठुलो स्वरमा पुकार्दै उकालो लागेका छन् । यात्राको पहिलो दिनको हिँडाइ भएर होला, सबै भक्तजनको हिँडाइ उकालो भए तापनि गतिमै थियो । मित्र ओम तामाङको शेर्पा गीत ब्लुटुथ स्पिकरमा लगाउँदै गीतको तालमा हाम्रो यात्रा अगाडि बढ्यो । कुण्ड पुगेर फर्किएकाहरू आज धेरै मानिस माथि गइसकेका छन्, खन्तीदेखि माथि देउराली चोलाङपाटीसम्म भरिइसक्यो, बस्ने ठाउँ पाउन कठिन छ भन्ने गर्थे । तर, हामी डेढ घण्टा लाग्ने उकालो एक घण्टामै पुगेकाले खन्तीमा नबसेर अझै दुई घण्टा हिँड्ने भन्दै अगाडि बढ्यौँ । बाटामा भक्तजनका लागि बास बस्न कोड नम्बरसहित थर्पु निर्माण गरिएको रहेछ । खन्तीदेखि देउराली पुग्नका लागि दुई घण्टाको उकालो बाटो हिँड्न सकिन्छ भन्दै हामीले यात्रा जारी राख्यौँ । देउराली पुग्नै लाग्दा साँझको अँध्याराले छपक्कै छोपिसकेको थियो । देउराली नपुग्दै थर्पुहरू सबै भक्तजनले भरिभराउ भइसकेको रहेछ, देउरालीमा पनि सबै होटेल, थर्पुहरू भरिभराउ भइसकेको रहेछ ।
हामीले पनि यस्तो अवस्थामा बास बस्ने ठाउँ पाउने कुरै भएन । साँझ झपक्कै परिसकेको थियो । देउरालीमा भक्तजनको भिड थियो । हामीसँग देउरालीबाट हिँड्नाको विकल्प भएन । देउरालीबाट ढिम्सा पुग्नका लागि दुई घण्टाको उकालो हिँड्नुपर्ने हुन्छ, तर बिचबिचमा थर्पुहरू भएकाले बस्न पाइने आशामा हामी उकालो हिँड्न सुरु ग¥यौँ । तर, बाटाका सबै थर्पु भक्तजनले भरिइसकेका रहेछन् । अब भने हामीलाई बस्ने थर्पु पाइँदैन भन्ने सुनिश्चित जस्तै भयो । हाम्रो टोलीमा राति बाल्ने टर्च कसैसँग रहेनछ, मोबाइलको लाइट बाल्दै हामी लगभग बेलुकी साढे ९ बजे ढिम्सा पुग्यौँ । हामी सबै ढिम्सा आइपुग्दा निकै थकित भइसकेका थियौँ, शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । अब ढिम्साबाट माथि चोलाङपाटी जान सकिँदैन, आज जेनतेन यतै रात कटाउनुपर्छ भन्ने सल्लाह भयो । सबै थर्पु भरिभराउ थियो । अगाडिपट्टिका थर्पुमा मानिसहरू मादल र खैँजडी बजाउँदै, रमाउँदै थिए । हामीलाई भने वासस्थान खोज्नाको चटारो थियो । आलेको थर्पुमा चिया खाने सल्लाह भयो । हामीले चिया खाँदै बाहिर म्याट ल्याइदिनू, पालीमै बस्छौँ भन्यौँ । आलेले तपाईंहरूलाई बस्न म व्यवस्था मिलाउँछु, बस्दै गर्नुहोला भन्नुभयो र अलिकति राहत महसुस भयो । भित्र थर्पुमा खुट्टा राख्ने ठाउँ थिएन । हामी ६ जना आलेकामा नै खाना खाएर उनकै थर्पुमा बस्ने निधो गर्यौँ।
रातको ११ बजेपछि आलेले लामो टर्च बाल्दै सबैलाई उत्तानो परेर होइन, एकैतर्फ फर्किएर कोल्टे पर्दै सुत्न उर्दी लगाए । ‘सबैजना यहाँ अटाउनुपर्छ, सबैलाई गाह्रो भएको छ,’ रुखो स्वरमा आलेले भने । सबैलाई त्यसरी सुताएर निस्कने बाटाका लागि ढोकासँगै दुई मिटर जति ठाउँ खाली बनाए । ल तपाईंहरू भित्र छिरिहाल्नू भन्ने आलेको अर्को उर्दी जारी भयो । हामीलाई थर्पुभित्र छिर्न पाउँदा धेरै राहत महसुस भयो । रात छिप्पिँदै गयो । एक लाइन महिला, अर्को लाइन पुरुषको थियो, खुट्टा भने दुवै लाइनको एकैतिर पर्ने गरी सुत्नुपर्ने थियो । आफैँले बोकेको झोलालाई सिरानी बनाई जसोतसो ढल्कियौँ । निदाउनका लागि धेरै प्रयत्न गरियो, तर सकिएन, अनिदोमै रात बित्यो । ओढ्ने ब्ल्याङ्केट दिन्छु भन्ने आलेले केही दिएनन् । अर्काे दिन ढिम्साबाट चन्दनबारी, चोलाङपाटी, लौरिबिना र बुद्ध मन्दिर हुँदै गोसाइँकुण्ड पुग्नुपर्नेछ । हिजोको हतारको यात्रा र रातभरि अनिदोले गर्दा शरीरमा त्यति फुर्ती थिएन । तैपनि दिउँसो ३ बजे कुण्ड पुग्ने योजनासहित हामी ढिम्साबाट अगाडि बढ्यौँ । विभिन्न जिल्लाबाट आएका भक्तजनसँग गफ गर्दै हामी वेलावेलामा नाचगान, फोटो सेसन गर्दै चन्दनबारी आइपुग्यौँ, सामान्य खाजा खाएर चोलाङपाटीतिर लाग्यौँ, बाटो सुरक्षित छ । मेला व्यवस्थापन समितिले यात्रा तथा मेलामा ध्यान दिनुपर्ने जानकारीको बोर्ड ठाउँठाउँमा राखेकाले यात्रीलाई थप सहज बनाएको थियो ।
रेडपान्डाको संरक्षित क्षेत्र भएकाले तस्बिर र जानकारी ठाउँठाउँमा राखिएको थियो । हामी यात्रालाई जति सकिन्छ त्यति मनोरञ्जनात्मक बनाउने कोसिस गर्दै त्रिशूलीको मुहान क्षेत्रबाट बगेर आएको कञ्चन पानी नियाल्दै यात्रा अगाडि बढ्छौँ । चोलाङपाटी हुँदै दिनको मध्यतिर हामी गोसाइँकुण्ड यात्राकै कठिन लामो दूरीको उकालो लौरीबिना पुग्यौँ । नौकुण्डबाट पारिपट्टि बग्दै गरेको पानी हेर्दै तीन घण्टाको उकालोपश्चात् हामीले लौरीबिना र बुद्ध मन्दिरको उकालो पार गरेर थर्पुमा खाना खायौँ र केहीबेर आराम गरेर कुण्डतर्फको बाटो लाग्यौँ । हामी उकालो, ओरालो त कहिले तेर्साे बाटो हुँदै गोसाइँकुण्डमा साँझको ५ बजे पुग्यौँ । उकालो लाग्दै गर्दा मेरा मनमा यदि गोसाइँकुण्डमा आउन केबलकारको व्यवस्था भएमा यात्रा कति सहज हुन्थ्यो भन्ने खेल्यो । यस वर्ष १५ हजार भक्तजन आउने अनुमान गरिएकामा केबलकार भएमा अझ कति धेरै आउँथे होलान् भन्ने सम्झेँ । देश-विदेशबाट समेत यस ऐतिहासिक भूमिमा मानिसको ओइरो लाग्ने थियो होला । वर्षमा दुईपटक मात्र मेलामा होइन, लालीगुराँसले भरिएको पहाड हेर्न, हिउँ परेका वेलामा खेल्नसमेत गरेर चारपटक भव्य मेला लाग्ने उत्कृष्ट गन्तव्य बन्न सक्ने सम्भावना रहेको अनुभूति भयो ।
देश-विदेशमा भएकालाई गोसाइँकुण्डको दर्शन गर्न मन छ, तर हिँड्ने समस्याले गर्दा दर्शन गर्न आउन सकेका छैनन् । जीवनमा एकचोटि गोसाइँकुण्डमा जाने रहर कसलाई हुँदैन होला र ? राज्यले यस्तो उत्कृष्ट गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना भएको मनमोहक स्थानलाई किन विश्वबाट ओझेलमा पारिरहेको छ ? हाम्रो राज्यले किन गोसाइँकुण्डको सुन्दरतालाई बुझ्न सकेन ? यदि त्यहाँ केबलकार स्थापना गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर विकास गर्न सकिन्छ र आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान गर्न सक्छ ।
गोसाइँकुण्डलाई बादलले ढपक्कै ढाकेको थियो । मनमा कुतूहल थियो, साँच्चै प्रत्यक्ष नजिकबाट नियाल्दा कुण्ड कस्तो देखिन्छ होला ? हामी बुक गरिएको ८४ नम्बर थर्पुमा पुग्यौँ । थर्पुको दाइले ठाउँ भरिएकाले यतै ढोका छेउतिर मिलाउँछु, तपाईंहरूको टिम बस्दै गर्नु भन्नुभयो । आजको रात पनि सुताइ सहज हुनेजस्तो देखिएन । गोसाइँकुण्डको चिसो र पातलो ओढाइले निदाउन भने सकिएन । दुई रातको निद्राले शरीर कमजोरजस्तो अनुभूति भइरहेको थियो । गोसाइँकुण्ड आइपुगेकाले मन भने चङ्गा थियो । बिहान ५ बजे कुण्डमा भक्तजनको ठुलो आवाज सुनिन्थ्यो । हामी सबै उठेर झिसमिसेमा नै कुण्डमा डुबुल्की मार्यौँ , तर चिसो भने मुटु काप्ने थियो । धेरै भक्तजनले पोखरीमा डुबुल्की मारिरहेकाले हामीलाई पनि हलुका अनुभूति भयो । त्यसपछि हामी मुख्य मन्दिरतर्फ पूजापाठतिर लाग्यौँ र त्रिशूल धारामा गई जल लिएर फर्किने तयारीमा जुट्यौँ । फोटो सेसन गर्दै सुन्दर, मनमोहक कुण्डलाई प्रत्यक्ष रूपमा अनुभूति गर्न पाउँदा कसको मन आनन्दित नहोला र ! वरिपरि पहाडले घेरिएको गोसाइँकुण्ड बिहानीको उज्यालोसँगै खुला, सफा र सुन्दर देखिन थाल्यो । हामीले मन्त्रमुग्ध भएर एकैछिन कुण्डलाई हेरिरह्यौँ । आहा ! कति सुन्दर अद्भूत रहेछ गोसाईँकुण्ड ! जीवनमा सके पटकपटक नसके एकपटक जसरी पनि पुग्नुपर्ने स्थान रहेछ भन्ने अनुभूति भयो । अब हामी गोसाइँकुण्डलाई बिदाइ गरेर फर्किने तरखरमा लाग्यौँ । उकालो छैन, ओरालो हिँड्न सजिलो हुन्छ भन्ने कुराले मनलाई घर फर्किन हतार भइरहेको थियो ।
धुन्चेमा बास पाउन कठिन हुन सक्छ, सकिन्छ भने विदुरसम्म पुग्ने भन्दै हाम्रो यात्रा ओरालोतर्फ सुरु भयो । ओरालो हिँड्दै गर्दा देउरालीबाट ओरालो लागेपछि खुट्टालाई अलि सकस भएको अनुभूति भयो । दुखाइको पर्वाह नगरी फर्किँदा मन भने हलुका भएको थियो । त्यस साँझ विदुरमा बास बसी हामी काठमाडौँ हुँदै सिन्धुपाल्चोक आइपुग्यौँ । प्राकृतिक रूपमा सुन्दर भूमिका रूपमा रहेको गोसाइँकुण्डमा हिन्दु र बौद्ध धर्मावलम्बीको धार्मिक आस्था छ । लालीगुराँस, सुनपाती धुपी, उल्लेख्य मात्रामा पाइने, शिवले त्रिशूल खोपेर मूल फुटाएको स्थानको प्रत्यक्ष दर्शन गर्न पाइने भन्ने ठुलो जनविश्वाससमेत रहेकाले यस स्थानमा आउने तीर्थयात्री बर्सेनि बढिरहेको स्थानीयवासी बताउँथे । यस क्षेत्रमा विभिन्न भौतिक पूर्वाधार तथा यातायातको सुविधा विकास गर्न सकेमा प्रचुर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पर्यटनको विकास गर्न सक्ने सम्भावना भएको पवित्र भूमिको अनुभूति रह्यो ।
.
प्रतिक्रिया