विदुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको आयोजनामा गत साउन ३१ गते आयोजित जिल्लास्तरीय अन्तरविद्यालय निबन्धलेखन प्रतियोगितामा नुवाकोट ग्लोरी सेकेन्डरी बोर्डिङ स्कुलका अभिषेक भट्टराई प्रथम हुनुभएको छ । विद्यार्थीको लेखन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ओममाने पब्लिक स्कुल, विदुर– १०, गेर्खुटारमा ‘शिक्षामा प्रविधिको महत्त्व’ विषयमा भएको प्रतियोगितामा गणेश भ्यु वाटिकाका राजकुमार तामाङ द्वितीय, तादी भ्यु एकेडेमीकी सलिना भण्डारी तृतीय र नर्थ स्टारका सन्दीप पन्तले सान्त्वना स्थान प्राप्त गर्नुभयो । प्रतियोगितामा जिल्लाका प्रायः सबै निजी विद्यालयले भाग लिएका थिए ।

प्याब्सन नुवाकोटले हरेक महिनाको अन्तिम आइतबार अतिरिक्त क्रियाकलापअन्तर्गत विभिन्न विधामा प्रतियोगिता सञ्चालन गर्दै आइरहेको संस्थाका अध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो । अतिरिक्त क्रियाकलापअन्तर्गत यही भदौ २८ गते जिल्लास्तरीय अन्तरविद्यालय लोकनृत्य र एकल गायन प्रतियोगिता सञ्चालन हुने बताइएको छ ।






प्रतिक्रिया