पिसिआर मेसिन खरिदको प्रक्रियामा

  • त्रिशूली प्रवाह
  • १९ असार २०७७, शुक्रबार १३:२९
Logo of trishuli prawaha

धुन्चे, रसुवा जिल्ला गत हप्तासम्म कोरोना संक्रमितमुक्त जिल्लाको रूपमा रहेको थियो । शनिबारदेखि रसुवामा कोरोना संक्रमित भेटिएपछि नेपालभरी नै कोरोना फैलिएको छ । कोरोना भाईरस बढेसँगै जिल्लाले दु्रत विधीबाट परीक्षणको लागि पिसिआर मेसिन खरिद प्रक्रिया अगाडी बढाएको छ । बजेटबाट खर्च नभएको रकम उपयोग गरी पिसिआर परीक्षण गर्ने मेसिन खरिद गरिने भएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिले असार ११ गते निर्णय गरेर सबै गाउँपालिकाको लागत साझेदारीमा पिसिआर मेसिन र त्यसको लागि आवश्यक केमिकल खरिद गर्न निर्णय गरेको थियो ।

उक्त निर्णयानुसार जिल्ला संकट ब्यवस्थापन केन्द्र (सी.सी.एम.सी.) रसुवाले निर्वाचन क्षेत्र विकास कोष अन्र्तगत रहेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमले खर्च गर्न नसकेको चालु आर्थिक वर्षको ४६ लाख रकम पिसिआर मेसिन खरिदमा खर्च गर्ने निर्णय गरेको थियो । चालु आर्थिक वर्षका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत विनियोजित रकममध्ये खर्च नभएको बजेट कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्ने सरकारको निर्णयानुसार रसुवाले सो नीति अवलम्बन गरेको हो । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत रसुवाको ५ वटा गाउँपालिकामा ६ करोड विनियोजित रकममध्ये कालिका गाउँपालिकामा ४० लाख र गोसाइँकुण्ड गाउँपालिकामा ६ लाख गरी ४६ लाख खर्च नभई बचत भएको छ । उक्त रकम स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत कोभिड–१९ रोकथाम, नियन्त्रण, निदान र उपचारमा खर्च गर्ने ब्यवस्था भए बमोजिम गाउँपालिकाबाटै बचत रकमको लेखा ब्यवस्थापन गर्ने गरी ४६ लाखको पिसिआर मेसिनलगायत स्वास्थ्य सामाग्री खरिद गरिने भएको हो । रसुवाको ५ वटै गाउँपालिकामा स्वाब संकलन गर्ने ब्यवस्था गरी खरिद गरिएको पिसिआर मेसिन सदरमुकाम धुन्चेमा राखिने जनाईएको छ । मेसिन सञ्चालन तथा ब्यवस्थापनका लागि जिल्ला विपद् ब्यवस्थापन समिति, जिल्ला संकट ब्यवस्थापन केन्द्र र गाउँपालिकाले समन्वयात्मक रुपमा गर्ने जनाईएको छ ।

स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताएअनुसार रसुवा जिल्लामा कोरोना संक्रमित शनिबारदेखि देखिएको छ । गत सोमबार भारतबाट आएका १७ जनाको पिसिआर परीक्षणका लागि प्रयोगशालामा पठाईएकोमा शनिबार ९ जनामा पोजेटिभ देखिएपछि रसुवा पनि कोरोना संक्रमित भएका छन् । हालसम्म ५ सय ३७ जनाको आरडिटी परीक्षण गरिएको छ भने ३२ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर ल्याव पठाईएको छ ।