नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन फागुनमै होला ?

  • त्रिशूली प्रवाह
  • १९ भाद्र २०७७, शुक्रबार ११:१७

– सुरेन्द्रराज अधिकारी

 नेपाली काङ्ग्रेस देशको जेठो राजनीतिक दल ०७७ सालको फागुन महिनाको दोस्रो हप्तामा १४औँ महाधिवेशन गर्ने कार्यतालिका प्रकाशित गरेर तयारीमा जुटिरहेको छ । नेपालमा ०७२ साल असोजमा संविधान जारी गरेपछि आफ्नो १३औँ महाधिवेशन सम्पन्न गरे तापनि संविधानले परिकल्पना गरेको राज्यको तीन तहको संरचनामध्ये वडा, गाउँ, नगर, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्रको पुनर्संरचना ०७३ फागुन महिनामा मात्र सम्पन्न भएको कारणले संविधान र कानुनले परिकल्पना गरेको संरचनाअनुसारको पार्टीका आन्तरिक संरचना निर्माण गर्ने कार्य बाँकी नै रहेको थियो । काङ्ग्रेसको विधानमा पनि संविधान र कानुनबमोजिमको संरचनात्मक व्यवस्था गर्न बाँकी नै रहेको थियो । ०७५ सालमा महासमितिको बैठक बसेर विधानको संशोधन, नियमावलीको बन्दोबस्त र नयाँ संरचनाबमोजिम पार्टीका निकायको अन्तरिम समायोजन निर्देशिका जारी गरी समायोजनको काम जारी रहँदा विश्यव्यापी कोरोना भाइरस महामारीको नेपाल प्रवेशले समायोजनको काम केही जिल्लामा बाँकी नै छ भने क्रियाशील सदस्यता नवीकरण र वितरणको कामलाई देशैभरि अवरोध भएको छ । निर्धारित समयमै महाधिवेशन गर्न रहेका चुनौतीहरू :

१. पार्टीका स्थानीय समिति समायोजन, क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणमा कोभिड– १९ सङ्क्रमण बाधक :
कोभिड–१९ को बढ्दो सङ्क्रमण र कोभिड– १९ सङ्क्रमितको मृत्युमा बढोत्तरीले मानवजीवनमा अकल्पनीय सङ्कट आइलागेको छ । कोभिड– १९ को महामारीले नेपाली काङ्ग्रेसको महाधिवेशनको प्रकाशित कार्यतालिकाअनुसार काम गर्न नदिने त निश्चितप्रायः भई नै सक्यो । केन्द्रीय निर्वाचन समितिका बाँकी रहेका समायोजनका काम कोभिड– १९ को प्रकोपको कारणले अघोषित रूपमा स्थगित भएको छ । नुवाकोट जिल्लाको समायोजनको काम केन्द्रीय निर्वाचन समितिले २०७६ चैत महिनामा किनारा लागाउने तयारी गरिरहेको अवस्थामा नेपाल सरकारले चैत ११ बाट देशभरि लकडाउन जारी गरी साउन ७ गतेसम्म जारी राखेको कारण ०७७ साल साउन १० गते निर्वाचन समितिले नुवाकोटको समायोजनको काम सम्पन्न गरेपश्चात् नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिले केन्द्रीय कार्यालयबाट क्रियाशील सदस्यको फारम प्राप्त गरी साउन १६ गते नुवाकोटका दुवै संसदीय निर्वाचन क्षेत्रीय समितिलाई हस्तान्तरण गरी हाल जिल्लाका ८८ वटै वडामा क्रियाशील सदस्यता फारम वितरण भइसकेको छ । वडा कार्यसमितिका सभापतिले सदस्यता फारम वडा–वडामा वितरण गर्ने तयारी गरिरहेको अवस्थामा साउन महिनाको अन्तिम साता कोरोना सङ्क्रमित नुवाकोटमा बढ्न थालेपश्चात् जिल्लाका विभिन्न भागमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाले सदस्यता वितरण र नवीकरणका काम प्रभावित भएको छ । यसरी जिल्लाजिल्लामा जारी भएका निषेधाज्ञा आदेशले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणका कार्यहरू देशैभर अवरुद्ध भएका छन् ।

२. नयाँ क्रियाशील सदस्यता वितरणमा व्यापक जनसहभागितामा व्यवधान :
देशको जेठो लोकतान्त्रिक राजनीतिक दल नेपाली काङ्ग्रेस वर्तमानमा तीनै तहको सरकारमा प्रतिपक्षीको भूमिकामा खुम्चिएको बेला यो अधिवेशन हुन गइरहेको छ । १४औँ महाधिवेशनको प्रचार–प्रसार र चहल–पहल दूरदराजसम्म पु¥याउने माध्यम नयाँ क्रियाशील सदस्यता वितरण नै हो । नेपाली काङ्ग्रेसको यसअघिको वैधानिक व्यवस्थाअनुसार प्रत्येक महाधिवेशनअघि मात्र क्रियाशील सदस्यता वितरण हुने परिपाटी कायमै छ । ०७५ मा पार्टी विधानको नवौँ संशोधनपश्चात् सदस्य वितरण हुँदै छ । नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता नै पार्टीका क्रियाकलापमा सहभागी हुने पहिलो खुड्किला हो र यो पार्टीको आन्तरिक जीवनको प्राइमरी इलेक्ट्रोरल कलेज हो । यो वितरणको लागि वडावडाका टोलमा बैठक तथा भेला हुनुपर्ने, वितरणका समयसीमा नागरिकको तहसम्म पुग्नपर्नेमा कोभिड– १९ को कारणले मानिसको भेला, जमघट, हिँडडुल गर्नमै अवरोध रहेको कारण क्रियाशील सदस्याता वितरणले प्रभावकारिता हासिल गर्न कठिनाइ परेको छ ।

३. देशका समसामयिक विषयमा छलफल, विचार–विमर्श गर्नमा अवरोध :
वडा तहदेखि केन्द्रीय सरकारले गरेका कामकारबाहीको खुला छलफल र बहसलाई नागरिकको घरदैलोसम्म पु¥याएर पार्टीको पक्षमा जनमत बनाउने माध्यम र अवसर महाधिवेशन कोभिडको सन्त्रास र जिल्लाजिल्लामा जारी भएका निषेधाज्ञाका आदेशले गर्दा पार्टीका सदस्यको भेला, बैठक, अन्तक्र्रिया नै अवरुद्ध हुँदा लोकतान्त्रिक पार्टीभित्रको स्वस्थ प्रतिस्पर्धा र विधिविधानको परिपालनामा कठिनाइ पैदा भएको छ । वडा तहदेखि केन्द्रसम्मका नेता–कार्यकर्ताको दौडधुप र भेटघाट अनि सञ्चारमाध्यमबाट हुने विचारको सम्प्रेषणले पार्टीभित्र विचार, व्यवहार र कार्यान्वयनबारे विचार निर्माण पनि हुन्थ्यो । यसरी पार्टीले समाजका सचेत नागरिकको विचारलाई समेत समेटेर आफ्नो विचार र सिद्धान्तलाई माझ्ने अवसर पनि गुम्ने अवस्था सिर्जना भएको छ । विगतको व्याख्या र बखान गरेर वर्तमान र भविष्यलाई दिशा–निर्देश गर्न सकिँदैन । विगतको जगमा टेकेर पार्टीका आगामी दिनका नीति, कार्यक्रम निर्माण गर्ने र त्यसलाई महाधिवेशनजस्तो वैधानिक निकायबाट पारित गरेर महाधिवेशनबाट निर्वाचित नेतृत्वले आफ्नो कार्यकालमा कार्यान्वयन गर्ने हो ।

४. खुम्चिएको जनमत र त्यसको पुनर्जीवन :
नेपाली काङ्ग्रेसको ७० वर्षको इतिहासमा निर्वाचनको माध्यमबाट नै जनमत खस्किएर सङ्घीय संसद्, सातै प्रदेश सभामा निष्प्रभावी प्रतिपक्षी भएको कुरा सत्य हो । दलीय व्यवस्थामा सत्ता पक्ष असफल हुँदा विकल्पमा प्रतिपक्षलाई हेरिन्छ । प्रतिपक्षलाई भरपर्दो विकल्पको रूपमा पार्टीका कार्यकर्ताले मात्र हेरेर पुग्ने हुँदैन, आमनागरिकले हेर्नुपर्ने र आस गर्नुपर्ने हुन्छ । नेपालको वर्तमान परिवेशलाई हेर्दा सरकारको अढाइवर्षे कार्यकालबाट वाक्कदिक्क भएका आमनागरिक ७० वर्षको गर्विलो लोकतान्त्रिक इतिहास बोकेको नेपाली काङ्ग्रेस पार्टी भरपर्दाे विकल्प भनेर आश्वस्त हुनुको साटो राजनीतिक परिपाटी, पद्धति र सबै राजनीतिक दल र नेतालाई एउटै डालोमा हालेर जुन जोगी आए पनि कानै चिरेका त हुन् नि भन्न थालेका छन् । ०७४ को तीन तहको निर्वाचनपछिका तीन वर्ष नेपाली काङ्ग्रेस पार्टीले पार्टी सङ्गठन, पार्टीका विचार, नीति, कार्यक्रमको पुनरावलोकन र सरकारका कामकारबाहीको सूक्ष्मतम निगरानी र खबरदारी, सरकारबाट भएका भ्रष्टाचार, स्रोतसाधनको व्यापक दुरुपयोग गरेको कुरालाई लिएर संसद्देखि नागरिक तहसम्म प्रभावकारी रूपमा जानुपर्ने र गएको सन्देश दिनुपर्नेमा नागरिकमा त्यस्तो सन्देश दिन सकेको पनि छैन र सरकारलाई प्रतिपक्ष छ भन्ने नै अनुभूति दिन सकेको छैन ।

६. एक वर्षभित्र १४औँ महाधिवेशन गरिसक्नुपर्ने बाध्यता :
नेपाली काङ्ग्रेसको वडादेखि केन्द्रसम्मका निर्वाचित निकायको चारवर्षे कार्यकाल ०७६ सालको फागुन महिनामा समाप्त भइसकेको छ । नेपाली काङ्ग्रेसको विधान २०१७ को नवौँ संशोधनको परिच्छेद ९१२ विविध को ४३ ले पार्टीका सबै तहको पदावधि चार वर्षको हुने र असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले बढीमा एक वर्षसम्मको अवधि बढाउने सक्नेछ भन्ने प्रावधानको पनि पार्टीले सदुपयोग गरिसकेको छ र २०७७ फागुनबाट पछाडि अधिवेशन लान सक्ने ठाउँ बाँकी छैन । थप समयावधिभित्र महाधिवेशन सम्पन्न गर्ने उपाय :

क. बाँकी समायोजनको काम सम्पन्न : नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय समितिले तोकेको क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणको पछिल्लो समय सीमा समाप्त भइसक्दा पनि केही जिल्लाको समायोजनको काम सम्पन्न भएको छैन । अब बाँकी जिल्लाको समायोजनको काम कोभिड– १९ प्रकोपविरुद्धको अन्तर्राष्ट्रिय प्रोटोकलको पालना गर्दै सहमतिको आधारमा गरेर छोटो समय सीमाभित्र सक्नुपर्ने बाध्यात्मक अवस्था छ ।
     ख. नयाँ सदस्यता वितरण र सदस्यता नवीकरण : सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको परिमार्जित तालिकाअनुसारको समयसीमा समाप्त भएको, तर काम सम्पन्न नभएको कारणले असोज मसान्तसम्म नवीकरण र नयाँ सदस्यता वितरणको काम सम्पन्न गर्न नयाँ समयसीमा तोकी तोकिएको समयसीमाभित्र कोभिड– १९ प्रकोपविरुद्धको अन्तर्राष्ट्रिय प्रोटोकलको पालना गर्दै क्रियाशील सदस्यताको काम सम्पन्न गर्नतर्फ लाग्नुपर्छ ।
     ग. क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण : क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम जिल्लाले टुङ्ग्याएर पठाएपछि त्यसमाथि केन्द्रमा उजुरी लिई छानबिन गरी सदस्यताको अन्तिम किनारा लगाउन दशैँ–तिहारसमेत परेको र कोभिड– १९ को प्रकोपको कारणसमेतले कात्तिक र मङ्सिर महिनाको आधाआधीमा सम्पन्न हुन सक्छ । क्रियाशील सदस्यताको अन्तिम नामावली मङ्सिरको १५ गतेसम्ममा केन्द्रले निर्वाचन समितिलाई दिन सकेमा १५ दिनको निर्वाचन समितिको तयारीपश्चात् पुसबाट निर्धारित तालिकाअनुसार काम हुन सक्ने देखिन्छ ।

४. क्रियाशील सदस्यको काम सम्पन्न नहुँदा अन्योल : मङ्सिरभित्र क्रियाशील सदस्यको काम सम्पन्न नहुँदा अधिवेशन फागुनमा सम्पन्न नहुने अवस्थातर्फ जानबाट कसैले रोक्ने सक्ने अवस्था छैन । विधानले दिएको एक वर्ष म्याद थप्ने सुविधाभित्रको समयासीमाभित्र पनि महाधिवेशन सम्पन्न हुन नसकेमा विधानको ७१ नं. आकर्षित हुन सक्ने सम्भावनातर्फ पार्टी जान सक्छ । धारा ७१ मा बाधा–अड्काउ फुकाउने अधिकार केन्द्रीय समितिलाई हुनेछ भन्ने व्यवस्था रहेको छ । केन्द्रले बाधा–अड्काउ फुकाउने अधिकारको प्रयोग गर्नुपर्ने अवस्था आउँदा के–कसरी अधिवेशन सम्पन्न हुन्छ भन्न सकिने अवस्था रहँदैन ।

(लेखक : नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति नुवाकोटका सचिव हुन् ।)