तारकेश्वर, नुवाकोटको पश्चिमी भेगमा रहेको तारकेश्वर गाउँपालिका, दाङसिङमा प्रहरी कार्यालयको नयाँ भवन निर्माण भएर सञ्चालनमा आएको छ । आफ्नै भवन बनेपछि प्रहरीलाई सेवा सञ्चालनमा समेत सुविधा पुगेको छ । तारकेश्वर-१ दाङसिङमा नेपाल सरकारको कुल दुई करोड १७ लाख ९० हजार ४१४ रुपैयाँको लागतमा दाङसिङ प्रहरीचौकी बनेको हो ।
नवनिर्मित प्रहरी कार्यालय भवनको बागमती प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसीले गत हप्ता उद्घाटन गर्दै सर्वसाधारणको जिउधनको सुरक्षा गर्नु र शान्ति, सुरक्षामा प्रभावकारिता ल्याउनु प्रहरीको पहिलो कर्तव्य भएकामा जोड दिए । भवन निर्माणसँगै गाउँवासीले प्रहरीबाट प्रभावकारी रूपमा शान्ति सुरक्षा प्राप्त गर्ने विश्वास पनि उनले व्यक्त गरे ।
नेपाल सरकारबाट विनियोजित रकमबाट भूकम्प प्रतिरोधी साढे दुईतले दसकोठे ब्यारेकसहितको प्रहरीचौकी भवन सञ्चालन गरिएको नुवाकोट प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । भवन नहुँदा यसअघि टहरामा अस्थायी रूपमा बसेर प्रहरीले सेवा गर्दै आएको थियो । हाल दाङसिङ प्रहरीचौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ११ प्रहरी कार्यरत छन् । प्रहरीचौकी कार्यालय तथा ब्यारेक भवन उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष शिव अधिकारी र उपाध्यक्ष हरिप्रसाद रिमाल, सहायक प्रजिअ कृष्णप्रसाद हुमागाईंलगायतले भवन निर्माणबाट भएको सुविधा र सेवाका सम्बन्धमा चर्चा गरेका थिए । कार्यक्रममा भवन निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरेका विभिन्न व्यक्तिलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।