रसुवा र नुवाकोटको राष्ट्रिय राजमार्ग अवरुद्ध नहुने

  • त्रिशूली प्रवाह
  • २५ असार २०७८, शुक्रबार १२:५७

विदुर, रसुवा र नुवाकोट जिल्लाभित्र रहेका राष्ट्रिय राजमार्ग वर्षात्को कारण गएको पहिरो र अन्य कारणले अवरुद्ध भए एक घन्टामा खुलाउन सक्ने गरी मेसिन, उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ ।

       सडक डिभिजन कार्यालय नुवाकोटमातहतका राष्ट्रिय राजमार्ग अवरुद्ध भए एक घन्टामा खुलाउन प्राविधिक जनशक्तिसहित मेसिन तथा उपकरणको व्यवस्था गरिएको छ । वर्षात् सुरुसँगै दुई जिल्लाको लाइफलाइन बनेका सडकलाई राष्ट्रिय गौरवको योजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढीले धादिङको पृथ्वी राजमार्गको गल्छीदेखि नुवाकोटको देवीघाट–विदुर–बेत्रावती तथा रसुवाको मैलुङ र रसुवागढीसम्मको सडक पहिरो र अन्य प्राकृतिक दैवी प्रकोपको कारण अवरुद्ध भए खुलाउन तीन खण्डमा मेसिन तथा उपकरणसहित जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढीका योजना प्रमुख नारायणदत्त भण्डारीले दिएको जानकारीअनुसार धादिङको गल्छी–देवीघाट, विदुर, बेत्रावती, शान्तिबजार, मैलुङसम्मको सडक अवरुद्ध भए त्यही सडकखण्डको निर्माणमा संलग्न निर्माण व्यवसायीलाई मेसिनसहित प्राविधिक जनशक्ति परिचालन गरी सडक खुलाउनेछ । त्यसैगरी, असारको सुरुवातसँगै अवरुद्ध राष्ट्रिय गौरवको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाको मैलुङ–स्याफ्रुबेंसी खण्डमा समेत त्यसै खण्डको निर्माणको जिम्मा लिएको सिद्धिशाही भारत जेभीलाई मेसिनसहित साइडमै खटाइएको उनले बताए । स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको सडक खुलाउने योजना कार्यालयले एक्स्काभेटर– १, लोडर– १ र अन्य मेसिन तथा उपकरण आवश्यक परेमा भाडामा लिएर भए पनि अवरुद्ध सडक खुलाउन इन्जिनियर विजय शाहलाई कार्यालयले कार्यक्षेत्रमै रहने गरी खटाएको छ ।

       सडक डिभिजन कार्यालयमातहतमा रहेको बेत्रावती–कालिकास्थान, धुन्चे, स्याफ्रुबेंसी सडकखण्डको मूलखर्कमा चालकसहित एक्स्काभेटर एउटा, आवश्यक इन्धन मौज्दातसहित राखिएको डिभिजन प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । यो खण्डको सबैभन्दा बढी मूलखर्क, राम्चे र स्याफ्रुको सात घुम्ती क्षेत्रको सडक बढी अवरुद्ध हुने गरेकाले एक्स्काभेटर– १, लोडर– १, ट्रेलर– १, टिपर– दुईवटा र सम्पर्क व्यक्ति इन्जिनियर राजकुमार राउतलाई कार्यक्षेत्रमै रहने गरी खटाइएको उनले बताए । काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने छोटो दूरीको गुर्जे–छहरे र डिभिजनमातहतको गँगटे–लब्धु सडक खुलाउन इन्जिनियर रामप्रसाद पौडेललाई कार्यक्षेत्रमा खटाएको छ । उक्त सडकखण्ड खुलाउन लोडर– १, टिपर–१ र आवश्यकता र औचित्यको आधारमा थप साधन–स्रोत तथा जनशक्ति परिचालन गर्न सकिने व्यवस्था मिलाइएको डिभिजन प्रमुख भण्डारीले बताए । विगत वर्षको भन्दा छिटो वर्षात् यस वर्ष सुरु भएकाले अवरुद्ध भएमा सडक खुलाउन आवश्यक मेसिन तथा औजार तयारी अवस्थामा राख्न केही समय लागेको कार्यालयले जानकारी दिएको छ । शनिबार गल्छी–देवीघाट सडकखण्डको सातभन्दा बढी स्थानमा पहिरोको कारण सडक अवरुद्ध भएको थियो । उक्त सडक खुलाउन कार्यालयले निर्माण व्यवसायी कोभेक तुन्दी रसुवा जेभी कन्स्ट्रक्सनलाई खटाएको छ । शुक्रबार बेत्रावती–ढुङ्गे खण्डमा अवरुद्ध सडकमा समेत त्यही क्षेत्रमा निर्माण कार्य गरिरहेको निर्माण व्यवसायीलाई परिचालन गरेको थियो । नेपाल–चीनबीचको व्यापार, व्यवसाय अभिवृद्धि गर्ने एक मात्र सञ्चालनमा रहेको उत्तरी नाका रसुवागढीलाई नियमित सञ्चालन गराउन कार्यालयले प्राथमिकता दिएर काम गरिरहेको छ ।