भाङ्गे झरनामा भिड

  • त्रिशूली प्रवाह
  • १० श्रावण २०८१, बिहीबार १२:४१

बेत्रावती, उत्तरगया-२ डाँडागाउँ पुछारमा रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण भाङ्गे झरना आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

वडाध्यक्ष टुकु सुवेदीका अनुसार भाङ्गे झरना अत्यन्तै मनमोहक तथा प्राकृतिक सौन्दयले भरिपूर्णस्थल भएकाले वर्षात्को तीन महिना अवलोकन गर्नेको भिड हुने गरेको छ । बर्खामा मात्रै देखापर्ने सो झरनामा रमाउन देश–विदेशबाट बर्सेनि हजारौँ मानिसको घुइँचो लाग्छ । झरनाले गर्दा पनि सो क्षेत्रको महत्व दिन–प्रतिदिन बढ्दै गएको छ । हरेक वर्ष यहाँ आउने पर्यटकको सङ्ख्या बढिरहेको वडाध्यक्ष सुवेदीले बताए ।
झरनाको अवलोकन गर्न आउने युवक–युवतीले सामाजिक सञ्जालमा भिडियो र टिकटक बनाउन प्रतिस्पर्धा गर्ने गरेकाले पनि दिन–प्रतिदिन अवलोकनकर्ता थपिने गरेका छन् । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाको बेत्रावती–मैलुङबेँसी खण्डमा पर्ने सो स्थानमा बर्खामा सडक अवरोध हुने गरेको छ । सडक अवरोध भए पनि झरना अवलोकन गर्न आएका व्यक्ति र समूह एक किलोमिटर वरै सवारीसाधन राखेर पनि पुग्ने गरेको स्थानीयवासी शरण गुरुङले बताए ।