हातहतियार हस्तान्तरण

  • त्रिशूली प्रवाह
  • ६ चैत्र २०७८, आईतवार १२:२८

धुन्चे, लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले कार्यक्षेत्रको रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थान र समयमा गस्ती गर्दा फेला पारेको हातहतियार जिल्ला प्रहरी कार्यालय रसुवालाई हस्तान्तरण गरेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार निकुञ्ज क्षेत्रमा विभिन्न स्थान र समयमा फेला परेका हातहतियार भरुवा बन्दुक (ठूलो) ११ वटा, भरुवा बन्दुक (सानो) दुईवटा, भरुवा बन्दुकको नाल दुईवटा सरोकारवाला निकायको रोहवरमा गत बुधबार प्रहरीलाई बुझाइएको हो । प्रहरी नायव उपरीक्षक कुलदीप चन्दलाई जिल्ला सुरक्षा प्रमुख एवम् प्रमुख जिल्ला अधिकारी नवराज जैसीको रोहवरमा उक्त हतियार बुझाएको थियो । नेपालको सङ्घीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको हिमाली राष्ट्रिय निकुञ्ज लाङटाङ रहेको छ । यो निकुञ्ज रसुवाको ५७ प्रतिशत, नुवाकोटको सात प्रतिशत र सिन्धुपाल्चोकको ३६ प्रतिशत भू-भाग ओगटेको छ । निकुञ्ज एक हजार सात सय १० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । समुद्री सतहको एक हजार मिटरदेखि सात हजार दुई सय ४५ मिटरसम्म फैलिएको यो निकुञ्ज जैविक विविधताको भण्डारको रूपमा प्रख्यात रहेको छ । वन क्षेत्र, घाँसेमैदान क्षेत्र, झाडी, बुट्यान क्षेत्र तथा सिमसार क्षेत्र यस निकुञ्जका मुख्य भूउपयोग हुन् ।