चुनावी माहोल तातिँदै

  • त्रिशूली प्रवाह
  • १७ कार्तिक २०७९, बिहीबार १४:३४

भनिरहनुपर्दैन, अबको १७ दिन नेपालको राजनीतिको व्यस्त समय छ भनेर । सामाजिक र सांस्कृतिक चाडपर्व वर्ष-वर्षमा आउँछन्, जान्छन् । तर, आवधिक निर्वाचन भनेको पाँच वर्षमा एकपटक आउने हो । यही पाँच वर्षको पालो पर्खिएर बसेका राजनीतिज्ञले एकपटक मात्र पालो नपाउनासाथ अर्को पाँच वर्ष कुर्नुपर्ने हुन्छ । कृषकलाई असारे भल पानी छोपेर खेतबारीमा रोपाइँ गर्नु भनेजस्तै राजनीतिमा लागेका नेतालाई अबको १७ दिन भल-पानी छोप्ने कृषकलाई जस्तै चटारो रहेको छ ।

नेपालीले यस वर्षको दसैँ, तिहार, नेपाल संवत्, छठजस्ता चाडपर्व बिदाइ गरिसकेका छन् । यी ठूला पर्व बिदा भएसँगै पूर्ववत् रूपमा जिम्मेवारी तथा दायित्व निर्वाहमा सबै आ-आफ्नो क्षेत्रमा क्रियाशील हुन थालिसकेका छन् । नेपालीले ठूला चाडपर्व सकिएसँगै आमनिर्वाचनतर्फ ध्यान केन्द्रित गर्न थालेका छन् । निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न राजनीतिक दल र उम्मेदवार रातदिन तल्लीन रहेका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा मतदान गर्न अब १७ दिन मात्र बाँकी छ । यो १७ दिन नेपाली जनताका निम्ति अत्यन्त महत्वपूर्ण समय हो । राजनीतिक दल र उम्मेदवारले मतदाताको विश्वास जित्ने समय पनि यही १७ दिन हो । अबको १७ दिनपछि देशको राजनीतिक भविष्य कता जाने हो टुङ्गो लाग्नेछ । आमनिर्वाचनजस्तो देशव्यापी रूपमा हुने बृहत्तर कार्य गर्न कुनै एक निकाय, संस्था वा व्यक्तिको भूमिका मात्र पर्याप्त हुँदैन । राष्ट्रसेवक कर्मचारीदेखि आममतदाता, राजनीतिक दललगायतले आफ्ना जिम्मेवारी तथा दायित्व इमानदारीपूर्ण तरिकाले निर्वाह गर्नुपर्ने हुन्छ । यसैमा हाम्रो लोकतन्त्रको भविष्य पनि निर्भर छ । निर्वाचनलाई सकेसम्म कम खर्चमा सम्पादन गर्नु सबैको दायित्व हो । खर्चालु निर्वाचनले नेपालजस्तो कम विकसित मुलुकमा लोकतन्त्रको संस्थागत विकास गर्न कठिन हुनेछ ।

देशको सात प्रदेश र ७७ जिल्लामा एकैपटक प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदै छ । विगतमा चरण-चरणमा भएको थियो । सरकारले एकैपटक निर्वाचन सम्पन्न गर्ने तय गरेर समय र साधनको सदुपयोग गर्ने गरी पूरै संयन्त्र प्रयोग गरेको छ । निर्वाचनका लागि शान्तिपूर्ण, निष्पक्ष, धाँधलीरहित तरिकाले मतदान आवश्यक हुन्छ । यसमा सबैको सहयोग आवश्यक छ । एकै चरणमा निर्वाचन गरी मतगणना तथा परिणाम घोषणाको कार्य पक्कै पनि सहज होइन । यसका निम्ति निर्वाचनका लागि आवश्यक सबै किसिमका भौतिक पूर्वाधारका साथै शान्तिसुरक्षाको व्यवस्थापन अति महत्वपूर्ण पक्ष हुन् । निर्वाचन आयोग निर्वाचनका निम्ति आवश्यक सरसामग्री, मतपत्रको छपाइ र मतपेटिकाको व्यवस्था गरिरहेको छ । आमनिर्वाचनका भौतिक पक्षका अतिरिक्त मतदान कार्य शान्तिपूर्ण, धाँधलीरहित तथा निष्पक्ष रूपमा सम्पन्न गर्न सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहनेमा कुनै शङ्का छैन । यसका लागि अस्थायी (म्यादी) प्रहरीको भर्नालगायत उनीहरूको तालिम सम्पन्न भएर क्षेत्र-क्षेत्रमा खटाइसकिएको छ । सुरक्षा निकायद्वारा निर्वाचनका निम्ति सुरक्षा व्यवस्थाको तयारी अन्तिम चरणमा पु¥याइसकेका छन् । त्यसैगरी, निर्वाचनमा खटिने राष्ट्रसेवक निजामती कर्मचारीलाई निर्वाचन उद्देश्यका लागि आवश्यक प्रशिक्षणको व्यवस्थापन पनि हुँदै छ । आमनिर्वाचनका लागि यी तयारीको व्यवस्थापनले आसन्न निर्वाचन शान्तिपूर्ण, धाँधलीरहित तथा निष्पक्ष तवरले सम्पन्न गर्न सहयोग पुग्नेछ ।

निर्वाचनलाई धाँधलीरहित तथा निष्पक्ष तवरले सम्पन्न गर्न निर्वाचन आचारसंहिता पालनको पनि महत्वपूर्ण भूमिका रहन्छ । यस अवस्थामा निर्वाचन आयोगको निर्वाचन आचारसंहितालाई सरकार, राजनीतिक दल, उम्मेदवारका साथै सम्बद्ध, सबैबाट पालना गरिनु पनि अति महत्वपूर्ण विषय हो । आचारसंहिता पूर्ण रूपमा पालना नहुँदा निर्वाचनको निष्पक्षता तथा स्वच्छतामा प्रश्न उठ्न सक्ने अवस्थालाई निर्वाचनसम्बद्ध सबै पक्षले हेक्का राख्नु आवश्यक छ । समष्टिगत रूपमा आसन्न आमनिर्वाचन सम्पन्न गर्न सबै पक्षको इमानदार तयारी अति जरुरी छ । हालसम्मको तयारीको विश्लेषण गर्दा सन्तोषजनक रहेको छ । सानातिना कमजोरी भए पनि तिनको सुधार हुँदै जाने अपेक्षा गरौँ । अबको साँढे दुई साताको अवधिमा बाँकी तयारीलाई सम्बद्ध पक्षले उपयुक्त तवरले गर्ने अपेक्षा गरौँ । मूल रूपमा राजनीतिक दल र उम्मेदवार अब मतदातासमक्ष पुग्न सहज भएको छ । चाडपर्वको समय सकिएकाले पनि अब मतदातासमक्ष पुग्न सजिलो हुँदै गएको हो । राजनीतिक दलहरूले घोषणापत्र ल्याउने क्रमसमेत सुरु भएको छ । मौसम चिसो हुँदै गए पनि निर्वाचनको तातो बढ्दै गएको छ ।