बागमती प्रदेशमा सरकार टिकाउन मन्त्रालय फुटाउँदै

  • त्रिशूली प्रवाह
  • ४ जेष्ठ २०८१, शुक्रबार ११:४४

हेटौंडा, जनताको पक्षमा काम गर्न भन्दा पनि जसरी पनि सरकारमै टिकीरहने ध्याउनमा संघ र प्रदेश सरकार रहेका छन् । पछिल्लो समय वागमती प्रदेश सरकार टिकाउनकै लागि प्रदेशमा मन्त्रालयको संख्या बढाईएको छ । सत्ता साझेदार दलहरूबिच भागबण्डा मिलाउन मन्त्रालयको संख्या १२ बाट १३ पु¥याईएको हो । जेठ २ गते बुधबार साँझ बसेको बागगती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मौजुदा सामाजिक विकास मन्त्रालय टुक्र्याएर १३ वटा बनाइएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेशमा रहेको समाजिक विकास मन्त्रालयअन्तर्गत रहेको युवा तथा खेलकुद विभागलाई टुक्र्याएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको जानकारी दिए । यससँगै करिव ४५ दिनदेखि जिम्मेवारीबिहिन रहेकी विना विभागीयमन्त्री रमा आलेमगरले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएकी छिन् । गत १९ चैतमा मन्त्री नियुक्त भएकी मन्त्री मगरलाई जिम्मेवारी दिन माओवादीबाट मन्त्री रहेकी कुमारी मोक्तानले सम्हाल्दै आएको सामाजिक विकास मन्त्रालय टुक्र्याइएको हो । एकीकृत समाजवादीकी सांसद मगरलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रोपटक १९ चैतमा विश्वासको मत लिएकै दिन मन्त्रीमा नियुक्त गरेका थिए । त्यसबेला मन्त्री नपाए विश्वासको मत नदिने अडानबिच उनलाई विनाविभागीय मन्त्री नियुक्त गरिएको थियो । बागमतीमा मुख्मन्त्रीसहित माओवादीबाट चार, एमालेका पाँच, एकीकृत समाजवादीका तीन र हाम्रो नेपाली पार्टीका एक गरी १३ मन्त्री बनेका छन् ।