पेट्रोलमा सात र डिजेल तथा मट्टितेलमा प्रतिलिटर पाँच रूपैयाँ घट्यो

  • त्रिशूली प्रवाह
  • ४ जेष्ठ २०८१, शुक्रबार ११:४८

काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले २ गते बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर सात रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर पाँच रूपैयाँ घटाएको हो ।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर १ सय ६८ रूपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ७० र तेस्रो वर्गका लागि १ सय ७१ रूपैयाँ कायम भएको छ । डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः १ सय ५१ रूपैयाँ ५० पैसा, १ सय ५३ रूपैयाँ र १ सय ५४ रूपैयाँ पुगेको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रूपमा तोकेको छ । नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ । इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलिमय पदार्थको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । आइओसीले बुधबार पेट्रोलको मूल्यमा प्रतिलिटर ६ रूपैयाँ ७५ पैसा र डिजेलको मूल्यमा प्रतिलिटर ५ रूपैयाँ ९ पैसाले घटाएर नयाँ बिक्री मूल्य पठाएको निगमले जनाएको छ । नुवाकोटमा भने घटेको नयाँ मूल्यमा ढुवानी भाडा प्रतिलिटर एक रूपैयाँ थप हुने बताईएको छ ।